सहज राजनीतिक परिस्थितिको अपेक्षा

Shanti krishna adhikariशान्तिकृष्ण अधिकारी



भाग्य र कर्म दुवैको उपयुक्त संयोजनद्वारा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा चौथोपटक नेपालको प्रधानमन्त्री बन्न सफल हुनुभएको छ ।  देउवा जत्तिकै वा उहाँकोभन्दा बढी पार्टीमा योगदान गरेका अरू थुप्रै नेता नेपाली काँग्रेसमा क्रियाशील छन् तर तिनले एकपटक पनि मुलुकको सर्वोच्च कार्यकारी पदमा पुग्ने मौका पाएका छैनन् ।  भाग्य, विधाता, पार्टी र जनतामा देउवाभन्दा अधिक आस्थावान् नेता जीवितै छन् तर मौका बारम्बार देउवाले नै पाउनुभएको छ ।  अन्य नेताका विविध कमजोरीका कारणले मात्र नभई यसो हुनुमा देउवाको प्रजातान्त्रिक आन्दोलनप्रतिको निरन्तर निष्ठालाई त श्रेय दिनु नै पर्छ तर पर्दा पछाडिका उहाँका अन्य कर्म र भाग्यलाई समेत ओझेलमा पारिनुहुँदैन ।  जे–जे कारणले भए पनि देउवा प्रधानमन्त्री हुनुभएको छ र अबको समय भनेको जनताका लागि आउँदो कार्यकाल देउवाले कसरी बिताउनुहुन्छ त्यो भनी हेर्ने समय हो ।  प्रशंसा गर्न लायक थुप्रै काम पनि भएका थिए देउवाका पहिलेका कार्यकालमा, यो कार्यकाल ती कामलाई पालिस लगाएर चम्काउने मौका पनि हो ।
देउवा सधैँ अप्ठेरा अवस्थामा प्रधानमन्त्री बन्न पुग्नुुभएको छ ।  कठिन अवस्थामा कमजोर निर्णय लिने गर्नाले विवादमा तानिने देउवाका राम्रा कामको प्रचारप्रसारमा भने कमी देखिन्छ ।  फलस्वरूप देउवा प्रधानमन्त्री हुँदा विभिन्न क्षेत्रबाट सकारात्मकभन्दा नकारात्मक टिप्पणी गर्नुभन्दा पहिले नै आउँछन्, जुन अस्वाभाविक हुन्छ ।  यसपटक पनि अत्यन्त कठिन मोडमा मुलुक आइपुग्दा देउवाले शासनको बागडोर हातमा लिनुभएको छ, जसले कार्यकालको अन्त्यमा या त प्रशंसा नै प्रशंसाको भारी बोक्ने छन् या अपमानको पोखरीमा डुब्नुपर्ने छ ।  सङ्कटपूर्ण अवस्थामा मुलुकलाई पार लगाउने पार्टीका रूपमा नेपाली काँग्रेस चिनिँदै आएको छ र अत्यन्त कमजोर अवस्थामा मुलुकको बागडोर हातमा लिएर पार लगाउने काँग्रेसी नेता नै हुन् भन्ने विगतले देखाउँदै आएको छ ।  चार–चार जना वाम प्रधानमन्त्री हुँदा मुलुकले संविधान पाउन सकेन ।  संविधान जारी हुनका लागि सुशील कोइरालाकै कार्यकाल आउन प¥यो ।  भारतले संविधान जारी नगर्न दबाब दिएको सबैका सामु छर्लङ्गै छ तर कोइरालाले कुनै पनि दबाबको वास्ता गर्नुभएन नेपाली जनता र देशका लागि ।  अहिले मुलुक मधेशवाद र एमालेको अतिवादको भुमरीमा छ ।  दुवै अतिवादको सफल शीघ्र अवतरण अत्यन्त जरुरी छ जुन साधारण पार्टी, व्यक्ति वा प्रयासबाट सम्भव छैन ।  त्यसैले पनि अहिलेको अवस्थामा देउवाले शासन हातमा लिनुपर्ने थियो मुलुकलाई दिशानिर्देश गर्नका लागि, जति असहज भए पनि सहज मान्नैपर्ने देखिन्छ ।
