• १६ चैत २०८०, शुक्रबार

सप्तकोसीमा जेटबोट सञ्चालनमा

blog

इनरुवा,  असोज  १३  गते । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराघाटदेखि कोप्चेसम्म जेटबोट सञ्चालनमा आएको छ । 

सप्तकोसी नदीमा हिउँदको समयमा बराहक्षेत्र मरिन एन्ड रिसोर्ट, सप्तकोसी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टेसन, नेपाल रिभर ट्रान्सपोर्ट प्रालि, बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिसहितले तीन लामो दूरीका र चार छोटो दूरीका जेटबोट सञ्चालनमा ल्याएको बराहक्षेत्र मरिन एन्ड रिसोर्ट जेट बोटका सञ्चालक नवीन पौडेलले जानकारी दिनुभयो । 

हिउँदको बेला चाडपर्वमा स्थानीयवासीलाई आवतजावत गर्नका लागि सहज होस् भने उद्देश्यले जेटबोट सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । सप्तकोसी किनारस्थित बराहक्षेत्र मन्दिरबाट जेटबोट सञ्चालन भएको पौडेलले जानकारी दिनुभयो । दसैँ तिहार लक्षित गरी यात्रुलाई सहजताका साथ आफ्नो गन्तव्यस्थल पुग्नका लागि जेटबोट सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।

बराहक्षेत्रबाट कोप्चेसम्मका जेटबोटको हालको भाडादर जनही रु छ सय कायम गरिएको छ । जेटबोटले पाँच किलोमिटको दूरी तय गर्नेछ । पानीको सतह घटेपछि भाडादरमा समायोजन गरिने पौडेलको भनाइ छ । बराहक्षेत्रबाट जेटबोट सञ्चालन भएपछि भोजपुरको दक्षिणी क्षेत्र, धनकुटाको सिम्ले, अखुवाटार, त्रिवेणी, साङ्मालगायत ठाउँमा यात्रा गर्नका लागि सहज हुने उहाँले बताउनुभयो । जेट बोटको क्षमता ४० जना अटाउने छ ।