• १६ चैत २०८०, शुक्रबार

‘प्रविधिबारे अनभिज्ञ हुनु लज्जाजनक’

blog

काठमाडौँ, असोज १३ गते । सभामुख अग्निप्रसाद सापकोटाले दर्शन, विचार र सिद्धान्तसँगै सूचना प्रविधिलाई पनि साथमा लिएर अगाडि बढ्न सकेमात्र प्रगति र समृद्धि हासिल हुनसक्ने बताउनुभएको छ । सूचनाको सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा बुधबार काठमाडौँमा आयोजित ‘कृत्रिम बौद्धिकता र विद्युतीय शासनः सूचनाको हक प्रवद्र्धन’ विषयक राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उहाँले विकसित नयाँ प्रविधिका बारेमा अनभिज्ञ रहनु लज्जाजनक हुने अवस्था आएको बताउनुभयो ।

कृत्रिम बौद्धिकताको क्षेत्रमा कतिपय देश निकै अगाडि बढिसकेको भन्दै नेपालले पनि ती विषयमा छलफल चलाउन आवश्यक । 

सभामुख सापकोटाले कृत्रिम बौद्धिकताको क्षेत्रमा कतिपय देश निकै अगाडि बढिसकेको भन्दै नेपालले पनि ती विषयमा छलफल चलाउनु आवश्यक भइसकेको बताउनुभयो । उहाँले देशमा सुशासन कायम गर्न, भ्रष्टाचार रोक्न, आम जनतालाई सर्वसुलभ रूपमा सेवा प्रवाह गर्न, राज्यलाई शक्तिशाली बनाउँदै लैजान सूचना प्रविधिको प्रयोगमा अधिकतम जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । सूचना प्रविधिको क्षेत्रमा हरेक दिन जसो विकसित हुने विषयलाई अवलम्बन गर्नका लागि कानुनलाई पनि समयसापेक्ष बनाउँदै लैजानुपर्नेमा पनि जोड दिनुभयो । 

उहाँले संविधानले प्रदान गरेको सूचनाको हकसम्बन्धी चेतनालाई जनस्तरसम्म पुर्याएर उनीहरूले सार्वजनिक सरोकारका विषयमा प्रश्न उठाउन सकेमा राज्य संयन्त्रका धेरै बेथितिमा सुधार हुने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले अहिले स्थानीय तहमा सूचना माग्ने क्रम बढेसँगै लोकतन्त्रको राम्रो अभ्यास सुरु भएको चर्चा गर्नुभयो । उहाँले आयोगका ८० प्रतिशत कार्यक्रम प्रदेशमा हुन थालेको जानकारी दिनुभयो । सूचना आयुक्त कमला ओलीले प्रदेशस्तरीय मन्त्रालय तथा निकायमा सूचनाको हक कार्यान्वयसम्बन्धी परीक्षणको प्रतिवेदन प्रस्तुत गर्नुभयो । 

कार्यक्रममा फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहालले अबको सरकार स्मार्ट र खुला हुनुपर्ने बताउँदै देशका सम्पूर्ण डाटालाई सही तरिकाले व्यवस्थापन र वितरण गर्न नसकेका कारण पनि समस्या हुने गरेको धारणा व्यक्त गर्नुभयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनीलकुमार दत्तले डिजिटल नेपाल फ्रेमवर्कले धेरै परियोजना अगाडि बढाएको बताउँदै साइबर सुरक्षासम्बन्धी नीतिको मस्यौदा तयार भइसकेको, तीव्र गतिको इन्टरनेट विस्तारका योजना अगाडि बढाएको जानकारी दिनुभयो ।