वार्ताका नाममा समय कटाउने खेल भयो

Pradip_Gywaliबागलुङ, चैत २ गते । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले एकीकृत नेकपा माओवादी नेतृत्वको मोर्चाले वार्ताका नाममा समय कटाउने काम गरेको आरोप लगाउनुभएको छ । बागलुङ क्षेत्र नं १ मा यही चैत २८ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्तापछि एमाले बागलुङले आयोजना गरेको सभामा नेता ज्ञवालीले वार्ता र संवादको बहानामा संविधानसभाको बैठक लामो समयसम्म स्थगन गर्न नसकिने बताउँदै सहमतिमा सम्भव नभए प्रक्रियामै गएर भए पनि सङ्घीय लोकतान्त्रिक संविधान जारी गर्नुपर्ने बताउनुभयो ।

“राष्ट्रिय राजनीतिमा एकले अर्काको अस्तित्व स्वीकार नगर्ने गलत संस्कारको विकास भएको छ”–उहाँले भन्नुभयो–“हरेक पार्टीले आफ्ना पार्टीगत एजेन्डा जबर्जस्ती लाद्न खोज्दा देश नै अनिर्णयमा फसेको छ ।” सांविधानसभाबाट संविधान जारी हुनु हँुदैन भन्ने शक्ति र ढिला गरी जारी भए पनि हुन्छ भन्ने मानसिकताको विकास भएको शक्तिका कारण संविधान निर्माणको प्रक्रिया अवरुद्ध भएको विचार उहाँले व्यक्त गर्नुभयो ।

सबै जाति, भाषा, धर्म, भूगोल र वर्ग मिलेको सप्तरङ्गी सङ्घीय संविधानका पक्षमा आफूहरु रहेको उहाँले स्पष्ट गर्नुभयो । उहाँले हाल घरेलु तथा सामाजिक हिंसा बढिरहेकाले महिला अधिकार, समानता र सशक्तीकरणका लागि पनि पार्टी प्रतिबद्ध रहेको बताउनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना