• ८ वैशाख २०८१, शनिबार

‘समवेत दृष्टि’माथिको दृष्टि

blog

‘समवेत दृष्टि’ पछिल्लो समय बजारमा आएको पुस्तक हो । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमा राख्नुभएका विचार, धारणा र अभिव्यक्तिका सकारात्मक पक्षलाई सङ्कलन तथा सम्पादन गरी पुस्तककार दिएर दस्तावेजीकरण गरिएको छ । लेखक तथा सङ्कलक लोग्शरी कुँवर र सञ्जय खड्काले संयुक्तरुपमा सङ्कलन गर्नुभएको उहाँको विचार समवेत दृष्टिमार्फत एकठ्ठा रुपले पस्कने काम भएको छ । उसो त मुलुकको दुई पटक प्रधानमन्त्री भइसक्नुभएका नेता ओलीका औपचारिक तथा अनौपचारिक रुपमा बाहिर राखिएका अभिव्यक्ति थुप्रै छन् । त्यसको पूरै सँगालाे प्रकाशन गर्दा ठूलै भोलुमका पुस्तक तयार हुन सक्छ । तर त्यसमध्ये केही अभिव्यक्तिको मुख्य अंशलाई पुस्तकमा सम्पादित रुपमा राखिएको छ । नेता ओलीका विचार, धारणा सुन्न रुचाउने, उहाँका रचनात्मक तथा सिर्जनात्मक विचारका पारखीहरुका लागि पुस्तक उपयोगी सावित हुनेछ । नेता ओली एमाले पार्टी अध्यक्ष हुनुहुन्छ । अध्यक्षको हैसियतले पनि धेरै विचार र धारणा पार्टी बैठक, भेला र सभा सम्मेलनमार्फत राख्दै आउनुभएकै छ । ती सबै धारणा र विचारलाई पुस्तकमा सङ्कलन त गरिएको छैन । उहाँका केही विचार, धारणा, चिन्तन र विश्लेषणका प्रतिनिधि अंशलाई केन्द्रित गरी पुस्तक तयार गरिएको देखिन्छ ।  

नेताहरु पब्लिकका चासोमा पर्छन् । तिनले बोल्ने विषयमाथि आम नागरिकले निगरानी गर्छन् नै । मुलुकको नेतृत्व गर्दा होस् या पार्टीको नेतृत्वमा रहँदा नेताहरुप्रति हजारौं नागरिकको निरन्तर खवरदारी रहन्छ । हरेक दिनजसो राख्ने फुटकर भाषण (विचार) ले नागरिकलाई दिक्दार पनि बनाउँछ । भाषणमा ठूला कुरा गर्ने, व्यवहारमा कार्यान्वयन नगर्ने नेताको कमजोरी नै हो । झन हाम्रोजस्तो देशमा नेताहरु भाषण ठूला गर्छन्, कार्यान्वयन गर्ने स्रोत साधन देशसँग छैन । रातारात देशलाई सिङ्गापुर बनाउँछन्, कसैले स्वीट्जरल्याण्ड । नेपालीलाई न सिङ्गापुर चाहिएको छ, न त स्वीट्जरल्याण्ड । चाहिएको छ त केवल समृद्ध नेपाल । नेपाली नागरिक सुखी र समृद्धशाली बनेको हेर्ने मन छ । नेताहरुले भाषणमा देशको विकास त एकैछिनमा गरिदिन्छन् । जादूगरले जादू चलाएजस्तो ‘फुमन्तर कि वाचा’ जस्तो । वास्तविक विकास गर्न भाषणजस्तो सहज भने छैन । भ्रष्टाचारमा लिप्त मुलुक, स्रोत साधनले अति गरिब हाम्रो देशको समृद्धि नेताहरुको भाषणजस्तो होइन भन्ने नागरिकलाई राम्रो हेक्का छ । तर नेताहरुले भाषण गर्न छाड्दैनन् । नागरिकले काम चाहेका छन्, भाषण होइन । यसको जानकारी पनि छ नेताहरुमा । 

नेता ओलीका भाषणकला अन्य नेताका भन्दा फरक छन् । देशको समृद्धिका लागि सपना देखाउनमा केन्द्रित हुनुहुन्छ । राष्ट्र र राष्ट्रियताका निम्ति नागरिकलाई अभिप्रेरित गर्नेखालका अभिव्यक्ति उहाँको देखिन्छ । ‘सिर्जनात्मक काम गर्न सपना देख्नुपर्छ, सपना नदेखेर कुनै कामको सही योजना बन्न सक्दैन’ उहाँको ध्येय देखिन्छ । यो सत्य हो कि स्पष्ट योजना बनाएर काम गर्नु दिगो विकासको सूचक हो । देशको नेतृत्वकर्ताले जनताको मनोबल बलियो बनाइराख्न हौसला र प्रोत्साहनको खाँचो पनि पर्छ । जस्तोसुकै सङ्कट आइपर्दा पनि मनोबल उँचो बनाइ राख्नेखालका अभिव्यक्तिको खाँचो हुन्छ नै । ओलीका अधिकांश अभिव्यक्ति र विचार त्यसतर्फ केन्द्रित देखिन्छन् । हरेक भाषणमा उपमा, चुटकिला, उपमेय, टुक्का जोडिएर आउने प्रसङ्गले भाषणलाई रोचक बनाउने गर्छ । यो पुस्तकलाई त्यसैले जिवन्त बनाएको छ । पुस्तकमा ओलीका साहित्यिक सिर्जना, कथा, उहाँका भनाइ, विचार, दृष्टिकोण, चिन्तन्, विभिन्न दृष्टान्त, समृद्ध नेपाल र सुखी नेपालीको अवधारणासहितका भाषणहरु सङ्कलित छन् । यसले पाठकलाई आकर्षित गर्न बल पुग्छ । नेता ओलीका भाषणका बीचबीचमा आउने कथा, उपमालाई पुस्तकमा सरल मर्मस्पर्शी रुपले प्रस्तुत गरिएको छ । यसले पुस्तकको ओज बढाएको छ । 

