• ८ वैशाख २०८१, शनिबार

बाढीबाट बाँकेमा नौ हजार घर परिवार प्रभावित

blog

बाढीबाट प्रभावित बाँकेको खजुरामा स्थानीयको उद्धार गर्दै ईलाका प्रहरी कार्यालय धनौलीको टोली । तस्बीर : गोविन्द शर्मा

गोविन्द शर्मा
बाँके, असोज २५ गते ।
 बाँकेमा लगातारको वर्षाका कारण राप्ती नदी आसपासका बस्ती सबैभन्दा प्रभावित भएका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार प्रारम्भिक तथ्याङ्क अनुसार बाढीबाट करिब नौ हजार घर परिवार प्रभावित भएका छन् । राप्ती नदीको छेउमा रहेका राप्ती–सोनारी गाउँपालिका, नरैनापुर गाउँपालिका र डुडुवा गाउँपालिकामा सबैभन्दा बढी क्षति भएको छ ।

बाढीबाट एक हजार ४३ घर परिवारका चार हजार ६३१ जना  विस्थापित भएका छन् । विस्थापित परिवारहरू सार्वजनिक भवन, सडक छेउ र आफन्तको घरमा आश्रय लिएर बसिरहेका छन् ।

बाढीले १८१ घरमा पूर्ण क्षति र ४९८ घरमा आंशिक क्षति पुगेको छ ।  विस्थापितका लागि करिब नौ सय अस्थायी आवास आवश्यक पर्ने प्रशासनले जनाएको छ ।

नेपालगञ्ज उप–महानगरपालिकासहित कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा अन्य तीन स्थानीय तहभन्दा क्षति न्यून भएको छ ।

“जिल्ला प्रशासन कार्यालय बाँकेले वडा कार्यालय र रेडक्रसको समन्वयमा  बाढीबाट भएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गरेको हो,” जिल्ला प्रशासन कार्यालयअन्तर्गत रहेको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकृत रुपन ज्ञवालीले भन्नुभयो, “वर्षा निरन्तर भइरहेकाले क्षतिको विवरण पनि दिन प्रतिदिन बढी भइरहेको छ ।”

प्रशासनले दिएको तथ्याङ्क अनुसार बाढीबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारीसँगै तत्कालै उद्धारमा जोड दिइएको छ । बाढीको समयमा करिब दुई हजार बढिको उद्धार गरिएको छ । पीडितहरूलाई वडा कार्यालय र रेडक्रसमार्फत तयारी खानाको व्यवस्थापन गरिएको छ ।