• ७ वैशाख २०८१, शुक्रबार

मनाङबाट गण्डकी प्रदेशसभामा स्वतन्त्र उम्मेदवार दीपक मनाङे निर्विरोध

blog

बेलिना थापा 

लमजुङ, असोज २६ गते । मनाङ प्रदेश ‘ख’ का स्वतन्त्र उम्मेदवार राजिव गुरुङ 'दीपक मनाङे' निर्विरोध हुनुभएको छ । स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले आफ्नो उम्मेदवारी बुधबार फिर्ता लिएपछि मनाङे निर्विरोध भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मनाङे हाल गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री हुनुहुन्छ । 

दोर्जेले बुधबार १० बजेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएर आफ्नो उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले बताउनुभयो ।

उहाँले उम्मेदवार राजीव गुरुङको अब एकल उम्मेदवारी रहने भएपछि निर्विरोध भन्न मिल्ने र दिउँसो १ बजेपछिमात्रै औपचारिक जानकारी दिने बताउनुभयो । मनाङ प्रदेश ‘ख’ मा नेकपा एमाले र नेपाली कांग्रेस दुवैले उम्मेदवारी दिएको छैन । 

राजीवले मनाङ प्रदेश ‘ख’ मा एमालेका समर्थनमा स्वतन्त्र उम्मेदवार बनेको बताउँदै आउनुभएको छ । उहाँले २०७४ को निर्वाचनमा एमालेकै समर्थनमा जितेको र अहिले पनि एमाले समर्थनमै उम्मेदवारी दिएको बताउँदै आउनुभएको छ ।

नेकपा एमाले मनाङका सचिव एवं मनाङ प्रदेश ‘क’ का उम्मेदवार राजनबहादुर गुरुङले दोर्जे लामा गुरुङलाई आफ्नो उम्मेदवारी फिर्ता लिन आग्रह गरेपछि उहाँले उम्मेदवारी फिर्ता लिएको र राजीव गुरुङ निर्विरोध भएको बताउनुभयो ।

नेपाली कांग्रेस मनाङ सचिव सुरेन्द्र गुरुङले राजीव गुरुङलाई सत्ता गठबन्धनले समर्थन गरेकाले सो क्षेत्रमा गठबन्धनका तर्फबाट उम्मेदवारी नदिएको बताउनुभयो ।

एमाले समर्थनमा स्वतन्त्र उम्मेदवारी दिनुभएका राजीवले २०७४ को निर्वाचनमा कांग्रेसका कर्म गुरुङलाई हराएर मनाङ प्रदेश ‘ख’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।