• ७ वैशाख २०८१, शुक्रबार

विवाह र जन्मदर्ताका लागि हिंसा खेप्दै हसिना

blog

लहान समाचारदाता

लहान, असोज १४ गते । विवाह भएपछि विवाहदर्ता र सन्तान जन्मेपछि जन्मदर्ता गराइदिन माग गर्नु हसिनाका लागि कुनै अपराध थिएन । यही दुईवटा मागका कारण वर्षांैदेखि सासू र पतिबाट हिंसा सहन बाध्य हुनुहुन्छ लहान–५ की २५ वर्षीया हसिना खातुन । 

“विवाह भएपछि एक वर्षसम्म पति जाकिर र घरपरिवार सबैले राम्रै व्यवहार गरे । चार वर्षअघि छोरा आहिलको जन्म भयो । अहिले विद्यालयमा भर्ना गराउन जन्मदर्ता चाहियो । जन्मदर्ताका लागि विवाहदर्ता आवश्यक प-यो,” उहाँले भन्नुभयो । 

“जन्मदर्ता र विवाहदर्ताका लागि आग्रह गर्दा पति र सासूले यातना दिन थालेको गुनासो उहाँको छ । पारिवारिक यातनासँगै मुस्लिम धर्म परम्पराअनुसार तलाकसमेत दिएर सम्बन्ध विच्छेदको अवस्थामा पु-याइदिएको छ, अब कति हिंसा सहनु ?,” हसिनाले पत्रकारहरूसँग पीडा पोख्नुभयो ।

जनकपुरधाम उपमहानगरपालिका–१ मा तरकारी बेचेर गुजारा गरिरहेकी हसिनाकी आमा तातैर खातुनले भन्नुभयो, “छोरीलाई सधैँ कुटपिट गरेर घरबाट निकाल्ने गरेपछि समाजमा कैयौँ पटक न्यायका लागि याचना गर्दा विवाहमा खर्च भएको छ लाख ७५ हजारको कागज बनाइदिए ।”

दुई महिनामा कागजअनुसारको रकम भुक्तानी र जन्मदर्ता बनाइदिने समाजले निर्णय गरेको थियो । हसिना खातुनलाई न रकम, न जन्मदार्ता बनाइदिएर घर न घाटको अवस्थामा पु-याइएको छ ।

“तलाक नदिइसकेको अवस्थामा न घरमा बस्न दिन्छ, न समाजले गरेको निर्णयअनुसार दाइजो पनि फिर्ता गर्न मानिरहेको छ । म अब के गरूँ, छोरीको न्यायका लागि चारैतिर भौँतारिरहेको छु,” आमा तातैरले थप्नुभयो ।

“हसिनाले छोरा जन्माएकै समयदेखि निकै सङ्घर्ष र पीडा खेपिरहनुपरेको छ । विवाहदर्ता र जन्मदर्ता बनाइदिन समाजले विवाहमा भएको खर्च तिर्न भन्दा बढी पीडा दिइरहेको छ,” हसिनाकी काकी सासूआमा गुल्सन खातुनले भन्नुभयो, “हसिनाको राम्रो व्यवहारका कारण सिङ्गै पर्ती टोलका मुस्लिम समुदायले अन्याय भयो भनेर साथ दिइरहेको छ । समाजकै सहारामा हसिना टिकेको भए पनि गुडिया खातुनको सहयोगमा हसिनाकी सासू र पतिले यत्रो हिंसा गरिरहेका छन् ।”

लहान नगरपालिका–५ स्थित मुस्लिमहरूको ठूलो बस्तीमा महिला हिंसाका घटना दर्जनौँ भएकाले अधिकारकर्मी, प्रहरी प्रशासन र जनप्रतिनिधिहरू गम्भीर हुनुपर्ने स्थानीय मो. इसराइल सिद्धिकीले बताउनुभयो । स्थानीयवासीले महिला हिंसाका घटना हुनुको प्रमुख कारण युवकले लागूऔषध सेवन गर्नु र स्थानीय राजनीतिक संरक्षण नै रहेको बताएका छन् । लहान नगरपालिकाको ४, ५, ६, ८ नम्बर वडाहरूमा लागूऔषधमा संलग्न युवाको सङ्ख्या अत्यधिक हुनु महिला हिंसाको प्रमुख कारण बनिरहेको छ ।