• ६ वैशाख २०८१, बिहिबार

'साकुरा नाइट'को पाँचौं सिजन अष्ट्रेलियामा

blog

काठमाडौं, असोज १२ गते । अष्ट्रेलियामा रहेको डी-ब्वाइज इभेन्ट्ससँगको सहकार्यमा सूर्य कर्पोरेसनले त्यहाँका विभिन्न सहरमा साकुरा नाइट सिजन ५ आयोजना गर्ने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममार्फत फस्टलुक सार्वजनिक गर्दै आयोजक संस्थाहरू सूर्य कर्पोरेसन र ग्लोबल मिडियाले यसबारे जानकारी दिएको हो ।

यसअघि नेपाल र जापानमा चार पटकसम्म आयोजना भइसकेको साकुरा नाइटको सिजन–५ यस पटक ११ देशमा हुने कर्पोरेसनका अध्यक्ष वासुदेव लामिछानेले बताउनुभयो ।

अष्ट्रेलियामा भने ग्लोबल मिडियासँगको सहकार्यमा साकुरा नाइट सिजन ५ को आयोजना हुदैँछ । क्यानबेरा, सिड्नी, मेलबर्न र पर्थलगायतका सहरमा कम्तीमा ७ शोको तयारी भइरहेको अष्ट्रेलियाका लागि आयोजक संस्था डी ब्वाईज इभेन्ट्सका प्रतिनिधि गणेश मल्ल ठकुरीले जानकारी दिनुभयो ।

अष्ट्रेलियाका लागि स्थानीय आयोजक संस्थामा डी–ब्वाईजको साथै निर्माता तथा अभिनेता कुशल थापाको रेड चिल्ली ईन्टरटेन्मेन्ट र प्रोडक्शन कन्ट्रोलर केशव घिमिरेको प्रोडुसर नेपालले व्यवस्थापनको तयारी गरेको छ ।

डिसेम्बर १३ तारिखदेखि २१ तारिखसम्म कार्यक्रम हुने भएको छ । अष्ट्रेलिया पछि जापान, दुबई, दक्षिण कोरिया, न्युजिल्याण्ड, युरोप, बेलायत, क्यानडा, अमेरिका र नेपालमा पनि कार्यक्रम हुने भएको छ ।

यो सिजनको लागि प्रशान्त तामाङ, सन्दीप क्षेत्री, शिव परियार, नरेश भट्टराई, मिलन अमात्य, प्रशान्त ताम्राकार, कमल खत्री, नम्रता सापकोटा, मेलिना मैनाली र समीक्षा अधिकारीले प्रस्तुति दिने बताइएको छ । 

कर्पोरेसनले २०२३ मा सूर्य ईनटरनेशनल अवार्डको तेस्रो संस्करण अमेरिकामा आयोजना गर्न लागेकोसमेत जनाएको छ ।