• ६ चैत २०८०, मङ्गलबार

खाद्यान्न ढुवानी नहुँदा दशैँमा चामल अभाव

blog

दैलेख सदरमुकाममा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बिक्री केन्द्रमा चामल लिनेको भीड । तस्बिर : कमल शर्मा

राजन रावत/कमल शर्मा

हुम्ला, असोज १३ गते । हुम्लाका आठवटा डिपो र बिक्री केन्द्रमा दशैँका लागि खाद्यान्न बिक्री नगरिने भएको छ । चालू आर्थिक वर्षका लागि डिपो र बिक्री केन्द्रका लागि निर्धारित कोटाको खाद्यान्न स्थल मार्गबाट ढुवानी हुन नसकेपछि बिक्री बन्द भएको हो । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी, हुम्लाका नासु नवीन आचार्यले हुम्लाको शाखाबाहेक अन्य गाउँपालिकामा स्थापना भएका आठवटा डिपो तथा बिक्री केन्द्रबाट यसपालिको दशैँमा खाद्यान्न बिक्री वितरण नगरिएको बताउनुभयो । 

उहाँले खाद्य व्यवस्था कम्पनीले सबै डिपो तथा बिक्री केन्द्रका लागि निर्धारित कोटाको खाद्यान्न ढुवानीका लागि भएको आशयपत्र निकाल्न ढिलो भएका कारण ढुवानीकर्ता छनोटकै क्रममा रहेको जानकारी दिनुभयो । 

शाखाका अनुसार नाम्खा गाउँपालिकाको याल्वाङ र लिमी बिक्री केन्द्रका लागि सिमकोटबाट पाँच÷पाँच सय क्विन्टल चामल व्यवस्था गरिएको छ । खार्पुनाथ गाउँपालिकाको याङ्चु बिक्री केन्द्रका लागि पैदल मार्गबाट सुर्खेत र नेपालगञ्जबाट पाँच-पाँच सय गरी एक हजार क्विन्टल खाद्यान्न व्यवस्था गरिएको छ । अन्य बिक्री केन्द्र चङ्खेलीको देउलीका लागि सुर्खेतबाट पाँच सय क्विन्टल, सर्केगार्ड गाउँपालिकाको तुम्च बालुकुना बिक्री केन्द्रका लागि सुर्खेतबाट एक हजार र ताँजाकोट गाउँपालिकाको छप्रेला बिक्री केन्द्रका लागि सुर्खेतबाटै एक हजार क्विन्टल कोटा खाद्यान्न व्यवस्था गरिएको छ ।

त्यसैगरी सर्केगार्ड गाउँपालिकाको सर्केगार्ड डिपोका लागि मुगुको गमगढी र सुर्खेतबाट एक-एक हजार गरी दुई हजार क्विन्टल र अदानचुली गाउँपालिकाको श्रीनगर डिपोका लागि सुर्खेतबाट एक हजार, धनगढीबाट एक हजार र बाजुराको कोल्टीबाट पाँच सय गरी दुई हजार पाँच सय क्विन्टल खाद्यान्न 

व्यवस्था गरिएको छ । 

सिमकोट शाखाका लागि पनि चालू आर्थिक वर्षका लागि १० हजार क्विन्टल खाद्यान्न कोटा निर्धारण गरेकामा छ हजार सुर्खेत र चार हजार क्विन्टल नेपालगञ्जदेखि हवाई मार्गबाट व्यवस्था गरिएको छ भने स्थलमार्गबाट पनि शाखाकै लागि सुर्खेत, नेपालगञ्ज, धनगढी र राजापुर गरी चार स्थानबाट एक-एक हजार गरी चार हजार क्विन्टल खाद्यान्न व्यवस्था गरेको छ । सो खाद्यान्नसमेत ढुवानी हुन सकेको छैन । 

दैलेखमा नपुग्ने भयो चामल

स्थल मार्गबाट चामल ढुवानी गर्न समयमै सम्झौता हुन नसक्दा दशँैअघि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको दैलेखका बिक्री केन्द्रमा चामल नपुग्ने भएको छ । 

खाद्य व्यवस्था कम्पनीले स्थल मार्गबाट खाद्यवस्तु ढुवानी गर्न असार १९ गते दैलेख जिल्लाको सदरमुकाम दैलेख बजार, ठाटीकाँध, चामुण्डाविन्द्रासैनी, नौमूले र बेस्तडा बिक्री केन्द्रलगायत १३३ सेक्टरका लागि टेन्डर आह्वान गरेको थियो । कम्पनीका दैलेख शाखाका प्रमुख रविन रेग्मीले केन्द्रबाट टेन्डर स्वीकृत भएका ढुवानी सेवालाई सम्झौता गर्न आउन असोज ५ गते सूचना निकालेको र १५ दिने समय दिएका कारण दशैँँअघि चामल बिक्री केन्द्रमा पुग्ने सम्भावना कम रहेको बताउनुभयो । 

सुर्खेतदेखि दैलेख सदरमुकामसम्म चामल ढुवानीका लागि बराल ढुवानी सेवा सुर्खेत, राजापुरदेखि दैलेख सदरमुकामका लागि खुसी टेड्रर्स राजपुर बर्दिया, सुर्खेतदेखि ठाटीकाँध, चामुण्डाविन्द्रासैनी, नौमूले र बेस्तडा वितरण केन्द्रसम्म ढुवानीका लागि कौशिला जनरल स्टोर दैलेख छनोट भएका छन् । प्रमुख रेग्मीका अनुसार सुर्खेतबाट दैलेख सदरमुकामका लागि बराल ढुवानी सेवा छनोट भए पनि सम्झौता गर्नुअघि नै दैलेखमा खाद्यान्न अभाव हुन नदिन अगाडि नै चामल ढुवानी गरिएको छ । 

ढुवानीका लागि टेन्डर स्वीकृत भएको भए पनि बिक्री केन्द्रमा पुगेर आफँै चामल वितरण गर्नुपर्ने भएकाले ढुवानी गर्न समस्या भएको ढुवानी सेवाहरूले बताएका छन् ।

दैलेखमा रहेका बिक्री केन्द्रमा चामल नपुगेपछि त्यस क्षेत्रका बासिन्दा जिल्ला सदरमुकाममा आएर चामल लिन थालेका छन् । गाउँको बालीनाली राम्रो नहुँदा भात खान खाद्य व्यवस्था कम्पनीकै चामलमा भर पर्नुपर्ने बाध्यता स्थानीयवासीको छ । 

भगवतीमाई गाउँपालिका–२ का दलबहादुर विकले वितरण केन्द्रमा चामल नआएका कारण आफूहरू बढी मूल्य तिरेर पसलबाट किन्न बाध्य भएको बताउनुभयो ।