नेपाली समाजको वस्तुगत विश्लेषण गर्न खप्पिस नेता ओलीको अधिकांश भनाइ र चिन्तनहरु एकै पुस्तकमा अध्ययन गर्न पाइने हुनाले पनि उहाँको विचार, चिन्तन र आकांक्षालाई अध्ययन गर्न पुस्तकले सहज बनाइदिएको छ । अध्यक्ष ओली हरेक विषयमा भाषण गर्न सक्ने क्षमता राख्नुहुन्छ । राजनीति, दर्शन, समाज, धर्म संस्कृति, खेलकुद, ज्ञानविज्ञान, जडीबुटी, वन वातावरण, डिजिटल युग आदि सबै क्षेत्रमा उहाँको अध्ययन देखिन्छ । अध्ययनशील नेताको रुपमा आफूलाई अब्बल सावित गर्नुभएका अध्यक्ष ओलीका भाषण र चिन्तन्लाई त्यसले ओजपूर्ण बनाएको छ । जुनसुकै शीर्षकमा घण्टौं भाषण गर्नसक्ने विशेष कला छ, उहाँमा । भाषणका सिलसिलामा स्वतःस्फूर्त प्रस्फुटन हुने उहाँका कथा, उखान र उपमाहरुले भाषणलाई कलात्मक र श्रवणयोग्य बनाउँछ । पुस्तकमा प्रस्तुत गरिएका दृष्टान्तले त्यही भन्छ । उहाँको अदभुत कला र क्षमता मान्न सकिन्छ यसलाई । कतिले त्यस कलालाई हाँसो ठट्टाको विषय बनाउँछन् । तर सबैमा त्यो कला हुँदैन । पछिल्लो समय २०७८ असार २८ गते सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई दुई पार्टीमा अलग गरिदिएपछि ओलीले राख्नुभएको धारणाको दृष्टान्त अन्तर्गतको छोटो अंश पढौं– 

“सिनेमामा हिरोले हिरोइनलाई अँगालो हाल्छ, काखी च्याप्छ, हिरोइन आँशु झार्छे । एकअर्कालाई केही भयो भने पुर्पुरोमा हात राखेर रुन्छन् । जब सिनेमा सकिन्छ के को लभ पर्नु ? हिरो एकातिर, हिरोइन अर्कोतिर । हामीले जति राम्रो बनाउन खोजे पनि एमाले–माओवादीको सम्बन्ध त्यस्तै भयो ।” 

“एउटा झोला किन्दे भनेर कसैले भन्यो भने झोला किनिदिन सकिन्छ । त्यतिले पुगेन, एउटा हात्ती पनि किनिदे भन्ला । त्यो पनि किनिदिन सकिएला । लौ अब त्यो हात्ती यो झोलामा हालिदे भनेर निहुँ खोज्यो भने के गर्ने ?”

“यो स्वस्थानी व्रतकथा होइन । यो राष्ट्र निर्माणको अभियान हो । स्वस्थानी व्रतकथामा के हुन्छ ? यस्तो छाप्रोमा ल्याएर राख्यो मलाई भनेर सतीदेवीले शिवजीलाई भनेपछि छाप्रो उघारेर हेर भन्दा उतापट्टि त झलमल्ल दरवार रहेछ । हामीले स्वस्थानी व्रतकथा सुनाउन लागेको होइन, देश बनाउन खोजेका हौं । त्यसकारण यसो पर्दा च्यातेर हेर्दा महल बन्दैन, महल बनाउनुपर्छ हामीले ।”

पुस्तकमा विभिन्न खण्ड समेटिएको छ । अध्यक्ष ओलीले राख्नुभएका विचार, दृष्टान्त र विश्लेषणमध्ये कविता–गीत, भनाइ, दृष्टान्त, कथा, मेरो आकांक्षा : समृद्ध नेपाल, सुखी नेपाली, विचार खण्ड प्रमुख छन् । नेपाली बृहत् शब्दकोषले समवेतकाे अर्थ– एकत्र भएको, जोरिएको सम्मिलित, घनिष्ठता का अभेद्य रुपले सम्बन्धित, अन्तर्भूत उल्लेख छ । लेखक सङ्कलकले अध्यक्ष ओलीको अन्तरभावनामा अन्तर्भूत विचार र दृष्टान्तलाई पुस्तकमार्फत पाठकमाझ पस्कनुभएको छ । ३८० पृष्ठको यस पुस्तकको मूल्य ७५० रुपियाँ राखिएको  छ । पुस्तक अध्ययन गर्ने जोकोही पाठकलाई अध्यक्ष ओलीका विचार, अन्तरभावना सहजै पर्गेल्न सहयोग पुग्नेछ । सम्पूर्ण किताब काठमाडौंले प्रकाशन गरेको पुस्तक सङ्ग्रहणीय बनेको छ ।

Author
लक्की चौधरी

उहाँ गोरखापत्र अनलाइनका उपसम्पादक हुनुहुन्छ ।