अर्थतन्त्र ‘भाइबे्रन्ट’ दिशामा अग्रसर

Junar_babuजुनारबाबु बस्नेत

 

 

मधेशका एकजना मित्र केही वर्ष भयो, काठमाडौँमा काम गरिरहेका छन् ।  पत्रकारिता कर्ममा उनले मधेशलाई गहिरो हेरेका छन् ।  समस्या र चुनौतीसित भलिभाँती परिचित थिए र छन् ।  मधेशका अनन्त सम्भावना उहाँलाई राम्रो थाहा थियो र छ ।  तर, यता केही समयदेखि उहाँ निराश हुनुहुन्छ ।  कर्मथलो काठमाडौँ भए पनि उहाँलाई रस यहाँ थिएन ।  मन मधेशकै माटोमा थियो, हुनु स्वाभाविक हो ।  जन्मेको माटोको सुवास बिर्सन खोज्दै एकाएक भन्नुभयो, ‘म अब उतातिरको जग्गा–जमिन बेचेरे यतै आउँछु ।  त्यसपछि मलाई फर्केर पनि जान मन छैन ।  मधेस दशकौँ पछाडि परिसक्यो ।  शिक्षा, स्वास्थ्य, सामाजिक विकास भताभुङ्ग छ ।  नयाँ पुस्ताको भविष्य चौपट भइसक्यो तर सरोकारीलाई केही वास्ता छैन । ’ आशा गरौँ, यो उहाँको सोच क्षणिक होस् ।  देशकै अर्थतन्त्रले फड्को मार्ने बेलामा मधेशमात्र कसरी पछाडि पर्ला र ?
प्रदेश २ को स्थानीय तहको दोस्रो चरणको निर्वाचन पर (असोज) पछि देश र मधेशमा अनेक विचार मन्थन भइरहेका छन् ।  वरपर धेरै कुरा उठिरहेका छन् ।  उकालोमा रहेको अर्थतन्त्रमा मधेश ‘फ्याक्टर’ ले अवरोध गर्ने खतराहरू पनि आइरहेका छन् ।  पुँजी बजारमा असर परिरहेकोजस्तो देखिएको छ ।  तर, आन्दोलनका विगुल फुक्ने राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) पार्टीका नेताहरू एकपछि अर्को गरी दल र आन्दोलन छोड्दै छन् ।  चुनावतिर डोरिँदै छन् ।  कोषाध्यक्ष अनिता यादव, केन्द्रीय सदस्य राजेश्वर महासेठले शनिवारमात्र राजीनामा दिनुभयो, गन्तव्य ठम्याइसक्नुभयो ।  त्यसलाई कतिपयले सुरुवातमात्र भनेका छन् ।  सलिमहरूले त अस्ति नै बाटो तताउनुभएको हो ।  विजय गच्छदार र उपेन्द्र यादवहरूको प्रियता भुसको आगोजस्तो छ ।
सायद अब जनचाहनालाई कुनै नेता वा दल अनि वर र परले छेक्दैन ।  सबैलाई सधैँ मूर्ख बनाउन सम्भव हुँदैन ।  आन्दोलन र अध्ययन गर्नेहरूले दार्जिलिङलाई पनि गहन रूपमा हेर्नुपर्छ ।  अनेक बाधाका बीच पनि नेपालले अब समृद्धिको बाटो कोर्दै छ, देशले दशा फेर्दै छ ।  दशामात्र होइन, दिशा फेर्न लागेको कुरालाई अर्थतन्त्रका सूचकहरू स्पष्ट गर्दै छ ।  स्थानीय तहको निर्वाचनले मुलुकमा नयाँ शक्ति सञ्चार गरेको छ ।  पहिलो चरणको निर्वाचन भएका प्रदेशहरूमा निर्वाचित जनप्रतिनिधिहरू सोच, शैली र चिन्तनमा नयाँपन छ ।  नागरिकमा उत्साह छ ।  आफ्नो गाउँठाउँ अब हामीले राम्रो बनाउनुपर्छ भन्ने भावना उर्लेर आएको छ ।  विदेशमा बसेका लाखौँ नेपाली मौका कुरेर बसेका छन्, यता फिर्न ।
