एमाओवादी र माओवादीबीच पार्टी एकताका लागि कार्यदल गठन

parchand and baudyaकाठमाडौँ, १ चैत । एकीकृत नेकपा(माओवादी) र नेकपा–माओवादीबीच पार्टी एकता प्रक्रिया अगाडि बढ्ने भएको छ ।

पार्टी एकताको विषयलाई लिएर दुई पार्टीबीच आज एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा वार्ता भएको थियो ।

एकता प्रक्रिया अगाडि बढाउन दुवै पार्टीका शीर्ष नेता सहभागी रहेको कार्यदलसमेत गठन गरिएको छ । कार्यदलमा नौ सदस्य छन् । कार्यदलमा एमाओवादी अध्यक्ष दाहाल, वरिष्ठ नेता डा बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव कृष्णबहादुर महरा, सचिव टोपबहादुर रायमाझी हुनुहुन्छ भने माओवादीका तर्फबाट अध्यक्ष मोहन वैद्य, उपाध्यक्ष सिपी गजुरेल, महासचिव रामबहादुर थापा र सचिव देवप्रसाद गुरुङ सदस्य रहनुभएको छ ।

पार्टी एकताका विषयमा केही सैद्धान्तिक विषयमा मतभेद रहेको भए पनि त्यसलाई क्रमशः हल गर्दै जाने सहमतिसमेत दुई पार्टीका बीचमा भएको बताइएको छ ।

वार्ता समिति नाम दिइएको कार्यदलले एकताका आधार तयार पार्ने, साङ्गठनिक र जिम्मेवारीलगायतका विषयमा सहमति जुटाउने जिम्मेवारी पाएको छ ।

मुलुकमा बढ्दै गएको प्रतिगमन, राष्ट्रघात र जनजीविका विषयलाई लिएर संयुक्त आन्दोलन उठाउनेसमेत दुई पक्षबीचको बैठकपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

दशवर्षे द्वन्द्वका विषयलाई समाधान गर्ने ध्येयका साथ गठन गरिएको सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक खोजबिन आयोगलगायतका विषयका सम्बन्धमा सरकारबाट भएका कदमहरु सकारात्मक नभएको भन्दै दुवै माओवादीले संयुक्त आन्दोलनका कार्यक्रम अगाडि बढाउने निर्णयसमेत गरेको विज्ञप्तिमा उल्लेख छ ।



नेकपा–माओवादीले शुक्रबारमात्रै पार्टी स्थायी समितिको बैठक बसी एकता प्रक्रियालाई सकारात्मक निष्कर्षमा पु¥याउने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा एकता वार्ता अगाडि बढेको दुवै माओवादीले बताएका छन् ।


माओवादीले एकताका लागि एमाओवादीसमक्ष पाँच बुँदे प्रस्ताव अगाडि सारेको थियो । सो प्रस्तावमा एमाओवादीले सकारात्मक प्रतिक्रिया दिएको थियो । माओवादी आन्दोलन खण्डित बन्दै गएको भन्दै दुवै माओवादीमा रहेका युवा नेताले एकता अभियान नै सुरु गरेका सन्दर्भमा ठोस संवाद सुरु भएको एमाओवादीका स्थायी समिति सदस्य जनार्दन शर्माको भनाइ छ ।

दुई पार्टी विभाजन भएको दुई वर्षपछि एकता प्रक्रिया सुरु हुन लागेको हो । माओवादी शान्ति प्रक्रियामा आएपछि माओवादीका नाममा पाँचवटा पार्टी गठन भएका छन् । केही समय अघि मोहन वैद्यले नेतृत्व गर्नुभएको माओवादीबाट सचिव नेत्रविक्रम चन्दको समूह अलग भएको थियो ।

दुई पार्टीको संयुक्त बैठकपछि एमाओवादी अध्यक्ष दाहाल र माओवादी अध्यक्ष वैद्यले संयुक्त विज्ञप्ति जारी गरी एकता प्रक्रियालाई सार्थक बनाउन सबैलाई आग्रह गर्नुभएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना