• ७ वैशाख २०८१, शुक्रबार

बबईको बाढीले हस्तान्तरण नहुँदै बगायो जब्दी पुल

blog

बबई नदीमा आएको बाढीले बगाएको जब्दीघाट पुल । तस्बिर : मुकुन्द सुवेदी

मुकुन्द सुवेदी

बर्दिया, असोज २२ गते । केही दिनदेखि परेको अविरल वर्षापछि बबई नदीमा आएको बाढीले बर्दियाको सदरमुकाम गुलरिया र बारबर्दिया जोड्ने जब्दी पुल बगाएको छ । करिब दश वर्षअघि निर्माण सुरु भएको ४२५ मिटर लामाे सो पुल १६ करोड ६८ लाख रुपियाँ लागतमा २०७४ मा सम्पन्न भएको थियो । 

पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको बबई नदीको जब्दीघाटको पुल हस्तान्तरण नहुँदै पुलका तीन वटा स्पान भासिएका थिए । १७ वटा स्पानमध्ये अहिले पूर्वतर्फको एउटा स्ल्याब र स्पान बाढीले बगाएको छ ।

भासिएकै पुल भए पनि सर्वसाधारणहरु जोखिम मोलेरै सोही पुलबाट आउजाउ गर्ने गरेका थिए । सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने पुल बगाएपछि सर्वसाधरणहरु मर्कामा परेका छन् । सदरमुकाम गुलरियाबाट पूर्व–पश्चिम राजमार्ग जोड्ने सो पुल बगाएपछि गुलरिया र बारबर्दिया नगरपालिकाका हजारौ बासिन्दा प्रभावित बनेको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताउनुभयो । 

बारबर्दिया नगरपालिकाका पूर्व नगरप्रमुख दुर्गाबहादुर थारुले भासिएकै पुल भए पनि पैदल, मोटरसाइकल, साइकल र अटोलगायत हलुका सवारी साधन वारपार गर्न सहज भएको बताउँदै पुल नै बगाएपछि दुखका दिन शुरु भएको बताउनुभयो ।

पुल बगाएपछि आउजाउमा समस्या भएपछि स्थानीयले तत्काल बेलीब्रिज बनाएर सुचारु गर्नुपर्ने माग राखेका छन् । गुलरिया नगरपालिका ४ का वडाध्यक्ष सुरेश गौतमले पुलको पुनर्निर्माणको चर्चा गर्दागर्दै पुल बगाउनाले थप अन्याेल भएको बताउनुभयो । 

स्थानीय प्रशासनले पुल आसपासका क्षेत्रमा जान रोक लगाएको छ । बाढीले पुलमा थप क्षती पुग्नसक्ने भन्दै पुल छेउछाउ जान रोक लगाइएको स्थानीय प्रशासनले बताएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुलमा भ्रष्टाचार भएको भन्दै पाँच वर्षअघि विशेष अदालतमा मुद्दा दायर गरेको थियो । ठेकेदार कम्पनीसहित १३ जना कर्मचारीमाथि दोषी ठहर गरेको थियो ।