• १६ चैत २०८०, शुक्रबार

नेपालको कवाडी बजारमा भारतीय नागरिक

blog

विगत १० वर्षदेखि नेपालका विभिन्न भागमा पुराना कागज तथा धातुजन्य कवाडी समान सङ्कलन गर्नुहुँदै भारतको विहार बर्गिनिया घर भएका ब्रह्मदेव पासवान । तस्बिर : रासस

बेलबारी (मोरङ), असोज २६ गते । भारतको विहार बर्गिनिया घर भएका ब्रह्मदेव पासवान विगत १० वर्षदेखि नेपालका विभिन्न भागमा पुराना कागज तथा धातुजन्य कवाडी समान सङ्कलन गरिरहनुभएको छ । फोहोरबाट मोहोर कमाउन पासवान जस्तै थुप्रै भारतीय कवाडी सामान सङ्कलन गरिरहेका भेटिन्छन्

मोरङको सुन्दरहरैचा नगरपालिका क्षेत्रभित्र मात्रै दर्जनभन्दा धेरै कवाडी सङ्कलन केन्द्र रहेका छन् । सुनसरी इनरुवाका सञ्जय चौधरीको आरके कवाडी पसलमा छ  कवाडी सङ्कलक रहेका छन् । उक्त कवाडी पसलका व्यवस्थापक  भारत विहारकै समी जैसवाल हुनुहुन्छ ।


सङ्कलकहरूले गाउँसरहका विभिन्न भागबाट सङ्कलन गरी ल्याएको कागज प्रतिकिलो २० रुपियाँ, धातुजन्य सामान प्रतिकिलो ५५ रुपियाँ, गाडीका पुराना टायर दुई सयदेखि पाँच सय रुपियाँसम्म र सिसाको बोतलप्रति वटा डेढदेखि दुई रुपियाँसम्ममा खरिद बिक्री गर्छन् ।

यस्ता सामग्री उद्योगमा पुर्‍याएर प्रशोधन गरी पुनः प्रयोगमा ल्याइन्छ । गाउँगाउँमा गएर पुराना सामान सङ्कलन गर्ने व्यक्ति नेपालमा पाउनै मुस्किल भएको  जैसवाल बताउनुहुन्छ । राम्रो आम्दानी भए पनि यो पेसामा नेपालीको आकर्षण देखिँदैन । भारत विहार घर भएका राकेश जैसवालका अनुसार बिहानैदेखि राम्ररी साइकलमा गाउँ घुम्दा रु दुई हजार पाँच सयसम्म आम्दानी हुन्छ । यही पेसाले आफ्नो परिवार चलेको जैसवाल बताउनुहुन्छ ।