• ११ वैशाख २०८१, मङ्गलबार

लक्ष्मण थारुको उम्मेदवारी रद्द

blog

अविनाश चौधरी

धनगढी, असोज २६ गते । कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनु भएका नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारु (चौधरी) को उम्मेदवारी रद्द भएको छ । 

प्रशासनको नजरमा फरार सूचीमा रहेका थारुले वारेसमार्फत आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको थियो । प्रतिनिधि सभा सदस्यका लागि सोही क्षेत्रबाट उम्मेदवारी दिनुभएका रामबहादुर सिंहले थारुको उम्मेदवारी खारेज गरीपाउँ भनेर उजुरी दिनुभएको थियो । सो उजुरीको आधारमा थारुको उम्मेदवारी खारेज भएको मुख्य निर्वाचन अधिकृत कार्यालय धनगढीले जनाएको छ ।  

टीकापुर घटनामा संलग्नताको आरोपमा पुर्पक्षमै साढे तीन वर्ष कैद सजाय भोग्नु भएका उहाँ २०७५ मा रिहा हुनुभएको थियो । उच्च अदालत दिपायलले कैलाली जिल्ला अदालतको फैसला उल्टाउँदै उहाँलाई पुनः दोषी नै ठहर गरेको छ । थारु फरार सूचीमा रहनुभएको छ ।  

सङ्घीय कानून बमोजिम लक्ष्मण थारु प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुन योग्य नदेखिएकाले उहाँको मनोनयनपत्र प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा ३१ (६) बमोजिम खारेज हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरेको सूचनामा उल्लेख छ ।