• ६ वैशाख २०८१, बिहिबार

स्याउ बोकेको ट्रक जुम्लामा दुर्घटना, एकको मृत्यु

blog

हिमा गाउँपालिका –१ आचार्यलिहीमा दुर्घटना भएको ट्रक । तस्बिर : नेत्र शाही

नेत्र शाही 

जुम्ला, असोज १३ गते । जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना भएको छ । हिमा गाउँपालिका –१ आचार्य लिहीमा स्याउ बाेकेको ट्रक बुधबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार बागमती प्रदेश, ०३००१ ख २१६४ नम्बरको ट्रक दुर्घटना हुँदा मकवानपुर निवासी चालक अविनाश लामाको निधन भएको छ । सो दुर्घटनामा सहचालक मकवानपुरका हरी न्यौपाने घाइते हुनु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार घाइतेको राति नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारका लागि ल्याइएको र थप उपचारका लागि रिफर गरिएको छ । घाइते न्यौपानेको टाउकोमा चोट लागेको छ ।  

हिमा गाउँपालिका –१ का वडाध्यक्ष रतनबहादुर शाहीका अनुसार ट्रक दुर्घटना हिमा गाउँपालिका –१ को बझाङे खोलामा भएको थियो । दुर्घटना पछि घाइतेलाई हिमा गाउँपालिकाको एम्बुलेन्समा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि ल्याइएको छ । 


जुम्ला कनकासुन्दरी गाउँपालिका गुठिज्यूलाबाट स्याउ लिएर सुर्खेत जाँदैगरेको ट्रक राति दुर्घटनाको खबर पाएपछि हिमा गाउँपालिका –१ मा रहेको प्रहरी चौकीले उद्धार गरेको थियो । प्रहरी चौकी बड्कीका प्रहरी नायव निरीक्षक रामप्रसाद चौलागाई नेतृत्वको टोली घाइतेलाई तत्काल कर्णाली प्रतिष्ठानमा रिफर गरेको जनाएको छ । 

नाग्म गमगढी राजमार्ग अन्तर्गत हिमा गाउँपालिकाको सो क्षेत्रमा हरेक वर्ष दुर्घटना बढ्दै गएको छ । यसअघि २ वटा दुर्घटना सो क्षेत्रमा भएको थियो । सो ट्रकमा सात सय कार्टुन स्याउ रहेको व्यापारीहरूले जनाएका छन् ।