• १३ वैशाख २०८१, बिहिबार

प्रहरी चेकजाँचमा कडाइ, सिभिल प्रहरी परिचालन

blog

मीना कंडेल

कावासोती, असोज १२ गते । जिल्ला प्रहरी कार्यालय नवलपुरले चाडपर्व लक्षित सुरक्षा चेकजाँचलाई कडाइ गरेको छ । चेकजाँचमा कडाइ गर्दै पूर्वपश्चिम राजमार्गमा चल्ने लामो दूरीका सवारी साधनमा दुई जना चालक अनिवार्य गरिएको छ । 

चाडपर्वको मौकामा हुने घटनाहरूको नियन्त्रणका लागि चेकजाँचलाई कडा पारिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले बताउनुभयो । लामो दूरीको सवारी साधनलाई चेक गर्दै यात्रुहरूको सुरक्षाका विषयमा सोधपुछ गर्ने काम भइरहेको उहाँको भनाइ छ । 

भाडा, यात्रुको सङ्ख्या लगायतका विभिन्न विषयमा ध्यान दिएर चेकजाँच गर्ने काम गरिएको छ, प्रहरी नायव उपरीक्षक पाठकले भन्नुभयो, “प्रहरीले नियमित रूपमा जिल्लाको सुरक्षा व्यवस्था चुस्त बनाउने काम गरिरहेको छ, यसलाई निरन्तरता दिँदै चेकजाँचसहित सिभिलमा प्रहरी खटाएर सूचनाहरू सङ्कलन गर्ने काम पनि भएको छ ।”

प्रहरीको पहुँच कम भएको क्षेत्रमा निगरानीका लागि प्रहरी परिचालन समेत गरिने उहाँले बताउनुभयो । जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था चुस्त राख्न, जुवातास रोक्न, नदीजन्य पदार्थको चोरी निकासी नियन्त्रणजस्ता काममा प्रहरी निरन्तर लागिरहेको प्रहरी नायव उपरीक्षक पाठकले बताउनुभयो ।

चाडपर्वको समयमा कतिपय मानिस घर खाली गरेर बाहिर जानेजस्ता कारणले चोरीका घटना हुनेगरेको उहाँको भनाइ छ । पूर्वी नवलपरासीमा यात्रुवाहक सवारी साधनले भाडा दर नटास्नेदेखि अनुमतिभन्दा बढी सिट सङ्ख्या राख्ने गरेको पाइएको उहाँले बताउनुभयो ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल नारायणगढ चल्ने यात्रुवाहक सवारी साधनले बढी भाडा लिने गरेको, सवारी साधनमा फोहर फाल्ने डस्टवीन नराखेको, बस्ने सिट फोहर भएको, क्षमताभन्दा बढी यात्रु राखेको अनुगमनका क्रममा पाइएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बत्ताउनुभयो ।