• ७ वैशाख २०८१, शुक्रबार

पहिचानको आधारमा प्रदेश नामकरण गर्न फोनिजको सुझाव

blog

फोनिज प्रदेश १ को प्रादेशिक भेलाका अतिथि गण । तस्बिर : चन्द्र पन्दाक

ताप्लेजुङ, असोज १३ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) प्रदेश १ को तेस्रो प्रादेशिक भेला ताप्लेजुङमा सम्पन्न भएको छ । हाल भइरहेका पहिचान र अस्तित्वका मुद्दालाई सफल बनाउन सहयोगी भूमिका निर्वाह गर्नेसहितका १२ बुँदे ताप्लेजुङ घोषणापत्र जारी गर्दै प्रादेशिक भेला सदरमुकाम फुङ्लिङमा बुधबार सम्पन्न भएको हो । सो अवसरमा फोनिज भेलाले प्रदेश १ को नामकरण गर्दा पहिचान र ऐतिहासिक महत्वका आधारमा गर्न सुझाव दिएको छ । 

भेलाद्वारा जारी घोषणापत्रमा पहिचान र ऐतिहासिकताको आधारमा प्रदेश १ को नाम किराँत लिम्बुवान नामाकरण गर्नुपर्ने, विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलमाथि हुँदै आएको अतिक्रमणको अन्त्य हुनुपर्ने, ताप्लेजुङको पर्यटन प्रवर्धनमा जोड दिनुपर्ने लगायतका विषय समावेश गरिएको छ ।  

फोनिज सङ्घीय समितिको तीन महिने सङ्गठन सुदृढीकरण अभियानअन्तर्गत मङ्गलबार र बुधबार दुई दिन सञ्चालन भएको प्रादेशिक भेलामा फोनिज १ नम्बर प्रदेश समितिले गर्दै आएको साङ्गठनिक तथा आर्थिक गतिविधिबारे छलफल भएको थियो । भेलाको बन्द सत्रमा प्रदेश समितिका अध्यक्ष सन्तबीर लामाद्वारा प्रस्तुत साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष प्रेम देवान याक्खाले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरिएको थियो । 

यस्तै भेलामा प्रदेश १ का विभिन्न जिल्ला शाखाका अध्यक्षहरुले आ–आफ्नो प्रतिवेदन पेस गर्नुभएको फोनिज प्रदेश समितिकी उपाध्यक्ष अप्सरा समालमगरले जानकारी दिनुभयो । प्रादेशिक भेलाको उद्घाटन मङ्गलबार प्रदेश १ का उद्योग, श्रम तथा रोजगार मन्त्री प्रतापप्रकाश हाङ्गामले गर्नुभएको थियो । उद्घाटन समारोहमा जिल्लास्थित स्थानीय तहका पदाधिकारी, सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति  थियो । उद्घाटनमा लिम्बू, गुरुङ (तमू), राई र शेर्पा समुदायका कलाकारले आफ्नो सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए । 

यस्तै फोनिज सङ्घीय समितिका अध्यक्ष गजुरधन राई, उपाध्यक्षद्वय अमरध्वोज लामा, कमन देवान, लेखा समिति संयोजक चन्द्र पन्दाक (प्रयास) लगायतका पदाधिकारी तथा सदस्यको उपस्थितिमा प्रादेशिक भेला सम्पन्न गरिएको प्रदेश समितिका सचिव सन्देश सुब्बाले जानकारी दिनुभयो । 

यता आदिवासी जनजाति पत्रकारहरुको छाता सङ्गठन फोनिज १ नम्बर प्रदेशको ऐतिहासिक प्रादेशिक भेला ताप्लेजुङ शाखाको व्यवस्थापनमा सम्पन्न गर्ने अवसर प्राप्त भएकाले संस्थाको सुदृढीकरण साथै जिल्लाको पर्यटन प्रवर्धनमा टेवा पुग्ने विश्वास लिएको शाखा अध्यक्ष दिनेश लिङ्खिमले बताउनुभयो ।

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।