• ८ वैशाख २०८१, शनिबार

नयाँ संसद् भवनको निर्माण कार्य निर्धारित समयमै सक्न अध्यक्ष तिमिल्सिनाको निर्देशन

blog

काठमाडौं, असोज १४ गते । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्माणाधीन सङ्घीय संसद् भवन निर्माणको काम निर्धारित समयमै सक्न निर्देशन दिनुभएको छ ।

शुक्रबार सिंहदरबारस्थित निर्माणाधीन नयाँ सङ्घीय संसद् भवनको अवलोकन गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको हो ।

अध्यक्ष तिमिल्सिनाले संसद् भवन सँगसँगै अन्य संरचनाको निर्माण कार्य पनि सँगै अघि बढाउन आग्रह गर्नुभयो । समयमै काम सक्नका लागि आवश्यक जनशक्ति थप गर्नुपर्ने भएमा थप गरेर भए पनि काम अघि बढाउन उहाँले निर्देशन दिनुभयो ।


त्यस्तै, भवन निर्माणको दोस्रो चरणको कामका लागि टेन्डर आह्वान पनि तुरुन्त गर्नुपर्ने उहाँले बताउनुभयो । अध्यक्ष तिमिल्सिनाले ढिलोमा आगामी संसदको हिउँदे अधिवेशन नयाँ भवनबाट चलाउने गरी काम अगाडि बढाउन आग्रह गर्नुभयो ।

‘‘सक्दो छिटो अब फेरि ६ महिनापछि थप्नुनपर्ने गरी यो काम सक्नेतिर लाग्नुस् । बरु त्यसमा कति म्यानपावर थप्नुपर्छ, के–के थप्नुपर्ने हो त्यो कुरामा जोड गर्न लगाउनुस् । सेकेण्ड फेजको लागि छिटो गरिकन टेन्डरमा लानुप¥यो । समय बढ्दा लागत पनि बढ्छ अनि उतातिर चाहिँ भाडा पनि तिरिरहनुपर्ने ।,’’ अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, ‘‘संसदीय दलका कार्यालयहरु, समितिका कार्यालयहरुको भित्रको बाँकी रहे पनि दुईवटा हाउसलाई अलि जोड गरेर गर्नु । हाउस मात्रै चल्यो भनेपनि हामी बानेश्वर जानु परेन नि । त्यो छिटो सुरु होस् । अब एक वर्षपछि हाउस यहाँ चलाउने गरी लाग्नुस् ।’’

उहाँले कुनै पनि देशको विकासको गति निर्माण आयोजनाको काममा मापन हुने भन्दै विकास निर्माणको काममा तीव्रता दिनुपर्ने बताउनुभयो । सरकारको तर्फबाट बजेटको सुनिश्चितता हुनुपर्ने र अन्य सम्बन्धित निकायले पनि आ–आफ्नो जिम्मेवारी पूरा गर्दै समयमै निर्माण कार्य सम्पन्न हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, ‘‘चैत मसान्तसम्ममा मेरो अहिलेको आँखाले त सक्किइहाल्छ जस्तो लाग्दैन । तर, सक्नुपर्छ । अब २४ घण्टा तीन फेजमा काम गरेर भए पनि यो काम अगाडि बढाउनुस् । सबै ठाउँमा काम लगाउनुपर्‍यो । निर्माण आयोजना समयमा सक्नु विकासको सूचक हो । देशका कुनै पनि आयोजना कति छिटो सक्यो, कसरी भइराखेको छ भन्ने कुरा देशको विकासको गति के छ भन्ने बुझ्ने हो ।’’


उहाँले थप्दै भन्नुभयो, ‘‘सिंहदरबारभित्रको आयोजना त यति पछि पर्छ भने बाहिरका के होला भनेर अनुमान गर्न सकिन्छ नि । अनि हामीले देशको प्रगति, समृद्धिको लक्ष्य कसरी पूरा गर्न सक्छौँ ? त्यसकारण सबै पक्ष गम्भीर हुनुपर्‍यो । सरकारको तर्फबाट बजेट पर्याप्तता र सुनिश्चितता हुनुप¥यो । प्राविधिक हिसाबले गर्नुपर्ने जे–जे कामहरु छ, त्यो समयमा सम्पन्न गरेर मिनेट पनि ढिला नहुने गरेर गर्नुपर्‍यो ।’’

कुल पाँच अर्ब दुई करोड रुपियाँमा वि.सं.२०७६ असोज १६ गते सङ्घीय संसद् भवन निर्माण कार्यको सम्झौता भएको थियो । तीन वर्षको लागि सम्झौता भएर २०७९ असोजमा सक्नुपर्ने भए पनि कोभिडका कारण ६ महिना समय थप भएको हो । निर्माण कार्य २०७९ चैत ३० गतेसम्म सम्पन्न गरिसक्नुपर्ने भएको छ ।