• ८ वैशाख २०८१, शनिबार

ललितपुरले बिरामीलाई औषधोपचार खर्च दिने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १५ गते । ललितपुर महानगरपालिकाले मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधोपचार खर्च उपलब्ध गराउने भएको छ । महानगरपालिकाको समाज कल्याण महाशाखाअन्तर्गतको जनस्वास्थ्य शाखाले त्यस्तो खर्च आवश्यक पर्नेहरूसँग निवेदन माग गरेको छ । 

सरकारले मिर्गौला प्रत्यारोपण गरेका, डायलासिस गराइरहेका, क्यान्सर रोग लागेका र मेरुदण्ड पक्षघात भएका बिरामीको औषधि उपचारका लागि रकम उपलब्ध गराउनेसम्बन्धी कार्यविधि २०७८ को कार्यान्वयन गर्न महानगरपालिकाबाट रकम उपलब्ध गराउन लागेको जनस्वास्थ्य शाखाले जनाएको छ । 

ललितपुर महानगरपालिकाभित्र स्थायी बसोबास गर्ने, औषधोपचार गर्न नसक्ने विपन्न व्यक्ति, गरिब विपन्न भएको परिचयपत्र प्राप्त व्यक्तिलाई मासिक पाँच हजार रुपियाँका दरले प्रत्येक तीन महिनामा खर्च उपलब्ध गराइने महानगरपालिकाले जनाएको छ । यस्तो रकम लाभग्राहीको बैङ्क खातामा जम्मा गरिने महाशाखाले जनाएको छ । 

यस्तो सुविधा सरकारको पूर्ण वा आंशिक स्वामित्व भएको संस्था वा सङ्गठनबाट रोजगारी÷निवृत्तिभरण वा विदेशी सरकारबाट रोजगारी÷पेन्सन प्राप्त गरिरहेका व्यक्तिलाई भने उपलब्ध नहुने महानगरपालिकाले स्पष्ट पारेको छ । 

त्यस्तै ज्येष्ठ नागरिक भत्ता, एकल नागरिक भत्ता, दलित भत्ता, पिछडिएकाहरूको भत्ता, अपाङ्गता भत्तालगायत सरकारबाट उपलब्ध सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका व्यक्तिले पनि यस कार्यविधिअनुसार उपलब्ध गराइने कुनै एक भत्ता÷मासिक वृत्ति मात्र प्राप्त गर्न सक्नेछन् । यसैगरी एकै व्यक्तिलाई एकभन्दा बढी रोग लागेको भएमा पनि एक रोगका लागि मात्र यस्तो सुविधा उपलब्ध गराइने महानगरले स्पष्ट पारेको छ । 

यसैबीच महानगरपालिकाले ७६ वर्ष पूरा गरेका ज्येष्ठ नागरिकलाई सम्मान स्वरूप वर्षको १० हजार रुपियाँ एकमुस्ट प्रदान गर्ने भएको छ । यसअघि महानगरपालिकाले वर्षको पाँच हजार रुपियाँ प्रदान गर्दै आएकोमा यस वर्षदेखि बढाएर १० हजार रुपियाँ पु¥याएको महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बताउनुभयो । यसका लागि करिब पाँच करोड २० लाख रुपियाँ खर्च लाग्ने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो ।