• १६ चैत २०८०, शुक्रबार

निर्वाचन प्रणाली खिचडी जस्तो भयो : डा. भट्टराई

blog

बाबुराम भट्टराई । फाइल तस्बिर

काठमाडौं, असोज १२ गते । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संस्कृतिलाई समयानुकूल परिवर्तन गर्न आवश्यक रहेको बताउनुभएको छ। 

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। अध्यक्ष भट्टराईले कृषिप्रधान कालखण्डमा भगवानको परिकल्पना गर्नु स्वाभाविक भए पनि अब मानिसको चेतनाअनुसार परिवर्तन गर्नसक्नुपर्ने बताउनु भयो ।

उहाँले एउटा कालखण्डमा उत्पन्न भएको विचार समयानुकूल संस्कृतिका कुरालाई परिवर्तन गर्न कुसंस्कारको रूपमा पछिसम्म स्थापित हुने बताउनु भयो। अध्यक्ष भट्टराईले विज्ञान र प्रविधिको समयमा पनि चेतनाको विकास हुन नसक्दा मानिसले संस्कृतिको नाममा विभेदकारी र अवैज्ञानिक कुरा पछ्याएर बसेको बताउनु भयो। 

अध्यक्ष भट्टराईले नेपाल समाजवादी पार्टी केही वर्ष यता नाम फेरिए पनि विचार र सिद्धान्तमा विचलन नभएको दाबी गर्नुभयो। अध्यक्ष भट्टराईले आफ्नो पार्टीको लक्ष्य समुन्नत र सहभागितामूलक लोकतन्त्रमा आधारित समाजवाद प्रणाली निर्माण गर्ने रहेको भन्दै आगामी निर्वाचनमा आफ्नो पार्टीको प्रतिनिधि संसदमा पठाउने गरी तयारी गर्न पनि नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो। 

उहाँले नेपाल जस्तो बहुजातीय, बहुभाषिक मुलुकमा सङ्घीय संरचना जाती, भाषा अनुसारको पहिचानको प्रदेश संरचना बन्नुपर्नेमा त्यो नबन्नु अपूरो भएको बताउनु भयो। उहाँले नेपालको शासकीय निर्वाचन प्रणाली खिचडी जस्तो भएको बताउनु भयो। 

‘पहिलो कुरा बहुजातीय, बहुभाषिक मुलुकमा सङ्घीय संरचना जसरी आफ्नो जाती भाषा अनुसारको पहिचानको प्रदेश संरचना बन्नुपर्दथ्यो, त्यो नबन्नु अपूरो हो। अर्को जुन शासकीय निर्वाचन प्रणाली अपनायौँ, त्यो खिचडी खालको अपनायौँ’, भट्टराईले भन्नुभयो ।

अध्यक्ष भट्टराईले आगामी निर्वाचनमा आफ्नो पार्टीको शक्ति सङ्कलन गरेर समाजवादी विकल्प निर्माण गर्ने लक्ष्य लिएको बताउनु भयो।