भूकम्प प्रतिरोधी घर र अपाङ्गतामैत्री शौचालय हस्तान्तरण

बेनी (म्याग्दी), असार ४ गते । म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली हल्लेगौँडाकी अपाङ्गता भएकी कुमारी रोका मगरलाई भूकम्प प्रतिरोधात्मक घर र अपाङ्गतामैत्री शौचालय निर्माण गरी दिइएको छ । शारीरिक रुपमा अपाङ्गता र आर्थिक विपन्नता भएका रोका परिवारका लागि साविकको भकिम्ली गाविस र स्थानीय बासिन्दाको पहलमा अपाङ्ग सङ्घ म्याग्दीमार्फत आइएनअफ नेपालको सहयोगमा घर र शौचालय निर्माण गरिएको हो ।

आइएनएफको रु दुई लाख ९८ हजार ६४८ आर्थिक सहयोग, वडा कार्यालय भकिम्लीबाट रु २२ हजार र स्थानीय जनश्रमदान रु ७१ हजारको लागतमा उक्त घर निर्माण गरिएको आइएनएफ, बागलुङका विमला केसीले जानकारी दिनुभयो ।

शारीरिक रुपमा अपाङ्गता भएका मानसिङ रोका, उनकी छोरी कुमारी र नातिनी कल्पना रोका यसअघि ढोका नभएको खरको गोठमा बस्दै आएका थिए । पानी पर्दा चुहिने खरको घर त्यसमा पनि अपाङ्गता र आर्थिक विपन्न हुँदा रोका परिवारलाई समस्या भएको थियो । वडा कार्यालय, आमा समूह र स्थानीयवासीले नागरिकता तथा अपाङ्गता परिचयपत्र एवम् घर निर्माणका लागि पहल गरेका थिए ।

शनिबार आयोजित कार्यक्रममा म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी शोभाखर पोख्रेल र आइएनएफका कार्यकारी निर्देशक डा बुद्धिबहादुर थापाले संयुक्त रुपमा नवनिर्मित घरको मूलढोकाको ताला खोलेर कुमारी रोका र उनका पिता मानसिङ रोकालाई साँचो हस्तान्तरण गर्नुभएको थियो ।

आइएनएफ नेपालका कार्यकारी निर्देशक डा बुद्धिबहादुर थापाले आफ्नो संस्थामार्फत अपाङ्गता भएका व्यक्तिका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने गरिएको जानकारी दिनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds