• १३ वैशाख २०८१, बिहिबार

अविरल वर्षाका कारण सर्वसाधारणको बिचल्ली

blog

लुुम्बिनी प्रदेश ब्युरो

लुम्बिनी, असोज २६ गते । लगातारको अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्लाको जनजीवन कष्टकर बनेको छ। बाढी र पहिरोका कारण सयौँ परिवार विस्थापित भएका छन्। तराईका जिल्लामा डुबान र पहाडमा पहिरोले सर्वसाधारणलाई समस्या पारेको छ। 

बाँके/नेपालगञ्ज समाचारदाताका अनुसार, बाँकेको राप्ती नदीआसपासका बस्ती अति नै प्रभावित भएका छन्। जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार बाढीका कारण करिब नौ हजार घरपरिवार प्रभावित भएका छन्। राप्ती नदीछेउछाउमा रहेका राप्ती–सोनारी गाउँपालिका, नरैनापुर गाउँपालिका र डुडुवा गाउँपालिकाका विभिन्न बस्तीमा क्षति पुगेको छ। 

जिल्ला प्रहरी कार्यालयका अनुसार, बाढीबाट एक हजार ४३ घरपरिवारका चार हजार ६३१ जना विस्थापित भएका छन्। विस्थापितहरू सार्वजनिक भवन, सडकछेउ र आफन्तका घरमा आश्रय लिएका छन्। 

बाढीले १८१ घरमा पूर्ण र ४९८ घरमा आंशिक क्षति पु¥याएको छ। विस्थापितका लागि करिब नौ सय अस्थायी आवास आवश्यक पर्ने प्रशासनले जनाएको छ। नेपालगञ्ज उपमहानगरपालिकासहित कोहलपुर नगरपालिका, वैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा पनि क्षति भएको छ। 

जिल्ला प्रशासन कार्यालयअन्तर्गत रहेको जिल्ला विपत् व्यवस्थापन समितिका सूचना अधिकृत रुपन ज्ञवालीका अनुसार वर्षा निरन्तर भइरहेकाले क्षति बढिरहेको छ। सात दिनको अविरल वर्षाका कारण आएको बाढी र डुबानबाट विस्थापित भएकामा स्वास्थ्य समस्या देखिएको छ। 

करिब १२५ परिवार एकै विद्यालयमा कोचाकोच गरेर बसेकाले पनि निकै समस्या भएको र लामखुट्टेको टोकाइसँगै डेङ्गुको त्रास रहेको छ। अधिकांश पीडितले भुइँमा सुत्नुपर्ने र झुल नहुँदा लामखुट्टेले रातभरि सुत्न नदिने तथा दिनमा पनि टोक्ने गरेको जनाएका छन्। 

विपत् व्यवस्थापन समिति बाँकेले विस्थापित खाद्यान्न, लामखुट्टे र भाइरल ज्वरोजस्ता समस्याग्रस्त हुन थालेको जानकारी दिएको हो। सोसम्बन्धमा सम्बन्धित पालिका र वडालाई जानकारी गराउन आवश्यक व्यवस्था मिलाउन आग्रह गरिएको जनाएको छ। 

त्यस्तै, पाल्पाको विभिन्न स्थानमा रहेका ३४ घर जोखिमपूर्ण अवस्थामा रहेका छन्। अविरल वर्षाले कतै पहिरो गएर त कतै चर्किएर घर मान्छे बस्नै नसक्नेगरी जोखिममा परेका हुन्। 

पाल्पा समाचारदाताका अनुसार पाल्पाको रिब्दीकोट, बगनासकाली, निस्दी र तिनाउ गाउँपालिकाका ३४ घर जोखिमपूर्ण अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। 

अविरल बर्सात्ले रिब्दीकोटका सात घर, निस्दीका २५ घर, बगनासकालीका र तिनाउ गाउँपालिकाका एक–एक घर जोखिमपूर्ण अवस्थामा रहेको प्रहरीले जनाएको छ। 

जोखिमपूर्ण अवस्थाका घरमा बसोवास गर्ने परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो। 

पहिरोको जोखिमले विस्थापित परिवारलाई स्थानीय तह, जिल्लास्थित विपत्् व्यवस्थापन समितिबाट आवश्यक सहयोग गरिएको छ। विस्थापित परिवारका लागि ओत लाग्ने सामग्री वितरण गरिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिनुभयो। 

जिल्लाको निस्दी–३ स्थित क्याङरुङमा एउटा विद्यालय, एउटा सामुदायिक भवन, पूर्ण रूपमा क्षति भएको छ। पहिरोको उच्च जोखिममा रहेकाले १३२ जनालाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ। 

प्युठान समाचारदाताका अनुसार, प्युठानमा अवरुद्ध सडक खुुलाएर पीडितकहाँ राहत लैजान थालिएको छ। स्थानीय पालिका, रेडक्रस, प्युठान उद्योग वाणिज्य सङ्घ, लायन्स क्लब अफ प्युठानले राहत वितरण थालेका छन्। प्युठान नगरपालिका, ऐरावती गाउँपालिका र माण्डवी गाउँपालिकाका पहिरोपीडितलाई राहत उपलब्ध गराइएको लायन्स क्लब अफ प्युठानका सचिव नवीनकुमार श्रेष्ठले बताउनुभयो। 

माण्डवी–२ धनचौरमा ३९ घर, ऐरावती–४ तिग्रापातालमा २३ घर विस्थापित भएका छन्। पहिरोले धनचौरको सात घर बगाएको छ। पहिरोबाट विस्थापित भएकाहरू आफन्त, विद्यालय र खुला ठाउँमा बस्दै आएका छन्। पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना अझै बेपत्ता छन्। 

दाङ/देउखुरी समाचारदाताका अनुसार, दाङ र देउखुरी उपत्यकालाई जोड्ने मुख्य सडक घोराही–लमही सडकखण्डका विभिन्न ठाउँमा झरेको पहिरो र भत्किएका कारण करिब एक हप्तादेखि सडक पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन। जसले गर्दा सवारीसाधन सञ्चालनसँगै नागरिकलाई हिँडडुल गर्न समस्या भइरहेको छ। 

पहाडबाट खसेको पहिरो हटाई साना तथा हलुका सवारीसाधन एकतर्फी रूपमा सञ्चालन गरिए पनि पहिरोको जोखिम र सडकको अवस्था कमजोर भएका कारण ठूला गाडी सञ्चालन गर्न सकिएको छैन। जिप, कार, मिनिबस, मोटरसाइकललगायतका सवारीसाधन चल्न थालेका छन्। तर लामो दूरीका बस र मालवाहक ट्रक चल्न सक्ने अवस्था नभएको प्रहरीले जनाएको छ। कतिपय ठूला गाडी तुलसीपुर–अमिलिया भएर चल्नुपर्ने बाध्यता छ। 

सडकखण्डको मुसोट, कुलमोहर र बेल्दमारलगायतका क्षेत्रमा पहिरो झरेकाले ठूला गाडी सञ्चालन गर्न सक्ने अवस्था नरहेको सडक डिभिजन कार्यालय दाङका सुपरभाइजर देव वलीले बताउनुभएको छ। 

पहिरोसँगै मसोटखोलादेखि उत्तरतर्फ पहिलो घुम्तीदेखि तेस्रो घुम्तीसम्मको सडकमा खसेको माटो हटाई सडक मर्मत नगर्दासम्म सडक पूर्ण रूपमा सञ्चालन गर्न सक्ने अवस्था नभएको उहाँले बताउनुभयो। 

(सिराज खान/नेपालगञ्ज, गोविन्द सर्मा/बाँके, रेखीराम राना/पाल्पा, सुजल श्रेष्ठ/प्युठान, लीलाधर वली/घोराही)को सहयोगमा