• १५ चैत २०८०, बिहिबार

ताप्लेजुङमा तुम्याहाङ र गुरुङको उम्मेदवारी फिर्ता

blog

उम्मेदवारी फिर्ता लिनुभएको गजेन्द्रप्रसाद तुम्याहाङ र टीकाराम गुरुङ। फाइल तस्बिर

चन्द्र पन्दाक

ताप्लेजुङ, असोज २४ गते । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिनुभएका दुई जनाको फिर्ता भएको छ। प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिनुभएका नेपाली कांग्रेसका जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङ र महाधिवेशन प्रतिनिधि टीकाराम गुरुङको उम्मेदवारी फिर्ता भएको हो। 

तुम्याहाङले पार्टीकै टिकटबाट र गुरुङले स्वतन्त्र रूपमा दुवै जनाले ताप्लेजुङ निर्वाचन क्षेत्र १ (क) मा उम्मेदवारी दिनुभएको थियो। सत्तारुढ गठबन्धन दलका तर्फबाट उम्मेदवार बन्नुभएका नेकपा (एकीकृत समाजवादी) का खेमबहादुर वनेमलाई समर्थन जनाउँदै गुरुङ आफैँले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको हो। सत्ता गठबन्धनको सिट बाँडफाँटअनुसार यस क्षेत्र नेकपा (एकीकृत समाजवादी) को भागमा परेको छ।

कांग्रेस जिल्ला सभापति तुम्याहाङको भने सो पार्टीको केन्द्रबाट आएको पत्रानुसार उम्मेदवारी फिर्ता भएको मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश निर्मला योङ्याले जानकारी दिनुभयो। मुख्य निर्वाचन अधिकृत योङ्याका अनुसार तुम्याहाङ र गुरुङको उम्मेदवारी फिर्ता भएसँगै जिल्लामा अब २६ जनाको उम्मेदवारी कायम रहेको छ। 

एक प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा सदस्यको निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभातर्फ ११ जना र प्रदेशसभाको दुवै क्षेत्रमा गरी १५ जनाको उम्मेदवारी कायम भएको छ। 

दुई जनाको उम्मेदवारी फिर्ता भएपछि अब प्रदेश क्षेत्र (क) आठ र (ख) मा सात जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने छ। 

यता एकमात्र प्रतिनिधिसभामा सत्ता गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य खेलप्रसाद बुढाक्षेत्री र नेकपा एमालेका सचिव एवम् पूर्वमन्त्री योगेशकुमार भट्टराईबीच कडा प्रतिस्पर्धा हुने आङ्कलन गरिएको छ। सोहीअनुसार ठूला दल गठबन्धनअन्तर्गत काँग्रेस र माओवादी केन्द्र तथा एमालेले निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिन थालेका छन्।