• ८ वैशाख २०८१, शनिबार

म्याद गुज्रेको सामान नष्ट

blog

सुनसरीको इनरुवा नगरपालिका वडा १ र ६ मा बजार अनुमगन गरिदै । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव 

इनरुवा, असोज १२ गते । सुनसरी सदरमुकाम इनरुवा नगरपालिका क्षेत्रको बजार अनुगमन गरिएको छ । दशैलक्षित बजार अनुगमन गर्नेक्रममा बुधबार नगरपालिकाको उपप्रमुख विनिताकुमारी मेहताको नेतृत्वको बजार अनुगमन टोलीले अनुगमन गरेको हो । 

अनुगमनको क्रममा अधिकांश पसलमा मूल्यमा एकरूपता नभएको, लेबल नभएको, ढुसी परेको र म्याद गुज्रेको समान फेला परेको अनुगमन टोलीले जनाएको छ । चाडपर्व आएसँगै बजार अनुगमनलाई प्रभावकारी बनाउने क्रममा सरोकारवालाहरूको सहभागितामा सामूहिक बजार अनुगमन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि, उद्योग वाणिज्य सङ्घ, उपभोक्ता संरक्षण मञ्च, खाद्य तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधिहरूले बजार अनुगमन गर्नुभएको नगरपालिकाका उपप्रमुख मेहताले जानकारी दिनुभयो । 

अनुगमनका क्रममा पसलपिच्छे मूल्य फरक रहेको, म्याद सकिएको सामान राखेको, क्रेतालाई विलविजक नदिएको लगायतका समस्या देखिएको अनुगमनमा सहभागीले बताउनुभयो ।

म्याद सकिएको समान जफत गरी अनुगमन टोलीले नष्ट गरेको छ । मूल्यमा एकरूपता गर्न र विल विजक जारी गर्न निर्देशन दिएको छ । सरोकारवालाहरूले चाडपर्वमा बढी मात्रामा गुणस्तरहीन र म्याद सकिएको समान बिक्रीको जोखिमलाई मध्यनजर गरी बजार अनुगमन गरेको छ । 

इनरुवामा गरिएको अनुगमन टोलीमा इनरुवा उपप्रमुख मेहतासहित जिल्ला प्रशासन कार्यालय सुनसरीका गोपाल श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका राजेन्द्र तिम्सिना, खाद्य तथा गुण नियन्त्रण कार्यालयका सुजन जोशी, उद्योग वाणिज्य सङ्घका गिरीराज अटल, उपभोक्ता मञ्चका अजय देव, नगरपालिकाका सुनिता दुलाल र रचना प्याकुरेलसहित ११ जनाको सहभागिता थियो ।