• १६ चैत २०८०, शुक्रबार

राउण्ड धवलागिरिलाई विश्वभर प्रचार गर्न पदयात्रा

blog

राउण्ड धवलागिरि पदयात्रामा निस्केकाहरु । तस्विर – ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, असोज २६ गते । राउण्ड धवलागिरिलाई विश्वभर प्रचारप्रसार गरेर पर्यटन प्रवर्धन गर्ने उद्देश्यले पदयात्रा सुरु गरिएको छ । विभिन्न पेशा तथा रोजगारीका क्रममा हङ्कङमा बसोबास गर्ने म्याग्देलीहरुको संस्था म्याग्दी प्रवासी नेपाली सङ्घ(मोना) हङ्गकङ्गको आयोजनामा पर्यटन प्रवर्धन गर्न १२ दिनको चक्रीय धवलागिरि पदयात्राको आयोजना गरिएको हो । पदयात्राले राउण्ड धवलागिरिको पर्यटन प्रवर्धन टेवा मिल्ने विश्वास गरिएको छ । 

बेनीबाट सुरु भएको पदयात्रा धवलागिरि गाउँपालिका ४ मुदीदेखि धवलागिरि बेसक्याम्प हुँदै मुस्ताङको मार्फा निस्किने कार्यक्रम रहेको मानो हङ्कङका अध्यक्ष कर्ण पुनले बताउनुभयो । पदयात्रामा मोनाका टोली, पत्रकार र गाइड गरी ३२ जना सहभागी भएको उहाँले बताउनुभयो । 

धौलागिरि चक्रीय पदमार्गलाई विश्वभर चिनाउने उद्देश्यले पदयात्रा गर्न लागिएको मोनाका सचिव देवेन्द्र फगामीले बताउनुभयो । धवलागिरि पदयात्राको बारेमा हामीले हङकङ फर्किएर विदेशी पर्यटकसामु प्रचारप्रसार गर्ने उहाँले बताउनुभयो । 

मोना हङकङका अध्यक्ष पुनको नेतृत्वमा बुधबारदेखि उहाँहरू बेनीबजारबाट मुदि, बगरा, इटालियन बेसक्याम्प, धौलागिरि बेस क्याम्प हुँदै मुस्ताङको मार्फामा निस्कनेछन् । 


‘हामी धौलागिरि पदमार्ग प्रवर्धनका लागि पदयात्रामा निस्कँदैछौं’, पुनले भन्नभुयो, ‘आफ्नो मातृभूमिको प्राकृतिक एवं सांस्कृतिक सौन्दर्य अवलोकन गरेर यहाँको पर्यटन सम्भावनाका बारेमा विश्वभर व्यापक प्रचारप्रसार गर्ने योजना बनाएका छौँ । हाम्रो अभियानबाट प्रेरित भएर अरुलाई पनि पदयात्रा गर्न प्रोत्साहन मिल्ने अपेक्षा राखेका छौँ ।’

सुन्दर पर्यटकीय क्षेत्र भएर पनि ओझेलमा परेको यस क्षेत्रलाई पदयात्राले पर्यटन प्रवर्धनमा टेवा मिल्ने विश्वास गरिएको धौलागिरि पर्यटन परिषदका अध्यक्ष अमर बानियाँले बताउनुभयो ।

पदयात्रामा निस्केका टोलीलाई बुधबार विहान बेनी नगरपालिकाका मेयर सुरत केसी, ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यलगायतले बिदाइ गर्नुभएको थियो ।