• ११ वैशाख २०८१, मङ्गलबार

आशीर्वादका चाङ

blog

दुर्योधनको दीर्घायुसँग आशीर्वाद साटिरहँदा स्वास्थ्य सेवा पाउन नसकेर अनाहकमा मृत्युवरण गर्नुपरेको छ  

आयुद्र्राेणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे!

ऐश्वर्य नहुष गतिश्च पवने मानञ्च दुर्योधने!

दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्ती सुते!

विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे!

माथिको हरफ हिन्दु नेपालीको महान् चाड बडा दशैँ (विजया दशमी)को दसौँ दिनबाट सुरु भई कोजाग्रत पूर्णिमाका दिनसम्म गाउँ–सहर, लेक–बेँसी, तराई–पहाड कहीँकतै रात–दिन बिनाकुनै हेक्का गुञ्जयमान हुन्छ। बडा दशैँमा आफन्त तथा मान्यजनबाट प्राप्त हुने यस प्रकारको आशीर्वादको भावनार्थ द्रोण पुत्र अश्वत्थामाको जस्तो दीर्घायु होस्, दशरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस्, भगवान् श्रीरामको जस्तो शत्रु नाश हुन्, नहुष राजाको जस्तो ऐश्वर्य प्राप्त होस्, पवन पुत्र हनुमानको जस्तो गतिशीलता होस्, दुर्योधनको जस्तो मान–सम्मान होस्, सूर्य पुत्र कर्णको जस्तो दानवीरता मिलोस्, कुन्ती पुत्र युधिष्ठिरको जस्तो सत्यता हासिल होस्, विदुरको जस्तो ज्ञान प्राप्त होस् तथा नारायण भगवान्को जस्तो कीर्ति प्राप्त होस् भन्ने हुन्छ। 

पौराणिक कालदेखि नै चलिआएको परम्पराको रक्षा गर्नु आजको आवश्यकता हो। कृषिप्रधान हाम्रो मुलुकमा अन्न बाली लगाइसकेर यस बीचमा राम्रो लगाउने, मिठो मसिनो खाने तथा आफन्त र मान्यजनसँग भेटघाट गर्ने एउटा गतिलो माध्यम पनि बन्ने गर्दछ दशैँ !

आश्विन शुक्ल प्रतिपदाबाट कोजाग्रत पूर्णिमासम्मको समय चक्रमा प्रतिपदाबाट क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्र घण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्रि, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै पवित्र चण्डी पाठ गरी दुर्गा माताका साथै त्रिशक्ति माता (महाकाली, महालक्ष्मी र महासरस्वती)को विशेष पूजा आराधनापछि अन्ततः आफ्ना मान्यजनको हातबाट रातो टीका र पहेँलो जमरासहित निधार रङ्गाई आशीर्वाद लिने बाटो खोल्छ। जसलाई कतिपयले विजया दशमी त कतिपयले बडा दशैँका नामले सम्बोधन गर्ने गर्छन्। 

स्वभावैले रातो रङले क्रान्ति र विजयको सङ्केत गर्ने मान्यता छ। महिषासुर राक्षसलाई बध (नष्ट) गरिएको, श्री रामले रावणमाथि विजय हासिल गरेको, दुर्गा मातालाई दैत्य–मुण्ड तथा शुम्भ–निशुम्भलाई बध गर्न सफलता प्राप्त भएको समयलाई आधार मानेर नै घटस्थापना अर्थात् जमरा राखेको दिनबाट विशेषतः दसौँ दिनमा टीका र आशीर्वाद थाप्ने गरिएको पौराणिक मान्यता पनि रहेको छ। जहाँसम्म दशैँलाई सम्बोधान गरिने प्रसङ्ग छ, एकथरीले अर्काको बध गरेर खुसियाली मनाएको पर्वलाई ‘विजया’ भनेर सम्बोधन गर्नुभन्दा ‘बडा दशैँ’ नामले सम्बोधन गर्नु उचित ठान्दछन् भने कुरीति र कलङ्कित मानसिकता नष्ट गरी शान्ति र सु–संस्कृति स्थापनार्थ सफलता हासिल गरेको कार्यसँग जोडिएको हुनाले ‘विजया दशमी’ भन्दा अनुपयुक्त नहुने अर्कोथरीको तर्क पनि छ। 

जेसुकै भए पनि पौराणिक कालदेखि नै चलिआएको परम्पराको रक्षा गर्नु आजको आवश्यकता हो। कृषिप्रधान हाम्रो मुलुकमा अन्न बाली लगाइसकेर यसबीचमा राम्रो लगाउने, मिठो मसिनो खाने तथा आफन्त र मान्यजनसँग भेटघाट गर्ने एउटा गतिलो माध्यम पनि बन्ने गर्छ, दशैँ! सबै कुरा ठीकै र राम्रै भइरहँदा आशीर्वादको कुराले केही पृथक् व्याहारिकतासँग सम्बन्ध राख्छ नै। किनकि मनैदेखि पस्किएका ती कोमल शब्दले व्यवहारमा त्यही किसिमले सामीप्यता राख्छन् नै भन्न पनि सकिन्न तर हिन्दु धर्मावलम्बीले कि त सम्पूर्ण आस्था र विश्वासमा अल्झिएका संस्कृतिलाई बहिष्कार गर्नुपर्छ नत्र आफूभन्दा अग्रजले खुला हृदयले दिएको आशीर्वादलाई कञ्चनताका साथ स्वीकार गर्नुपर्छ। भलै शिक्षा, वाणिज्य तथा मानविकी सङ्कायमा स्नातक तथा स्नातकोत्तर गर्दै गरेका हामी युवा वर्गलाई आशीर्वाद दिने क्रममा पाँच दशक अघिल्लो पुस्ताले (बाबु÷बाजे) डाक्टर, पाइलट भएस्! भनिदिँदा अशिक्षाको एक हद प्रकट भएको व्यवहार नै किन नहोस्! जब कि नेपालमा जो कोही पनि सहजै डाक्टर, पाइलट, इन्जिनियर हुनसक्ने अवस्था छैन। 

जसको मुख्य कारणका रूपमा समग्र शैक्षिक प्रणाली र युवाको भविष्यप्रति राज्यको उदासीनता तथा आर्थिक अवस्था साथमा गुणस्तरीय शिक्षामा कहिल्यै सबैको पहँच स्थापित हुनै नसक्ने गरी सिर्जित वर्गीय खाडल विराजमान छन्। राजनीतिक दलका पहुँचवालाका लागि देशमा लोकतन्त्र आएको होला तर निमुखा जनताका लागि यसले व्यावहारिक रूपमा तात्विवक भिन्नता ल्याउन सकेको छैन। यति मात्र नभएर आशीर्वादलाई राष्ट्र र हामी जनतासँग जोड्ने हो भने खण्ड खण्डमा केलाउन सक्ने अवस्था हामीमाझ विद्यमान छ।

हामी विकृत आधुनिकतासँग निकै परिचित छौँ तर विश्वको वास्तविक आधुनिकतासँग र विकासको गतिसँग भने टाढा छौँ। अश्वत्थामाको दीर्घायुको कुरा गरिरहँदा हामीमाझ अकालमा दिनहुँ जीवन मृत्युसामु आत्मसमर्पण गर्ने ठूलो सङ्ख्याको कारणका रूपमा जोखिमपूर्ण वैदेशिक रोजगार यात्रा, देशभित्रै जोखिमपूर्ण सडक यातायातको अवस्था, जोखिमपूर्ण हवाई यात्रा आदिले जिस्काइरहेको छ। दशरथ राजाको श्रीसम्पत्ति एउटा भावना भयो तर हाम्रो मुलुकमा बिहान बेलुका हातमुख जोर्ने र आधारभूत आवश्यकता पूरा गर्न असक्षमले के दशैँमा आशीर्वाद नलिने ? श्री रामको जस्तो शत्रु नाश होस् भनिरहँदा दलीय, धार्मिक, वर्गीय, जातीय र क्षेत्रीय रूपमा हामी विभाजित हुने अवस्थाप्रति अग्रसर छौँ।

त्यस्तै नहुष राजाको ऐश्वर्यता, हनुमानको गतिशीलता, दुर्योधनको मान, कर्णको दानवीरता, बलरामको बलको कुरा गरिरहँदा युधिष्ठिरको जस्तो सत्यता त निकै विरानो हुन आउँछ। विदुरको जस्तो ज्ञान र नारायणको जस्तो कीर्ति एक आफँैमा समयसँग सङ्घर्षशील रहन्छ। भन्न खोजिएको यो होइन कि आशीर्वाद गलत भयो! तर कम्तीमा यस प्रकारका भावना निश्चित चाडपर्वमा मात्र नआएर सदैव गतिशील भने रहनुपर्छ। दैवी कालका विभिन्न देवताको गुणसँग तुलना गरेर त कुनै अर्थ रहने छैन तथापि इमानदारी, सत्यता, दानवीरता, गतिशीलता, ज्ञानता आदिको संयोजनले सम्पूर्ण विषयलाई एकीकृत गरी नौलो किसिमको आयाम भने पक्कै सिर्जना गर्छ। 

एउटा व्यक्ति परिवारभन्दा अलग रहन सक्दैन, परिवार समाजभित्र रहन्छ र राष्ट्रको एक अङ्गका रूपमा समाजको चरितार्थ प्रकट भइरहेको हुन्छ। अन्ततः राष्ट्रका जनताको भविष्य र सम्भावना राज्य सञ्चालनको व्यवस्थासँग जोडिन्छ। आज दुर्योधनको दीर्घायुसँग आशीर्वाद साटिरहँदा अकालमा सामान्य स्वास्थ्य सेवा प्राप्त गर्न नसकेर मृत्यु अनावरण गर्नेहरूको सङ्ख्या दैनिक दोहोरो सङ्ख्यामा बढिरहेको छ। कारणका रूपमा जुनै हिसाबले पनि राज्य र यसका अङ्ग जोडिएका  छन्। चाहे ती नीति निर्माणका सिलसिलामा भएका कमजोरी हुन् वा कार्यान्वयनका पक्षमा भएका लापरबाही नै किन नहुन् ? 

आआफ्नो धर्म र परम्परालाई अन्य कुरा मान्ने हो भने के राज्यसत्ता सञ्चालनका हिमायतीमध्ये कोही पनि हिन्दु थिएनन् त ? के उनीहरूले युधिष्ठिर जस्तो सत्यवादिता र विदुर जस्तो ज्ञानी हुनु भन्ने आशीर्वाद आर्जन गरेका थिएनन् त ? नत्र नेपाल किन विश्वको आधुनिकतासँग पराजित भइरहेको छ ?  यसर्थ आशीर्वादका रूपमा खास समयमा प्राप्त गरिने यस प्रकारका कर्णप्रिय शब्द प्रवाह अब सधैँ आशीर्वादमा मात्र सीमित नहुन्। व्याहारिकतासँग कम्तीमा जोडिनसम्म सफल रहून्। सामान्य मानव जनजीवनलाई समेत अस्तव्यस्त बनाएको विश्वव्यापी महामारी (कोभिड–१९)को प्रकोपबाट विश्व जगत् बिस्तारै थिग्रिँदै गएको छ। नेपालले अब विश्व अर्थतन्त्रलाई समेत सचेत तुल्याएको श्रीलङ्काका पथबाट सचेत रहँदै आर्थिक सुस्तताको चुनौती मोल्ने सुदृढ अवस्था निर्माण होस्, राष्ट्रमा सुख, शान्ति र समृद्धिको गतिशील ढोका खुलोस्! बडा दशैँको सबैलाई शुभकामना!