प्रचण्डले दुई दशकको अन्तरालमा स्थानीय तहको प्रथम चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न गराएर आफ्नो विगतलाई बिर्साउने काम गर्नुभयो ।  भलै यसमा नेपाली काँग्रेसको सत्ता साझेदारीले अहम् भूमिका खेलेको छ तर पनि नाम नेतृत्वकै आउँछ ।  निर्वाचनका लागि सहज क्षेत्रमा निर्वाचन भए, तब भद्र सहमतिको पालना गर्दै प्रधानमन्त्रीबाट राजीनामा दिनुभयो ।  स्थानीय निर्वाचनपछि भनेका सबै तह सम्पन्न भएपछि प्रचण्डले राजीनामा दिने हो भनी माओवादी केन्द्रकै केही नेताले व्याख्या गर्दागर्दै प्रचण्डले राजीनामा दिने योभन्दा उपयुक्त अवसर अरू कुनै देख्नुभएन ।  मधेशमा चुनाव गराउन नसक्ने हो भने पाएका वाहवाही क्षणभरमै सखाप हुने बुझेका प्रचण्डले मधेशी नेताको भारी देउवालाई बोकाएर बिदा हुनुभयो ।  मधेशका नाममा उठेका आवाज समग्र मधेशको नभई केही मधेशी नेताहरूको मात्र हो, तथापि समाधान गर्न अति आवश्यक छ अन्यथा सहज चुनाव सम्भव छैन ।  यो मात्र नभई प्रदेश र सङ्घको चुनाव पनि देउवाले नै आगामी माघ ७ गते भित्र सम्पन्न गराउनुपर्ने छ ।  यसका निमित्त मधेशी दललाई मात्र नभई खोँचे थापिरहेको प्रतिपक्षी दल एमालेलाई समेत सहमतिमा ल्याउनुपर्ने देखिन्छ ।  सबैलाई मिलाएर यति काम गर्न सके नेपाली काँग्रेस र स्वयम् देउवाको छवि उजेलिने अन्यथा दुवैको भविष्य कठिन मार्गतर्फ अग्रसर हुनेमा कुनै शङ्का छैन ।
विगतमा देउवा आफैँले कमाएको छवि विश्लेषण गर्ने हो भने वर्तमान सङ्कटमा मुलुकलाई निकास दिनका लागि देउवा सक्षम हुनेमा विश्वस्त हुन सक्ने र नसक्ने दुवै आधार पर्याप्त छन् ।  देउवा धेरै सोचेर र त्यसको परिणाम के आउँछ भनी घोत्लिएर निर्णय गर्नुहुँदैन ।  उपयुक्त लागेमा तत्काल निर्णय लिने उहाँको बानी मधेशी नेतालाई सहमतिमा ल्याउन सहायक सिद्ध हुन सक्छ ।  जसले जे आरोप लगाए पनि क्रान्तिकारी भूमिसुधार योजना देउवाले नै ल्याउनुभएको थियो भलै विविध कारणले सफल हुन सकेन ।  यो सफल भएको भए नेपालबाट जमिनदारी प्रथा पूर्ण रूपमा हटेको अवस्थामा हुने थियो ।  कमैया मुक्तिको घोषणा र दलित तथा महिला आयोगको गठन उहाँकै पालामा भएको थियो ।  विद्यालय जाने दलित बालबालिकालाई खाजा भत्ताको व्यवस्था गर्ने देउवा नै हुन् ।  देश र जनताका लागि राजनीतिक आन्दोलनमा सक्रिय हुँदा होस् वा सत्तामा रहँदा, देउवाले धेरै काम गर्नुभएको छ, जुन प्रचारमा आउन सकेका छैनन् ।
गुणभन्दा दोष बढी केलाइने नेपाली समाजमा देउवाका पनि राम्रा काम ओझेलमा छन् भने उहाँका कार्यकालमा घटेका नराम्रा घटना विशेष चर्चामा छन् ।  प्रतिपक्षी दलले विरोध गरेन र त्यतिबेलाका प्रायशः अन्य दलका नेताले त्यही सुविधा लिए तर तिनको नाम त्यसमा मुछिएन ।  नायक भएका कारणले देउवा एक्लै त्यसका भागिदार बन्नुप¥यो ।  माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर गिरिजाप्रसाद कोइरालाले विगतका सबै गल्तीलाई बिर्साउँदै महान् बनेका उदाहरण हाम्रै सामु छर्लङ्ग छ ।  मधेशीलाई चुनावमा र एमालेलाई संविधान संशोधनमा ल्याउन सक्नुभयो भने देउवा सफल हुनुहुनेछ ।  


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना