• १३ वैशाख २०८१, बिहिबार

प्रत्यक्षमा महिला उम्मेदवार न्यून

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, असोज २६ गते । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा सिन्धुली जिल्लामा ५० जना उम्मेदवारमध्ये महिला तीन जना मात्र छन्।

जिल्लामा दुई प्रतिनिधि सभा सदस्यका लागि २४ जनाको उम्मेदवारी दर्ता हुँदा दुई जना महिलाको मात्रै उम्मेदवारी परेको छ। त्यस्तै चार प्रदेश सभा सदस्यका लागि २६ जनाको उम्मेदवारी दर्ता हुँदा एक जना महिलाको मात्रै उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

कार्यालयका अनुसार प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट मेनुका ठकुरी र निर्वाचन क्षेत्र नं. २ मा नेपाल मजदुर किसान पार्टीबाट रामेश्वरी कोजुले उम्मेदवारी दर्ता गराउनुभएको छ। त्यस्तै प्रदेश सभा सदस्यका लागि निर्वाचन क्षेत्र नं. २ ‘क’ बाट नेपाल मजदुर किसान पार्टीकी सङ्गीता दुवाल एक जनाको मात्रै उम्मेदवारी दर्ता भएको छ। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले)लगायतका ठूला दलले महिलालाई उम्मेदवार बनाएका छैनन्।

सुनकोसी गाउँपालिका अध्यक्ष दीपा बोहोरा दाहाल राजनीतिक दलले महिलालाई कम विश्वास गरेकाले पनि उम्मेदवारी कम परेको बताउनुहुन्छ। “म पनि दुई पटक चुनावमा प्रतिस्पर्धा गरेर अध्यक्षमा दुवै पटक जितेकी हुँ,” उहाँले भन्नुभयो, “राजनीतिक दलले विश्वास नगरे पनि मतदाताले बढी महिलालाई माया गरेको अनुभव गरेकी छु।”

उहाँका अनुसार राजनीतिमा लाग्ने महिला कम हुन्छन्। सक्रियता देखाउने कम हुन्छन्। भएका महिलालाई पनि जित्छन् कि जित्दैनन् भनेर पार्टीले विश्वास कम गर्ने गरेको छ। त्योसँगै आर्थिक कुरा पनि जोडिएर आउनुका साथै आर्थिक रूपमा महिला स्वतन्त्र नहुने र चुनावमा खर्च पनि बढी गर्न महिला डराउने हुँदा समस्या देखिएको उहाँको भनाइ छ।

नेपाल महिला सङ्घ सिन्धुलीकी अध्यक्ष गङ्गा राउत दाहाल पुरुषवादी सोचका कारण महिला सधैँपछि परिरहेको बताउनुहुन्छ। “उम्मेदवार बन्न चाहेका महिलालाई पनि प्रत्यक्षमा टिकट दिने हिम्मत र साहस गरेनन् र पुरुषवादी सोच कहिल्यै हटेन,” उहाँले भन्नुभयो, “महिलाहरू समानुपातिक मात्रै खोज्छन्, प्रत्यक्षमा आउन चाहँदैनन् भन्ने जुन सोच छ, म स्वयं प्रत्यक्षमा सिफारिस भएको उम्मेदवार। महिलालाई नेतृत्वमा ल्याउन नै दिइँदैन।” निर्वाचन खर्चिलो भएर जुन बेथिति बढिरहेको छ, महिला उम्मेदवार हुँदा निर्वाचन अत्यन्त व्यवस्थित  हुने उहाँले सुझाउनुभयो। नेतृत्वमा पुरुष बस्ने र निर्णय नगरिदिँदा क्षमतावान्, सशक्त भएर पनि सधैं महिला पछाडि परिरहेको उहाँको भनाइ छ। 

महिला उम्मेदवार शून्य

चरिकोट समाचारदाताका अनुसार दोलखामा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि गरी प्रत्यक्षतर्फ ५३ जनाले मनोनयन दर्ता गरेका छन्। निर्वाचन कार्यालयका अनुसार प्रतिनिधि सभा सदस्यका लागि २२ जना तथा प्रदेश सभा सदस्यमा निर्वाचन क्षेत्र नं. १ मा १८ र क्षेत्र नं. २ मा १३ जनाले उम्मेदवारी मनोनयन गरेका छन् । 

एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको दोलखामा प्रत्यक्षतर्फ महिलाको उम्मेदवारी शून्य रहेको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ। महिलालाई टिकट नदिनु र नेतृत्वसम्म नपुग्नुका कारण दलहरूको पुरातन सोच भएको कांग्रेस नेत्री तारा थपलियाले बताउनुभयो।