अबका दिनको विश्लेषण गर्दा हामीले विगत हेर्नुपर्छ ।  धेरै पुराना कुरा गर्दा एक सय वर्ष चानचुन अगाडि नेपाल सम्पन्न थियो ।  छिमेकी भारत र उत्तरको भोटभन्दा सम्पन्न थियो ।  नब्बे प्रतिशत नेपालले निर्यात गथ्र्यो ।  आयात केवल १० प्रतिशतमात्र थियो ।  पहिलो विश्वयुद्धमा एकैपटक दुई लाख नेपाली युवा बेलायती भर्तीमा गएपछि नेपालको आन्तरिक उत्पादनका अवस्था खस्कन लागेकै हो र त्यसले आजपर्यन्त निरन्तरता पाएको छ ।  चालु आर्थिक वर्षको पहिलो १० महिनामा ६१ अर्ब २ करोड निर्यात हुँदा त्यही अवधिमा आयात भने ८ खर्ब ८ अर्ब रुपियाँ पुगेकोे छ ।  यो निर्यात पनि गत आर्थिक वर्षको भन्दा त ९.८ प्रतिशतले बढेकै हो ।  गत आर्थिक वर्षको सोही अवधिमा त निर्यात पनि ६१.०२ प्रतिशतले ऋणात्मक भएको थियो ।  आन्तरिक उत्पादनविनाको विकास सुन्निएर मोटाउनुजस्तै मात्र हो ।
धेरै पुरानो कुरा नगर्दा सीमानाका बन्द पनि हामीले बेहोरेकै हो ।  अनि कोरा र काँचो राष्ट्रवादका गीत–सङ्गीत सुनेकै हो ।  कुलमान कर्मले केही महिनामा देशले मुुहार फेर्न सक्ने आधार बन्ने उदाहरण हाम्रैसामु छ ।  कन्याएर लुतोको औषधि खोज्नुजस्तो मात्र हुन्छ काँचो राष्ट्रवाद ।  कन्याउँदासम्म त मजा आउँछ तर घाउ झनै गहिरो हुन्छ ।  शून्य दशमवल ७७ मा मुलुकका आर्थिक वृद्धिदर खुम्चिएकै हो अघिल्लो वर्ष ।  तर, यो एक वर्षमा अर्थतन्त्रको सम्भावना स्पष्ट हुँदै आएको छ ।  केन्द्रीय तथ्याङ्क विभागका अनुसार चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ६.९ प्रतिशत हुने अनुमान गरेको छ ।  यो अनुमानलाई अन्तर्राष्ट्रिय मुद्रा कोषले सुरु ५.५ प्रतिशतमात्र हुने भने पनि पछि पत्याएको छ ।  कतिपय तथ्याङ्कले ७ प्रतिशतभन्दा बढीको वृद्धि हुने लक्ष्य भनेका छन् ।  नयाँ बजेटले पनि सजिलै लक्ष्य पूरा गर्नेछ ।
अन्तर्राष्ट्रिय मुद्रा कोष २०१७
नेपालको आर्थिक वृद्धिदर अब छिमेकी मुलुकका तुलनामा छि भन्नेखालको छैन ।  चालु आर्थिक वर्षका लागि बजेटले नै ६.५ प्रतिशतको आर्थिक वृद्धि अनुमान गरेकोे थियो ।  बजेटले लक्ष्य लिएकोभन्दा बढी आर्थिक वृद्धि हुने लक्ष्य देखिएको छ ।  छिमेकी भारत र चीन उदाउँदा अर्थतन्त्र भएको मुलुकहरू हुन् ।  भारत र चीनमा गत वर्ष २०१६ मा ६.८ र ६.७ प्रतिशतको आर्थिक वृद्धि हुँदा नेपालको आर्थिक वृद्धि १ प्रतिशतभन्दा न्यून थियो ।  शून्य दशमलव ७ प्रतिशतको आर्थिक वृद्धि थियो ।  प्रधानमन्त्री केपी ओली सिंहदरबारबाट ओर्लंदा गत वर्ष त्यही नाजुक आर्थिक वृद्धि लिएर ओर्लनुभए पनि वर्ष नपुग्दै मुलुकले मुहार फेरेको छ ।  कुरा यश कसलाई दिनेभन्ने मात्र होइन अब ।
कृषि क्षेत्रमा केही मौसम अनुकूलमात्र यो आर्थिक वृद्धि उँभो लाग्नुका कारण पनि होइन ।  विद्युत् कटौती अर्थात् लोडसेडिङ धेरै लामो समयसम्म कायम रहन्छ भन्ने भयबाट नेपाल अर्थतन्त्र लामो समयदेखि ग्रस्त थियो ।  भूकम्प गएको १४ महिनासम्म पनि माथिल्लो तामाकोसी जलविद्युत् आयोजानामा केही मिटर भत्किएको सडक बन्न सकेन ।  अरू आयोजनाहरू पनि मर्मत र पाइपलाइनमा भएका आयोजनामा भटाभट काम हुनु साटो भद्रो हेर्ने प्रवृत्ति बलियो भयो ।  लोडसेडिङ बढ्यो ।  कुलमानजस्ता कर्मठलाई चिलिमेबाट बाहिर ल्याएर कामविहीन बनाइएको थियो ।  विगत बिर्सिएर गन्तव्य पुगिन्न ।
नीति र नियत सफा हुँदा काम कसरी हुन्छ भन्ने कुरा नेपाल विद्युत् प्राधिकरणमा कुलमान आएको केही समयमै नयाँ परिवर्तन ‘टर्निङ प्वाइन्ट’ हो ।  लगभग दुई दशकपछि लक्ष्मीपूजाका दिन देशले विद्युत् कटौती भोग्नु परेन र त्यसै दिनबाट मुलुक लोडसेडिङमुक्त हुने प्रतिबद्धतामा गयो ।  हिउँदमा पहिले काठमाडौँ उपत्यका अनि बिस्तारै बाहिर उज्यालो भएपछि त्यसले अर्थतन्त्रमा नयाँ तरङ्ग ल्यायो ।  आर्थिक वृद्धिमात्र बढेको छैन, त्यसले उत्पादनमा बढोत्तरी ल्याएको छ ।  उत्पादनमा ल्याएको बढोत्तरीले मूल्यमा स्थिरता ल्याएको छ ।  नेपाल राष्ट्र बैङ्कका अनुसार चालु आर्थिक वर्षको पहिलो १० महिनामा महँगी दर ३.४ प्रतिशतमात्रै हो ।  कर्मचारीको तलब २५ प्रतिशत बढ्दा पनि यति न्यून मूल्यवृद्धि सायदै हुन्छ ।  छिमेकी भारतमा पनि महँगी दर अहिले पनि ५ प्रतिशतभन्दा उच्च छ ।  अघिल्लो आर्थिक वर्षको १० महिनामा मुलुकमा दोहोरो अङ्कको मूल्यवृद्धि थियो ।  त्यसबेला १० प्रतिशतकै मूल्यवृद्धि थियो ।  यो अवधिमा उत्पादन र आपूर्तिमा सुधार आएको स्पष्ट देखिन्छ ।
नेपालमा लगानीको वातावरण विस्तारै बनिरहेको छ ।  केही महिना अगाडि गरिएको लगानी सम्मेलनले मुलुकमा चानचुन १४ खर्ब रुपियाँको लगानीका लागि प्रतिबद्धता आएको छ ।  यो एक वर्षमा बन्द र हडतालको संस्कृतिमा निरन्तर सुधार आएको छ ।  वीरगन्ज ताजा उदाहरण छ ।  सामाजिक संवादले ठाउँ पाइरहेको छ ।  सबैभन्दा मूल कुरा लगानीमा आएको सुधारको अवस्था त बैङ्कको ब्याजदरबाट स्पष्ट हुन्छ ।  मुलुकका बैङ्क तथा वित्तीय संस्थाले १२ प्रतिशत हाराहारीमा त निक्षेपको मुद्धति ब्याजदर बनाइरहेका छन् ।  लगानीको वातावरण बन्दै जाँदा कर्जाको माग बढ्छ ।  कर्जाको माग निरन्तर बढ्दो अवस्थामा छ ।  क्रमशः बचतमा सुधार आइरहेको छ ।  ठूला परियोजनाहरू अगाडि बढेका छन् ।  बूढीगण्डकी होस् वा द्रुतमार्ग बन्ने विश्वास होइन, काम नै आरम्भ भएको छ ।  अर्थततन्त्र ‘भाइबे्रन्ट’ हुँदै छ ।  सादय वर वा पर जसले जे भने पनि अब देश निर्वाचित प्रतिनिधिद्वारा नागरिक शासनको दिशामा जाँदै छ ।  निर्वाचनले शासनमात्र होइन, बिस्तारै सुशासन दिन्छ ।  आर्थिक विकासमा नागरिक सहभागिता लोकतन्त्रका अभिन्न आयाम हो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना