• १६ चैत २०८०, शुक्रबार

बाढी र डुबानले दाङमा २५ सय घरमा क्षति

blog

दाङको लमही नगरपालिका वडा नम्बर ८ को धनपुरुवामा डुवानमा परेका घर। तस्बिरः दिवाकर पोख्रेल

दिवाकर पोख्रेल

देउखुरी, असोज २६ गते । दाङमा बाढी र डुबानका कारण २५ सय घरमा क्षति भएको छ। जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार जिल्लाभर दुई हजार ३१२ घरमा आंशिक र १९९ घरमा पूर्ण रूपमा क्षति भएको हो। 

दाङको देउखुरी उपत्यकामा बाढी र डुबानले बढी क्षति भएको छ। डुबानका कारण पाँच सय बढी गोठमा क्षति पुग्दा ६ सय बढी पशु चौपाया मरेका छन्। 

दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्री पुनका अनुसार जिल्लाभर बाढी र डुबानले मानवीयसँगै विभिन्न ठाउँमा भौतिक क्षति भएको छ। 

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दाङमा छ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। डुबानले नौ वटा कलकारखानामा क्षति भएको छ। 

जिल्ला विपद् व्यवस्थापन समितिबाट राहत र उद्धारको कामलाई पनि तीव्रता दिइएको छ। हालसम्म जिल्लाभर ७३४ जना डुबानमा परेकालाई उद्धार गरिएको छ। जसमा २४१ जना महिला, ३५४ पुरुष र १४० जना बालबालिकाको उद्धार गरिएको छ। 

दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बुधबारबाट उद्धार र राहतमा सहज भएको बताउनुभयो। स्थानीय सरकारसँगको समन्वयमा एकद्वार प्रणालीमार्फत राहत उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय निर्देशन गरेको छ।