• १६ चैत २०८०, शुक्रबार

लुक्ला उडान सुरु भएसँगै रामेछापको मन्थली विमानस्थल व्यस्त

blog

नवराज श्रेष्ठ

रामेछाप, असोज १७ गते । रामेछापको सदरमुकाम मन्थलीबाट सोलुको लुक्लासम्मको हवाई सेवा सुरु भएसँगै मन्थली विमानस्थल व्यस्त बनेको छ । कोभिड–१९ र विमानस्थल मर्मतका कारण रोकिएको हवाई सेवा सुरु भएसँगै मन्थली विमानस्थलमा चाप बढेको हो । 

सोलु भ्रमणमा जाने पर्यटकहरूलाई यसअघि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नै उडाउने गरिएको थियो । त्यहाँ चाप बढेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले अक्टोबर १ देखि मन्थली विमानस्थलबाट उडान सुरु गरेको थियो ।  नागरिक उड्डयन प्राधिकरणले सोलु जाने जहाजलाई काठमाडौंबाट दैनिक एक उडानको मात्र अनुमति दिएको छ । बाँकी उडान मन्थलीबाट गर्नुपर्ने भएको छ । त्यसैले विमान कम्पनीहरुले मन्थलीबाट सोलु यात्री ओसार्न लागेका छन् । 

काठमाडौँबाट सोलु जाने यात्रीलाई मन्थलीसम्म गाडीमा ल्याउने र मन्थलीबाट सोलु लैजाने गरिएको छ । रामेछाप विमानस्थल, नागरिक उड्डयन कार्यालयका एटिसी केदार सत्यालका अनुसार काठमाडौंबाट सडकमार्ग हुँदै रामेछाप पुग्ने यात्रुलाई जहाजमा लुक्लातर्फ लैजाने र त्यसतर्फबाट रामेछाप ओर्लिने यात्रुलाई सडक मार्गबाट काठमाडौं पठाउने गरी प्रबन्ध मिलाइएको छ । 

काठमाडौँबाट मन्थलीको दूरी गाडीमा चार घण्टाको छ । सोलुमा दिउँसो मौसम खराब हुने भएकाले बिहान सबेरै यात्रीहरूलाई मन्थली ल्याएर एजेन्सीहरुले सोलु पठाउने गरेको छ । मन्थलीबाट तारा, सीता, समिट लगायतका हवाई उड्डयन कम्पनीले उडान भरिरहेका छन् ।