• ६ वैशाख २०८१, बिहिबार

अर्को हप्तासम्म मौसमी वर्षात् कायमै रहने

blog

काठमाडौं, असोज २६ गते । जल तथा मौसम विज्ञान विभागले आगामी (अर्को) हप्तासम्म मौसमी वर्षात् रहिरहने पूर्वानुमान गरेको छ । विभागका वरिष्ठ मौसमविद् सुमनकुमार रेग्मीले सो जानकारी गराउनु भएको हो ।

मौसमविद् रेग्मीले त्यसका लागि विभागले मौसमी सिष्टमको निरन्तर अनुगमन गरिरहेको उल्लेख गर्नुहुँदै उचित समयमा त्यसको बाहिरिने अवस्थाबारे सार्वजनिक गर्ने बताउनुभयो ।

वरिष्ठ मौसमविद् रेग्मीले भन्नुभयो, ‘‘अहिले तत्कालै आज भोलीनै मौसम बाहिरिने सम्भावना छैन । तथापि सम्भवतः अर्को हप्ता मौसम बाहिरिन सक्छ । अब हामी कहिले मौसम बाहिरिन्छ भन्ने सन्दर्भमा चाहिँ मौसमी सिष्टमलाई निरन्तर अनुगमन गरिराखेका छौँ । बाहिरिने अवस्था भएपछि हामी सार्वजनिक गर्छौँ उचित समयमा ।’’

मौसमी वर्षात् सकिएपनि ठूलै धनमालको जोखिम हुने अवस्था सकियो भन्ने नमिल्ने पनि वरिष्ठ मौसमविद् रेग्मीले स्पष्ट पार्नुभयो । वर्षात् सकिएपनि त्यसको जोखिम भने कायमै रहन सक्ने उहाँको  भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘‘धनमालमै क्षति हुने अथवा कुनै त्यस्तो जोखिम निम्त्याउने भनेको मनसुनी वर्षाले मात्रै हुँदैन । मनसुन पछाडिका अरू समयमा पनि त्यस्ता खालको मौसमी गतिविधिहरू हुन सक्छ । त्यसकारणले मौसम सकिएपनि त्यस्ता जोखिम निम्तन नसक्ने भन्ने चाहिँ होइन ।’’

विभागले आगामी हिउँदको मौसमी अवस्था कस्तो हुन्छ ? भन्ने बारे हिउँदा याम सुरु हुनु अघि नै जानकारी दिने पनि बताएको छ । वरिष्ठ मौसमविद् रेग्मीले डिसेम्बर, जनवरी र फेब्रुअरी महिना हिउँद याम हुने भन्दै त्यसको जानकारी समय आउनु अगावै दिने बताउनु भयो ।

आगामी हिउँदको मौसमी अवस्था कस्तो हुन्छ भनेर अहिले नै पूर्वानुमान गर्न नमिल्ने उहाँको भनाइ छ । विभागले मौसमी अवस्था बारे २४ घण्टा नै सेवा दिइरहने गर्दछ ।