प्रधानमन्त्री देउवाको सूत्र–‘मुख होइन रुख हेर’

bashant prkashवसन्तप्रकाश उपाध्याय



 

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभएको ११ औँ दिन बित्दा पनि प्रधानमन्त्री निवास बालुवाटार सर्नुभएको छैन ।  प्रधानमन्त्री भएलगत्तै राजनीति दायित्वबोधमा सबेरैदेखि साँझसम्म बेफुर्सद रहेर उहाँका दिन बितेका छन् ।  जटिल राजनीतिक अवस्था र दलहरूका पेचिला अडान मिलाउन प्रधानमन्त्री देउवाको सक्रियता यत्रतत्र देख्न सकिन्छ ।  
७१ औँ वर्ष प्रवेशसँगै चारपटक प्रधानमन्त्री बन्नुभएका देउवाको यो कालखण्ड धेरै अर्थमा चुनौतीपूर्ण छ ।  आफ्नो राजीतिकको ५० वर्षे यात्रामा धेरै किसिमका उचारचढाव र उहापोह भोग्नुभएका देउवामाथि धेरै भरोसा गर्नेसँगै केही संशय पाल्ने छन् ।  नेपाली राजनीतिको पछिल्लो परिदृश्यमा देउवा जति शक्तिशाली अवस्थामा हुनुहुन्छ, उत्तिकै उहाँमाथि ‘ओसिलो’ दृष्टिकोणसमेत देखाइएको छ ।  
वास्तवमा वर्तमान र भावी दिनका कार्यसम्पादन नहेरिकन विगत कोट्टयाएर कैयौँ सन्दर्भ र प्रसङ्गलाई ‘विवादास्पद’ बनाइने प्रचलन हामीबीच छ ।  नेपाली राजनीतिले मात्रै नभएर कैयौँ विषय र प्रसङ्गमा हिजोको कुरा सतही तवरबाट उठान गरेर कैयौँले ‘कुरा’ काट्ने गरेका छन् ।  सम्मानित पदमा बसेर अवकाश पाए लगत्तै व्यक्ति विशेषले गर्ने टिप्पणीदेखि हिजोको देउवा–क्याबिनेटमा रहेको बताउँदै अनुभूति सार्वजनिक गर्ने केही पूर्व–झण्डावालको जे÷जति भनाइ सार्वजनिक गरेका छन्, त्यसमाथि केही मन्थन हुनैपर्छ ।  
सरकार निर्माण र सत्ता सञ्चालनका क्रममा दलबीच आआफ्ना खालका न्यूनतम साझा समझदारी बनाइन्छ ।  दलहरूले आआफ्ना प्रतिनिधि आआफ्नै हिसाबले पठाउँछन् ।  अन्तरमन्त्रालय सञ्चालनदेखि राजनीतिक नियुक्तिका क्रममा सत्तारुढ दलबीच भागबण्डा हुन्छ ।  यसक्रममा हिजो सहमति गरेर ल्याप्चे लगाउने र अहिले तिनै प्रसङ्ग उठान गरेर कुरोलाई ‘हङ्गामा’ बनाइनु न्यायिक हुँदैन ।  प्रधानमन्त्रीय पद्धतिमा प्रधानमन्त्रीसँग असहमति गरेर कसैले हिजो मन्त्री पद छाडेको देखिएन ।  हो, हिजो असहमतिमा पदत्याग नगर्ने अहिले चाहिँ त्यसैको अपजसको भारी कसैलाई बोकाउने काम सर्वथा ‘द्वैध’ र ‘दिगम्बर’ प्रवृत्ति हो ।  
हामी सबैलाई थाहा छ मुलुकमा कार्यपालिका, न्यायपालिकादेखि व्यवस्थापिकाको आआफ्नै कार्यक्षेत्र र अधिकार छन् ।  तीन निकायको स्थापना र कार्यभार राज्य सञ्चालनको मेरुदण्डका हिसाबमा तय भएका हुन् ।  देखिएकै छ यी निकाय मिल्दा मुलुकमा अपेक्षित काम समयमा भएका छन् ।  यी निकाय नमिल्दा र उनीहरूले अतिशयोक्ति–मनोदशा देखाउँदा समस्या सुल्झनुको सट्टा झन्–बल्झन पुगेको छ ।  
प्रस्ट छ मुलुकमा केही ‘कुरो’ लुकेको छैन ।  राजनीतिको तातो हावाले रामशाह पथ मात्रै ग्रसित छैन अपितु मौका परस्त कैयौँ कालो–कोट पार्टीका मुख्यालयको ह्याङ्गरमा टाँग्ने गरिएको छ ।  देखिएको र सुनिएको छ जहीतहीँ ।  अरू त अरू संसदीय सुनुवाइको बेला श्रीमान्हरू विद्यार्थीकालको राजनीतिक कुरा गरेर ‘साखुल्ले’ बन्ने गर्छन् ।  आफू अनुमोदित हुन सुनुवाइ गर्नेहरूको सन्निकट ठहरिन्छन् ।  न्यायाधीश छान्ने ‘न्यायपरिषद्’ कसरी गठन हुन्छ ? मन्त्रीदेखि महाप्रबन्धक र राजदूतदेखि आईजीपी बनाउने कार्यभार कसको हो ? यी सबै तथ्य एवम् पक्षहरू नबुझिकन वा बुझेर बुझ पचाइँदा धेरै चीज विवादास्पद हुन पुगेको छ ।  
