घरेलु कामदारको अभाव

सीता शर्मा

काठमाडौँ, असार ५ गते ।  उपत्यकामा घरेलु श्रमिक अभाव भएको एक अध्ययन प्रतिवेदन पाइएको छ ।  स्वतन्त्र अभियान तथा घरेलु श्रमिक मञ्चले संयुक्त रूपमा उपत्यकाका विभिन्न ठाउँमा गरेको अध्ययनमा यस्तो पाइएको हो ।
सो अध्ययन प्रतिवेदनअनुसार काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, सूर्यविनायक र भक्तपुर नगरपालिका क्षेत्रका दुईजना रोजगारदातासँग घरेलु श्रमिकको आवश्यकता भए वा नभएको अध्ययन गरेको थियो ।  सो अध्ययनमा सहभागीमध्ये एक तिहाईभन्दा बढीले घरेलु कामदार खोजेर पनि नपाएको गुनासो गरेको, ६३ प्रतिशतले आफ्नो घरमा घरेलु श्रमिक राखेको पाइएको हो ।  
प्रतिवेदनअनुसार रोजगारदातामध्ये १२ प्रतिशतले मात्रै अनुभवी र तालिम प्राप्तलाई घरेलु श्रमिकका रूपमा लिने गरेको पाइयो भने ८१ प्रतिशतले सामान्य घरको काम गर्न जानेको व्यक्तिलाई लिने गरेका छन् ।  घरेलु श्रमिक राख्ने रोजगारदातामध्ये ९९ प्रतिशतले महिला र एक प्रतिशतले मात्रै बालक वा बालिका राखेको पनि अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यस्तै, घरेलु श्रमिक राख्ने रोजगारदातामध्ये १६ प्रतिशतले मासिक १० हजार रुपियाँभन्दा बढी तलब दिने गरेको पाइएको छ भने ३६ प्रतिशतले मासिक पाँच हजार रुपियाँसम्म र ३७ प्रतिशतले सात हजार रुपियाँ दिने गरेको पाइएको छ ।  अधिकांशले आंशिक समय काम गराउने भएकाले मासिक दुईदेखि पाँच हजार रुपियाँसम्म तलब दिने गरेको सोही अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।  
प्रतिवेदनमा बसोबासका आधारमा घरेलु श्रमिक राख्ने रोजगारदातामध्ये ६८ प्रतिशत आफ्नै घर भएका र ३२ प्रतिशत भाडामा बस्ने रहेको पाइएको छ भने घरेलु श्रमिक राख्नेमा ७० प्रतिशत एकल परिवार र ३० प्रतिशत संयुक्त परिवार रहेको पनि उल्लेख गरिएको छ ।  
अध्ययनका क्रममा समेटिएका रोजगारदातामध्ये ८९ प्रतिशतले १८ देखि ४० वर्षसम्मका व्यक्तिलाई रोजगारका रूपमा लिएको पाइएको छ ।  बाँकीले १४ देखि १८ वर्षसम्मका र ४० देखिमाथि उमेरका व्यक्तिलाई श्रमिकका रूपमा राखेको पाइएको जनाइएको छ ।  
अध्ययनमा रोजगारदातामध्ये ६७ प्रतिशतले विवाहितलाई घरेलु श्रमिकका रूपमा राख्न चाहेका थिए भने १८ प्रतिशतले अविवाहितलाई राख्न चाहेको उल्लेख गरिएको छ ।  
अध्ययनअनुसार ३६ प्रतिशत रोजगारदाताले आफ्नो घरमा काम गर्नेलाई साप्ताहिक रूपमा बिदा दिने गरेको र ४० प्रतिशतले बिरामी वा पर्वका बेलामा बिदा दिने गरेको र बाँकीले चाहिएको बेलामा मात्रै बिदा दिने गरेको पाइएको छ ।  घरको सरसफाइ गर्नेदेखि खाना बनाउने, बालबच्चा, वृद्धवृद्धाको स्यारसुसार र बिरामीको रेखदेख गर्ने प्रयोजनका लागि घरेलु श्रमिक राख्ने गरेको सो अध्ययनको निष्कर्षमा उल्लेख गरिएको छ ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठनको तथ्याङ्क अनुसार विश्वमा ज्यालादारी महिला श्रमको ७.५ प्रतिशत हिस्सा घरेलु श्रमले ओगटेको छ ।  घरेलु श्रम विश्वव्यापी रूपमा नै महिलाको सहभागिता रहेको छ ।  कुलमध्ये करिब ९० लाखको हाराहारी पुरुष कामदार घरेलु श्रममा रहेका छन् भने चार करोड ३६ लाख महिला श्रमिक रहेका छन् ।  ४१ प्रतिशत घरेलु श्रमिक एसियाली मुलुकमा रोजगारी गरिरहेका छन् ।  नेपाल ट्रेड युनियन काँग्रेसका महिला अध्यक्ष रमा पौडेलले घरेलु श्रमिकलाई दिइने तलब सेवा असाध्यै कम भएकाले नेपालमा घरेलु श्रमिक पेसाप्रति त्यति आकर्षण नभएको बताउनुभयो ।  उहाँका अनुसार नेपालमा करिब दुई लाख घरेलु श्रमिक रहेकोमा अधिकांश महिला रहेका छन् ।   
अखिल नेपाल ट्रेड युनियन महासङ्घका सचिव कुमार पन्तले घरेलु श्रमिकलाई सरकारले सेवा सुविधाको निर्धारण गर्नुका साथै यसको नियमन गर्नका लागि ऐन नियम बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।  
 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना