• ६ चैत २०८०, मङ्गलबार

दशैँ बिदामा आयल निगमका पेट्रोल पम्प खुला हुने

blog

काठमाडौं, असोज १४ गते । नेपाल आयल निगमले दशैँ बिदाका समयमा आफ्ना सबै पेट्रोल पम्पहरु खुला रहने जनाएको छ । निगमले एक सूचना प्रकाशित गरी दशैँका समयमा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि दशैँको बिदामा १३ डिपोहरुसमेत खुला राख्ने जनाएको छ ।

दशैँमा सार्वजनिक बिदा हुने र सार्वजनिक यातायातको चाप बढ्ने भएकाले पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि पम्पहरु खुला राख्ने निगमले निर्णय गरेको निगमका निर्देशक वीरेन्द्र गोइतले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश १ को विराटनगर र मधेश प्रदेशको अमलेखगञ्जमा असोज १६, २० र २१ गते डिपो खुला हुने छ भने बागमती प्रदेशको थानकोट र गण्डकीको पोखरामा असोज १५, १६, १८ र २१ गते खुला रहनेछन् ।

यसैगरी, लुम्बिनी प्रदेशको भैरहवामा असोज १५, १६, १७, २१ र २२ गते र कर्णली प्रदेशको सुर्खेतमा असोज १६ र २१ गते डिपोहरु खुला हुनेछन् । उता सुदूरपश्चिम प्रदेशको धनगढीमा असोज १६, १७ र २१ गते तथा शाखा कार्यालय चारआलीमा १६ र २१ गते डिपोहरु बिदाको दिनमा खुला रहनेछन् । यसैगरी, नेपालगञ्ज, धनुषा, वीरगञ्ज, दाङ र दिपायलमा रहेको निगमका डिपोहरु पनि २१ गतेसम्म खुला हुने बताइएको छ ।

बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन सार्वजनिक बिदामा पम्पहरु २४ घण्टा खुल्ला हुने र त्यसका लागि १३ वटा डिपोहरु विभिन्न बिदाको दिनमा खुल्ला राखिने निगमले जनाएको छ । निगमका अनुसार हाल दैनिक रुपमा पेट्रोल तीन हजार पाँच सय किलोलिटर र डिजल पाँच हजार ६ सय किलोलिटर खपत भइरहेको छ ।