• १५ चैत २०८०, बिहिबार

रानीवनको आगलागीबाट २५ लाख क्षति

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असोज १२ गते । काठमाडौंको रानीवनमा लागेको आगो नियन्त्रणमा आएको छ । आगलागीबाट करिब २५ लाखको क्षति भएको छ ।

काठमाडौं नागार्जुन नगरपालिका–१ रानीवनस्थित फर्निचर उद्योगमा बुधबार दिउँसो साढे १२ बजे  विद्युत् सर्ट भएर आगलागी भएको हो ।

आगलागीबाट फर्निचरको दराज, सोफासेटलगायत तयारी फर्निचरसहित करिब २५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी परिसर टेकुले जनाएको छ।

आगलागी हुँदा पाँच वटा एलपी ग्यास विष्फोटन भएको र जितेन्द्र लामाको घरमा करिब पाँच लाख बराबरको क्षति भएको छ।आगलागीमा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

आगलागी नियन्त्रणका लागि बौद्ध रामहिटी, काठमाडौं महानगरपालिकाको जुद्ध वारुण यन्त्रको दमकल, नेपाली सेनाको दमकल परिचालन भएका थिए।

आगो नियन्त्रणका लागि जिल्ला प्रहरी परिसरबाट प्रहरी उपरीक्षक, प्रहरी नायव उपरीक्षक, नगर प्रहरी प्रहरी कार्यालय भृकुटीमण्डप, प्रहरी वृत्त बालाजु र स्वयम्भूबाट प्रहरी नायव उपरीक्षक र ट्राफिक प्रभाग बालाजुबाट प्रहरी निरीक्षकसहितको १५० जनाको टोली घटनास्थलमा परिचालित थियो।

नेपाली सेना ३२, सशस्त्र प्रहरी ४० र अग्नि नियन्त्रक, उद्धारकर्मीलगायत सुरक्षाकर्मी परिचालित भई करिब दुई बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो।आगलागीका सम्बन्धमा प्रहरी वृत्त स्वयम्भूले मुचुल्का उठाएपछि अनुसन्धान भइरहेको प्रहरी परिसर टेकुले जनाएको छ।