• १२ वैशाख २०८१, बुधबार

महासभामा नेपालको प्रतिबद्धता

blog

नेपालको परिचय विश्वमा शान्तिप्रिय राष्ट्रका रूपमा कायम रहेको छ। विश्व राजनीतिक मञ्चमा नेपालले विश्वशान्ति तथा मानव अधिकारजस्ता विषयलाई प्रधानता दिँदै आएको छ। अमेरिकाको न्युयोर्कमा जारी ७७औँ राष्ट्रसङ्घीय महासभामा नेपालले विश्व शान्ति, राष्ट्रिय सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता, कोभिड–१९ विरुद्धको लडाइँ, निशस्त्रीकरण, सैन्य होडबाजीको अन्त्यजस्ता विषयलाई प्रमुख प्राथमिकता दिएको छ। यी विषयले समकालीन विश्वलाई प्रत्यक्ष रूपले प्रभावित पारिरहेका छन्। नेपालले ती सबै समस्या शान्तिपूर्ण, सहकार्य र समन्वयात्मक ढङ्गले समाधान होस् भन्ने चाहन्छ। नेपालको राष्ट्रिय दृष्टिकोण मानवजातिको सर्वोपरि हितमा केन्द्रित छ। परराष्ट्रसचिव भरतराज पौड्यालले महासभामा नेपालको दृष्टिकोण स्पष्ट पार्नुभएको छ। 

नेपालद्वारा ७७औँ राष्ट्रसङ्घीय महासभाबाट उठाइएका विषयवस्तु विश्व शान्ति, विकास र अग्रयात्राका लागि असाध्य महत्वपूर्ण छन्। प्रत्यक्ष अप्रत्यक्ष रूपमा विश्वलाई प्रत्येक आयामबाट प्रभावित गरिरहेको विषयवस्तुलाई नेपालले उठान गरेको छ। महासभामा नेपालले सार्वभौमिक समानतालाई जोड दिएको छ। कुनै पनि राष्ट्रको सार्वभौमसत्ता, स्वाधीनता तथा क्षेत्रीय अखण्डताविरुद्ध धम्की वा बल प्रयोगको नेपालले सधैँ विरोध गर्ने उद्घोषण गरेको छ। यसबाट सबै राष्ट्रलाई शान्ति तथा स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारको प्रत्याभूतिमा बल पुग्नेछ। वर्तमान विश्व आतङ्कवादबाट प्रताडित छ। अनेक रूपमा आतङ्कवाद देखापर्ने गर्छ। यस सन्दर्भमा नेपालले आतङ्कवादका सबै रूप र अभिव्यक्तिको निन्दा गरेको छ। यसलाई आतङ्कवादविरुद्धको बृहत सन्धिको यथाशक्य निष्कर्ष निकाल्न विश्वसमुदायलाई घच्घचाएको अर्थमा लिन सकिन्छ। विश्वका कतिपय मुलुकले आतङ्कवाद र मानव अधिकारका सम्बन्धमा दोहोरो चरित्रसमेत अवलम्बन गरेको अवस्थामा नेपालले राष्ट्रिय अडान सुस्पष्ट गरेको हो।

विश्वका कतिपय स्थान युद्ध, सङ्घर्ष तथा विवादले गर्दा समस्याग्रस्त देखिएका छन्। यी सबै समस्याको समाधान बलको प्रयोग नभई शान्तिपूर्ण वार्ता तथा सम्झौताका माध्यमबाट हुनुपर्छ भन्ने नेपालको अडान छ। नेपालको विश्वास शान्ति, सहार्य र सद्भावमा छ। अन्तर्राष्ट्रिय जगत्मा नेपालको परिचय शान्तिप्रेमी राष्ट्रका रूपमा स्थापित छ। शान्तिपे्रमी भएसँगै विश्वका विभिन्न स्थानमा राष्ट्रसङ्घीय झन्डामुनि शान्ति स्थापनार्थ गर्न नेपाली सेना तथा प्रहरीको योगदान पनि उत्तिकै महत्वपूर्ण छ। वर्तमानमा नेपाल राष्ट्रसङ्घीय शान्ति अभियानअन्तर्गत शान्ति सेना तथा प्रहरी उपलब्ध गराउने दोस्रो ठूलो राष्ट्र बन्न सफलसमेत भएको छ। यसको अर्थ नेपाल अन्तर्राष्ट्रिय तवरमा शान्ति स्थापनार्थ मन, वचन तथा कर्मले सहयोग गरिरहेको स्पष्ट सन्देश प्रवाहित भएको छ। बेलाबखतमा नेपाली शान्ति सेना तथा प्रहरीको संयुक्त राष्ट्रसङ्घ तथा अन्य मुलुकद्वारा हुने प्रशंसा पक्कै पनि नेपाल र नेपालीका निम्ति गौरवका विषय हुन्। विश्वशान्तिका निम्ति नेपाल यस सद्कार्यलाई निरन्तर अगाडि बढाउन चाहन्छ।

जलवायुमा देखिएको परिवर्तन वैश्विक रूपमा चिन्ताको विषय हो। ठूला औद्योगिक राष्ट्रहरू प्रकृतिको अति दोहनबाट यो समस्या उत्पन्न भएको हो। विगत एकडेढ सय वर्षमा भएको प्राकृतिक स्रोतको अति उपयोग र कतिपय अर्थमा दुरुपयोगबाट आर्जन गरेको विकास विनाशको समेत कारण बन्ने खतरा छ। यसबाट पर्यावरणीयदेखि मानव जनजीविकाका क्षेत्रमा समेत असाध्य प्रतिकूल अवस्था सिर्जना गरिरहेको छ। राष्ट्रसङ्घीय महासभामा नेपालले विश्वलाई नै आक्रान्त पारिरहेको यो जल्दोबल्दो समस्या समाधान गर्न अन्तर्राष्ट्रिय सहकार्य तथा ऐक्यबद्धतामा जोड दिएको छ। सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा झार्ने नेपालको प्रतिबद्धता महासभामा व्यक्त गरिनु अर्को महत्वपूर्ण पाटो हो। यसबाट यो लक्ष्य प्राप्तिमा थप उत्साहपूर्ण वातावरणको सिर्जनामा योगदान पुर्याउन सक्नेमा विश्वस्त हुन सकिन्छ। नेपाल विशेष गरी विश्वलाई प्रभावित गरिरहेका मुख्य चुनौती तथा विषयवस्तुमाथि निकै चिन्तित छ। 

समग्रमा नेपालले यस पटकको महासभामा मूलभूत राष्ट्रिय दृष्टिकोणलाई सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय मञ्चमा सुस्पष्ट पारेको छ। उठान गरिएका विषयवस्तु विश्वजगत्लाई नै सही दिशामा अग्रसर गराउन उपयोगी छन्। निशस्त्रीकरण, विश्वशान्ति र सुरक्षा, क्षेत्रीय अखण्डता, कोभिडको समस्या, अन्तर्राष्ट्रिय स्तरमा खोपको सन्तुलित वितरण, जलवायु परिवर्तनजस्ता नेपालले उठाएका जल्दाबल्दा विषयको समाधानमा निम्ति सहकार्य तथा ऐक्यबद्धता कायम हुन सकेमा यसले अधिकतम सकारात्मक परिणाम ल्याउनेछ।