• ८ वैशाख २०८१, शनिबार

आचार्यको दार्शनिक पुस्तक ‘आत्मानुसन्धान’

blog

काठमाडौँ, असोज २६ गते । हिन्दु धर्म, संस्कृति र पूर्वीय दर्शनका ज्ञाता, वरिष्ठ लेखक एवं आध्यात्मिक चिन्तक प्रा. चेतोनाथ शर्मा आचार्यले आफ्नो पाँच दशक लामो स्वाध्ययन, चिन्तन र प्राध्यापनबाट आर्जित ज्ञानलाई समेट्नुभएको ‘आत्मानुसन्धान’ नामक दार्शनिक पुस्तकको दोस्रो संस्करण प्रकाशनमा आएको छ। 

ईश्वर र आत्मालाई मूल विवेच्य विषय तुल्याई प्रणयन गरिएको यो कृति आजको व्यस्त जीवनमा ईश्वर, आत्मा, जीव, जगत्जस्ता सूक्ष्म विषयलाई सङ्क्षेपमा बुझ्न चाहनेका लागि अति उपयोगी रहेको छ। पुस्तकमा न्याय–वैशेषिक–साङ्ख्य–योग–मीमांसा र वेदान्त गरी छवटा आस्तिक एवं चार्वाक, बौद्ध र जैन गरी तीनवटा पूर्वीय दर्शनको आधारभूत कुराहरूदेखि लिएर वेद, उपनिषद्, प्रमुख स्मृति, रामायण महाभारत, श्रीमद्भगवद्गीता, श्रीमद्भागवतलगायतका विशिष्ट धार्मिक ग्रन्थहरूसहित पूर्वीय वाङ्मयमा समेटिएका आत्मा र ईश्वरसम्बन्धी मूलभूत विषयहरूलाई सूत्रात्मक रूपमा चर्चा गरिएको छ। 

मानव जीवनको एकमात्र सर्वोपरि लक्ष्य आत्मज्ञान (आफूलाई चिन्नु) रहेको र सो परम लक्ष्यलाई यो छोटो र व्यस्त जीवनमा कसरी हासिल गर्न सकिन्छ भन्नेबारेमा प्रस्तुत पुस्तकमा विभिन्न शास्त्रीय र दार्शनिक प्रमाणसहित गम्भीर विवेचना गरिएको छ। विविध दार्शनिक सिद्धान्तको पर्यालोचनका साथ उपस्थापित यो ग्रन्थमा ईश्वर र आत्मा सम्बन्धमा पूर्वीय वाङ्मयका प्रसिद्ध ग्रन्थहरूमा उल्लेख भएका विषयहरूको सारलाई सुबोधपूर्ण शैलीमा समेटिएको छ। 

विद्याव्यसनी लेखकले अथक प्रयासबाट ८८ वर्षको वार्द्धक्य जीवनमा यस पुस्तक प्रकाशित गरी अध्यात्मानुरागी सबै नेपालीलाई ठूलो गुन लगाउनुभएको छ । मानव जीवनको उद्देश्य के हो ? हिन्दु धर्म र हाम्रा शास्त्रहरूको सार के हो ? सांसारिक दुःखबाट मुक्त हुने उपाय के हो ? आत्मज्ञान के हो र कसरी प्राप्त गर्न सकिन्छ ? भनी चिन्तन–मनन गर्ने सबैका लागि यो पुस्तक पठनीय र सङ्ग्रहणीय रहेको छ।