• ६ वैशाख २०८१, बिहिबार

गुल्मीमा चार जनाको उम्मेदवारी फिर्ता

blog

निर्वाचन अधिकृतको कार्यालय गुल्मी । तस्बिर : तिलाचन पाण्डे

रमेश विश्वकर्मा
गुल्मी, असोज २६ गते । 
गुल्मीमा चार जनाले उम्मेदवारी फिर्ता लिनुभएको छ । आगामी मङ्सिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यस जिल्लामा छ सांसदका लागि ६६ जनाले उम्मेदवारी दिएका मध्ये चार जनाले उम्मेदवारी फिर्ता लिनुभएको हो ।

उम्मेदवारी फिर्ता लिने चार जनाले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराउनुभएको थियो । जिल्ला निर्वाचन कार्यालयका अनुसार सत्यवती गाउँपालिका–७ ठाटीका कमल भुसालले गुल्मी निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराउनुभएको थियो । चन्द्रकोट गाउँपालिका–३, ठकुरी टोलका किरण शाहले प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ (क) मा प्रदेशसभा सदस्यका लागि स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराउनुभएको थियो ।

त्यस्तै, छत्रकोट गाउँपालिका–४ टाकुराका रामचन्द्र कँडेलले प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ (ख) मा प्रदेशसभा सदस्यका लागि स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराउनु भएको थियो । मालिका गाउँपालिका–६, अर्जैका नरेन्द्र बहादुर अर्यालले पनि प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ (ख) मा प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएको थियो ।

उहाँहरू सबैले सत्तारुढ गठबन्धन दलका आधिकारिक उम्मेदवारहरूलाई समर्थन र सहयोग गर्ने भनी फिर्ता लिएको बताउनुभएको छ । समर्थन मात्रै होइन, आफूहरू उम्मेदवारलाई जिताउन समेत लाग्ने र प्रचार–प्रसारमा आफूहरू निरन्तर खट्ने उहाँहरूको भनाइ छ ।