• १६ चैत २०८०, शुक्रबार

स्वास्थ्य परीक्षण गरेर ल्याइदै

काठमाडौंमा दशैंका लागि ७० हजार खसीबोका आवश्यक

blog

विभिन्न जिल्लाबाट ल्याएर बिक्रीका लागि राखिएका खसीबोका । तस्बिर : केशब गुरुङ

काठमाडौं, असोज १३ गते । दशैंका लागि काठमाडौंमा देशका विभिन्न जिल्लाबाट खसीबोका च्याङ्ग्रा तथा भेडा भित्रिएका छन्। दशैं सुरु भएपछि खसीबोका, च्याङ्ग्रा तथा भेडाको माग उपत्यकामा अत्यधिक हुने भएकाले घटस्थापनादेखि खसी बजारमा चहलपहल सुरु भएको हाे। 

धादिङ, नुवाकोट, गोरखा, मकवानपुर, रामेछाप, सिन्धुलीलगायत जिल्लाबाट खसीबोका उपत्यकामा ल्याइएको काठमाडौं चौपाया खरिद बिक्री प्रा.लि. कलङ्कीका अध्यक्ष जनककुमार खड्काले जानकारी दिनुभयो। व्यापारीले च्याङ्ग्रा मुस्ताङ र भेडा सिन्धुपाल्चोकबाट ल्याएका हुन्।



पशु सेवा विभागले देशका विभिन्न भागबाट उपत्यका ल्याएका खसीबोका, च्याङ्ग्रा तथा भेडाको स्वास्थ्य परीक्षण गरेर बिक्रिवितरण सुरू गरेकाे हाे । मङ्गलबारदेखि विभागले उपत्यकाका १० स्थानमा खसीबोका र च्याङ्ग्राको स्वास्थ्य परीक्षण गर्दै आएको छ । स्वस्थकरलाई हरियो र अस्वस्थकर चौपायालाई रातो रङ्ग लगाइदिने व्यवस्था गरिएको हाे। 

पशु सेवा विभागका प्रवक्ता चन्द्र ढकालका अनुसार उपभोक्ताको स्वास्थ्य अवस्थामा प्रतिकुल असर नपरोस् भनेर खसीबोकाको स्वास्थ्य परीक्षा थालिएको बताउनुभयो। 

उपत्यकाका कलङ्की, टुकुचा, चन्द्रागिरि, चाल्नाखेल, कोटेश्वर, बालाजु, टोखा, लोकन्थली, सल्लाघारीमा खसीबोकाको स्वास्थ्य परीक्षण हुन्छ। 

यस्तै उपत्यकाका लागि यसपालि करिब ७० हजार खसीबोका आवश्यक पर्ने पशु सेवा विभागको अनुमान छ। जसमध्ये तीन हजारको हाराहारीमा खाद्य व्यापार तथा कम्पनी लिमिटेडले ल्याउने छ। बाँकी निजी व्यापारीले  ल्याउने छन्। 

काठमाडौं चौपाया खरिद बिक्री प्रा.लि. कलङ्कीका अध्यक्ष खड्काका अनुसार काठमाडौं  उपत्यकामा खपत हुने खसीबोकाको पूर्तिका लागि निजी व्यवसायी तयार छन्। अहिले केही खसीबोका स्टक रहेकाले समस्या छैन।



प्रतिकिलाे एक हजार तीन सय रुपियाँका दरले जिउँदो भेडा च्याङ्ग्राको बिक्री हुन्छ भने खसीबोका सातदेखि आठ सय रुपियाँमा बिक्री भएको छ।  

यता खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी शर्मिला सुवेदीका अनुसार बुधबारबाट खसी, बोका तथा च्याङ्ग्रा बिक्री सुरु भएको छ । उपत्यकाको थापाथलीस्थित कार्यालयबाट खसीबोका तथा च्याङ्ग्राको बिक्री सुरु गरिएको उहाँको भनाइ छ। 

खाद्य कम्पनीले विभिन्न ठाउँबाट १८ सय खसीबोका ल्याएको छ भने पाँच सय च्याङ्ग्रा ल्याएको छ।  खाद्य व्यापार तथा कम्पनी लिमिटेडले  जिउँदो च्याङ्ग्राको प्रतिकिलो मूल्य १२६० र खसी–बोकाको मूल्य ६८० रुपैयाँ प्रतिकिलो तोकेर त्यसमा प्रतिकिलो १० रुपियाँ छुट दिएको जनाएको छ। छुटपछि खसी र च्याङ्ग्राको खुद्रा बिक्री मूल्य क्रमशः ६७० रुपियाँ र १२५० रुपियाँ प्रतिकिलो हुने कम्पनीले जनाएको छ।

तस्बिर : केशब गुरुङ 

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।