खासगरी वर्तमान संविधान निर्माण भएर जारी गरेसँगै मुलुकको राजनीतिक परिदृश्यमा धेरै किसिमको उतारचढाव आयो ।  संयोगले आआफ्ना पार्टीका प्रमुख र प्रधानमन्त्री भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र खड्गप्रसाद ओलीपछि शेरबहादुर देउवाको तुलनामा बाबुराम भट्टराई, माधवकुमार नेपाल र झलनाथ खनाल केही कमजोर र सुस्त देखिए ।  वास्तवमा पार्टी प्रमुख प्रधानमन्त्री नहुँदा धेरै किसिमका कार्यसम्पादनमा अनेकन खालका समस्या सिर्जित हुँदारहेछन् ।  कहिले पार्टी पङ्क्तिको ‘खतरा’ मोलेर, कुनै क्षण प्रधानमन्त्रीको ‘प्राथमिकता’ बोकेर कैयौँ निर्णयमा पुग्नुपर्ने हुन्छ ।  यस अर्थमा अब संविधान कार्यान्वयनको महŒवपूर्ण कडी पूरा गर्ने ठाउँमा हुनुहुन्छ प्रधानमन्त्री देउवा ।  यसैकारण उहाँमाथि सबैको ‘ध्यानाकर्षण’ हुनु नौलो होइन ।  
वास्तवमा देउवा के–कस्तो हुनुहुन्छ, उहाँको सोच, शैली र सिद्धान्तभन्दा पर बसेर हुने र गरिने मन्थनमा ‘चुरो’ कम र ‘कुरो’ धेरै देखिन्छ ।  देउवा जन्मेको परिवेश र उहाँले गरेको सङ्घर्ष बिर्सेर धेरै कुरा हुन्छन् ।  औसत नेपाली नागरिकको पृष्ठभूमिबाट आजको चिनारीमा पुग्न उहाँले कति हण्डर खानुभयो ? त्यसको मर्म र मान्यता भुलेर धेरै कुरा गरिन्छ ।  खासगरी प्रतिपक्षी मानसिकता देउवासँग ‘थर्कमान’ हुन्छन् र छन् ।  त्यसो हुनुको केही कारण छन् ।  पहिलो उहाँ सबैभन्दा ठूलो विशिष्टिकृत पार्टीको निर्वाचित सभापति हुनुहुन्छ, अर्को देउवासँग सबैलाई समेटेर काम गर्ने क्षमता छ ।  डडेल्धुरादेखि कैलालीको विविधता र बीपीदेखि जीपीसम्मका सानिध्यतामा उहाँले विरोधीको ‘चाल–माथ’ गर्न जान्नुभएको छ ।  सिंहदरबार र बालुवाटारलाई भलिभाँती राम्ररी बुझेका कारण देउवासँग यसैकारण तर्सने र उतर्सिनेको कमी छैन ।  कर्णाली, दलित, महिला, जनजाति, मधेशी (कदमजम) दृष्टिकोणका अभियन्तादेखि मुक्त कमैयाका उन्नायक अनि विकास निर्माण सेना बनाउने दृष्टिकोणका संवाहक देउवासँग धेरै किसिमले थुप्रै खालका ‘भय’ पाल्नेहरू छन् ।  कोही पूर्वाग्रहले प्ररित भएर, कोही प्रतिशोधले गाँजिएर त कोही लघुताभाषले थिचिएर तिललाई पहाड बनाउँछन् ।  कालोलाई सेतो स्वरूपमा व्याख्या गर्छन् ।  
नेपाली काँग्रेसभित्र चार कोइराला र एक किसुनजीपछि प्रधानमन्त्री र पार्टी सभापतिको पदमा पुग्ने देउवा मात्रै एक दुर्लभ उदाहरणमा हुनुहुन्छ ।  मुलुकको भौगोलिक विविधताबीच सुदूरपश्चिमको डडेल्धुरा र अझ असीग्राम–रुवाखोलाको दारुण परिवेश चिरेर स्थापित हुने उहाँ ‘भूतो न भविष्यति’ को नायक लाग्नुहुन्छ ।  लवजको थोरै अस्पष्टतामा जतिसुकै व्यङ्ग्य कसुन् विरोधीले ।  अडान र कार्यसम्पादनमा ‘चट्टानी–मर्म’ बोक्नुहुन्छ उहाँ ।  यसैकारण हायलकायल छन् कैयौँ र उठाइरहेका छन् लुघुताभासले विगतका अप्रासङ्गिक कुरा ।  
