• १५ चैत २०८०, बिहिबार

नेपालमा आर्थिक क्रान्ति आवश्यक : सिबिफिनका अध्यक्ष गोल्यान

blog

बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) का अध्यक्ष पवनकुमार गोल्यान । फाइल तस्बिर

काठमाडौं, असोज १३ गते । बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) का अध्यक्ष पवनकुमार गोल्यानले नेपालमा अब आर्थिक क्रान्ति आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार सङ्घ नाफिजको वार्षिक जर्नल अर्थचित्र विमोचन तथा आर्थिक पत्रकार पुरस्कार समारोहलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष गोल्यानले सो कुरा बताउनुभएको हो ।

नेपालमा विगतमा सबै खालका क्रान्ति भएको भन्दै अब कृषि क्रान्तिमार्फत आर्थिक क्रान्तिको आवश्यक भएको उहाँको भनाइ छ । अध्यक्ष गोल्यानले नेपालमा विभिन्न क्रान्तिमार्फत गणतन्त्र ल्याए पनि आर्थिक क्रान्ति हुन नसकेको दाबी गर्नुभयो ।

आर्थिक विकास गर्ने विषयमा पनि नेपालमा राजनीति हुने भएको भन्दै कृषि, पर्यटनमार्फत क्रान्तिका भाषण गरेर नेताहरुले भोटको राजनीति गरेको उहाँको धारणा छ । उहाँले अब भोटको राजनीति नभएर किसानहरुलाई कृषि उत्पादनमा जोड दिएर आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताउनुभयो । उहाँले राजनीतिदेखि आम जनतालाई आर्थिक क्रान्तिसँग जोड्ने दायित्व मिडियाको रहेको बताउनुभयो । स्वदेशी उत्पादन र त्यसको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने ठूलो आवश्यकता छ ।

उहाँले भन्नुभयो, ‘‘नेपालमा अबको आवश्यकता आर्थिक क्रान्ति हो । नेपालमा सबै किसिमका क्रान्तिहरु गरिए । क्रान्ति गर्दै मुलुकमा गणतन्त्रसमेत आयो तर आर्थिक क्रान्ति भएन । मुलुकका दुईतिहाई किसान जनताका लागि आर्थिक क्रान्ति आवश्यक छ तर हामी कुरा मात्रै गर्छौं काम गर्दैनौं । त्यसमा पनि राजनीति गर्छौं । नेताहरुले किसानको कुरा गरेर भोटको राजनीति गर्नुहुन्छ । सबैले त्यही गरिरहेका छाैं । अब सबै जनतालाई मुलुक समृद्ध बनाउन आर्थिक क्रान्ति गर्नेतर्फ सचेत गराउनुपर्छ ।’’

यसैगरी, कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले तलब वितरण गर्नका लागि समेत बैंकबाट पैसा नपाएको गुनासो गर्नुभयो । उहाँले आफूले कर्मचारीको तलब खुवाउनका लागि ४० लाख रुपियाँ निकाल्न खोज्दा उपत्यकाका तीन वटै जिल्लामा रहेका बैंकमा पैसा नपाएको दाबी गर्नुभयो । अध्यक्ष मल्लले बजारमा तरलताको चरम अभाव भएको अवस्थामा बैंकहरुले ब्याजदर बढेको भन्दै ब्याजदर वृद्धिले उद्योग व्यवसाय गर्ने वातावरण नभएको बताउनुभयो । अध्यक्ष मल्लले पछिल्लो समय ब्याजदरमा भएको वृद्धिले निजी क्षेत्र मर्कामा परेको भन्दै सरकारले ब्याजदर वृद्धिलाई तत्काल व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।

उहाँले मुलुकलाई आत्मनिर्भर बनाउनका लागि निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको जानकारी दिनुभयो । मल्लले सरकारले निजी क्षेत्रमैत्री नीति नियमहरु बनाउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले बैंकिङ प्रणालीमा देखिएको असहज अवस्थालाई थप सहज गराउन राष्ट्रसेवकसँग माग गर्नुभयो । बुधबार नाफिजले शारदा–ढुण्डीराज भट्टराई नाफिज आर्थिक पत्रकारिता पुरस्कार एक जनालाई र सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार दुई जनालाई प्रदान गरेको छ ।