अग्रज कलाकारद्वय उमाशङ्कर साह र डा सीमा शर्माले संयुक्त रुपमा उद्घाटन गरेको सो प्रदर्शनीमा उडकटमा तयार पारिएका कलाकृति राखिएका छन् । नेपाली कलामा प्रिन्ट कलाको महत्व बढ्दै गइरहेको बताउँदै साह भन्नुहुन्छ, “प्रिन्टमेकिङको क्रेज बढ्नु नेपाली कला क्षेत्रका लागि सुखद् सङ्केत हो । हामी सबैको प्रयासले नेपालमा यस विधाप्रति युवा पुस्ताको रुचि बढ्दै गइरहेको छ । काठमाडौँ विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले पनि निकै राम्रो प्रिन्ट बनाएको पाएँ । यो नेपाली कलाका लागि राम्रो सङ्केत हो ।”
डा शर्माले नेपालमा प्रिन्टमेकिङ व्यवस्थित रुपमा अगाडि बढ्न थालेको बताउनुभयो । युवा कलाकार तथा सो विश्वविद्यालयका लेक्चरर कविराज लामा सही ढङ्गले प्रिन्ट विषयलाई अध्यापन गराउन सकिए यसमा नयाँ पुस्ताका कलाकारको रुचि अझै बढ्ने बताउनुहुन्छ । लामाले भन्नुभयो, “प्रिन्ट कलालाई विश्वविद्यालयमा व्यवस्थित रुपमा अध्यापन गराउन सकिए यसले सकारात्मक परिणाम ल्याउन सक्ने विश्वास हामीले लिएका छौँ ।”
प्रिन्टमा फरक किसिमका विषयमा काम गर्दा रमाइलो र बेग्लै अनुभव लिन सकेको प्रदर्शनीमा सहभागी जगदीश मोक्तानले बताउनुभयो । प्रदर्शनीले नयाँ पुस्ताका कलाकारमा प्रोत्साहनको काम गरेको अर्का सहभागी रुपेशमान सिंहले बताउनुभयो । काठमाडौँको धुलो र धुवाँलाई निकै कलात्मक रुपमा चित्रण गर्दै वातावरण विनाशले मानवीय जीवनलाई सङ्कटतिर धकेलिरहेको कलाकार टासी लामाले बताउनुभयो ।
प्रदर्शनीमा मनन्तुना ज्यापू, एलेन तुलाधर, अमिर महत, अमोघ पराजुली, एन्जिला मानन्धर, दिवस महर्जन, हिरोतो श्रेष्ठ, हितेश वैद्य, जोनसन लिम्बू, काजल आङ्देम्बे, केमेश महर्जन, मनिका मानन्धर, निकेश योञ्जन, पूजा दुवाल, रिया ढुङ्गेल, सविना प्रजापति, शुभ जोशी, सुदीमराज वज्राचार्य, सुमन राई, यशस्वी श्रेष्ठलगायत सहभागी रहेको ललितकला पत्रकार समाजका महासचिव देवेन्द्र थुम्केलीले जानकारी दिनुभयो । प्रदर्शनी आगामी शुक्रबारसम्म रहने बताइएको छ । रासस