एउटा सत्य हो– राजनीतिक प्रणलीको ।  त्यो हो पार्टी र यसको आदर्शभन्दा माथि ‘व्यक्ति’ हुँदैन ।  त्यस अर्थमा नेपाली काँग्रेस पार्टी र यसको प्रजातान्त्रिक–समाजवादको आदर्शमा हुर्कनुभएका देउवामाथि अरू निरर्थकको बहस गर्नु जरुरी छैन ।  अन्तरपार्टी सङ्घर्षमा प्रधानमन्त्री हुँदा साधारण सदस्यबाट ‘बर्खास्त’ हुनुसँगै शाही साम्राज्यमा ‘अपदस्तता’ बेहोर्नुको पीडाले नै प्रस्ट्याइरहेको देखिन्छ– देउवाको निष्ठा र समर्पणलाई ।  स–साना र झिनामसिना सम्झौताभन्दा परिवर्तनकामी हाइभोल्टेजको यात्रामा लागेर नै उहाँले भोग्नुपरेको हो अनगिन्ती दुःखका करेन्ट ।  
एउटा सानो र सुखी परिवार छ– देउवाको ।  परिवारवादको महŒवकाङ्क्षाभन्दा पर बसेर उहाँ पार्टी पद्धतिमा सबै अटाउने छहारी–लचकताको सत्प्रयत्न गर्दै हुनुहुन्छ ।  पहिलो चरणको स्थानीय चुनावको अनुभवबाट दोस्रो चरणसम्मुख पुग्दा देउवाले ‘जित–सूत्र’ मा काखा–पाखा गर्नुभएन ।  अपेक्षा राख्ने धेरै भएपछि टिकट नपाउनेको मन थोरै अँध्यारो हुन्छ ।  यही बुझेर हुनुपर्छ– देउवाले सबैलाई ‘उज्यालो’ पार्ने सूत्रमा भन्नुभयो–
‘तिमीहरू ‘मुख’ होइन ‘रुख’ हेर । ’
वास्तवमा लामो सङ्घर्ष र कठिनतम् यात्राबीच यतिखेर पार्टी पङ्क्तिमा मात्रै नभएर समग्र मुलुकका लागि देउवा ‘केही–दिने’ ठाउँमा हुनुहुन्छ ।  भनिन्छ– हारमा ‘हाँस्न’ नजान्नेले जितमा पनि ‘रुञ्चे–स्वरूप’ देखाउँछ ।  विगतमा देउवा हारबीच सधैँ हाँसेको बिम्ब हो ।  अहिले दिने र मिलाउने ठाउँमा उहाँ हुनुहुन्छ ।  ठ्याक्कै मन्दिर जस्तो बनाइनुपर्छ पार्टी पद्धति ।  चन्दन हुँदा चन्दन बाँडेर सबैले लगाउने ।  मालपुवा भए बाँडेर खाने तर कसैले चन्दन लगाउने, मालपुवा घर लग्ने र अरूलाई चाहिँ निधार थाप्दा रातो टीका पनि नदिने मनोवृत्तिको अन्त्य गरिनुपर्छ ।  
हार–जितको लामो शृङ्खलामा ‘विजेता’ देउवासँग सबैको आशा र भरोसा हुनु स्वाभाविक हो ।  अन्तरपार्टी समस्याका ‘गनगने’ कुरा हटाउँदै देउवाले पछिल्लो स्थितिमा आएर पार्टी पङ्क्तिमा ‘सद्भाव–सञ्चार’ गराउनुभएको छ ।  नामथरले पौडेल वा सिटौला अथवा प्रकाशमान र खुमबहादुरका हिसाबले स्वार्थको ‘तम्बु’ गाड्ने प्रचलनमाथि देउवाले दनक दिन सक्नुपर्छ ।  सानेपाको सादृश्य सत्य– बीपी स्मृति भवन हो र समग्र काँग्रेस र उनीहरूको आदर्श बीपी हुन् भने सम्बन्धलाई उनीहरूले त्यही मर्ममा हुर्काउनुपर्छ ।  प्रधानमन्त्री भएको दिन पार्टीका संस्थापक नेताहरूको तस्बिरमा माल्यार्पण–समर्पण गरेर देउवाले छुट्टै छनक देखाइसक्नु भएको छ ।  अनि प्रधानमन्त्रीको कुर्चीमा बस्नासाथ ‘शब्दकोश’ को निरन्तरतामा धेरै सिक्ने उत्साह–उमङ्ग प्रदर्शित गर्नुभएको छ ।  भादगाउँले टोपीमा शालिन–संस्कार प्रदर्शित गर्दै अप्ठ्यारा झेल्न तम्तयार हुनुभएको देखिएको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना