• ७ वैशाख २०८१, शुक्रबार

म्याद गुज्रेका सामान र मासु बिक्री

blog

बजार अनुगमन गर्दै अनुगमन टोली । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगञ्ज, असोज १४ गते । दशैं नजिकिएका बेला नेपालगञ्ज बजारमा म्याद गुज्रेका सामान र मापदण्डपिवरित मासु खुला रुपमा बिक्रि भएको भेटिएको छ । चाडपर्व लक्षित बजार अनुगमनका क्रममा म्याद गुज्रेका सामान विक्री गरेको पाइएको हो । 

टोलीले गरेको अनुगमनले बजारमा व्यापक अखाद्य वस्तु भेटिनुका साथै अवैद्य रुपले व्यापार समेत गरिरहेको फेला परेको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय नेपालगञ्जले जनाएको छ । 

अनुगमन टोलीले अनुगमन गर्ने क्रममा सबैभन्दा बढी म्याद गुज्रेका वस्तुहरु बेचिरहेको फेला पारेको छ । मार्टहरुमै म्याद नाघेका र अनुमति नलिएका वस्तुहरु बिक्री गरेको फेला परेको छ । 

अनुगमन टोलीमा रहनुभएका उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य बसन्त गौतमले त्यस्ता बस्तु बेच्ने तथा कानुनविपरीत तरिकाले व्यापार गर्नेलाई तत्काल कारबाही गरिनुका साथै आगामी दिनमा गल्ती नदोहो¥याउन निर्देशन दिइएको बताउनुभयो ।

उहाँका अनुसार नेपालगञ्जस्थित राही मार्टमा ८८० रुपियाँ बराबरको उपभोग्य मिति समाप्त भएका चाउचाउ बरामद गरिएको छ । मासु पसलहरु मापदण्डअनुसार सञ्चालन नभएको र मासु ढुवानीको मापदण्डविपरीत प्याकिङ गर्ने गरिएको फेला परेको छ ।

बजार अनुगमन टोलीले नेपालगन्ज वडा २ धम्बोझी नजिकैको ब्राइट किराना पसल पसलबाट चार हजार ६ सय १२ रुपियाँ बराबरका म्याद गुज्रेका अखाद्य वस्तु बरामद गरी नष्ट गरेको छ । उपभोक्ता संरक्षण ऐनअनुसार तत्काल ५० हजार रुपियाँ जरिवाना पनि गरेको छ ।

यसैगरी राँझास्थित सिद्धबाबा पोल्टी एण्ड फीड सप्लायर्समा मदिराको कार्टुनमा मासु प्याक गरेर हुम्ला पठाउन तयार पारिएको अवस्थामा फेला परेको छ । आठ दिनअघि किनिएको सो मासु नेपालगञ्जमा बिक्री नभएपछि पसल सञ्चालिकाले हुम्ला पठाउन लागेको र पसल नवीकरण पनि नगरेको खुल्न आएपछि सो पसल प्रक्रिया पूरा नगरुन्जेलसम्म बन्द गराइएको छ । 

सिद्धबाबाकै छेउमा रहेको न्यू भेरी मिट एण्ड दाना सप्लायर्सले पनि नवीकरण नगरेको पाइएपछि सो पसललाई पनि प्रक्रिया पूरा नगरुन्जेलसम्मका लागि बन्द गराइएको छ । अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भेटेरीनरी अस्पताल तथा विज्ञ केन्द्र, नेपालगञ्ज उपमहानगरपालिका एवम् उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि तथा पत्रकारको सहभागिता थियो ।