• ७ वैशाख २०८१, शुक्रबार

दुर्घटना बढेपछि कपिलवस्तुमा चाडपर्वसम्म टाइम कार्ड

blog

चाडपर्वमा सवारी दुर्घटना बढेपछि सडक अनुगमन निस्किएको प्रजिअसहितको जिल्ला सुरक्षा समितिको टोली । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, असोज १२ गते । चाडपर्व सुरु भएसँगै सवारी दुर्घटना बढेपछि कपिलवस्तुमा टाइम कार्ड लागु भएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले लामो दूरी र राजमार्गमा चल्ने सवारी साधनमा टाइम कार्ड लागु भएको हो । 

चाडपर्व सुरु भएपछि सवारीको चाप बढ्दै गर्दा सवारी दुर्घटना हुने जोखिम समेत बढ्दै गएकाले टाइम कार्ड लागु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सीनाले बताउनुभयो ।

जिल्लामा शनिबार ३ स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाले ज्यान गुमाएका थिए । दुर्घटना न्यूनीकरणका लागि उपाय खोजिएको तिमिल्सीनाले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, जिल्ला प्रहरी प्रमुख प्रेम बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक सूर्यबहादुर सेन, राष्ट्रिय अनुसन्धान कपिलवस्तु प्रमुख योगेन्द्र केसीसहितको टोलीले राजमार्ग क्षेत्रको अनुगमन गरी दुर्घटना न्यून गर्न टाइम कार्ड लागु गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।

ट्राफिक प्रहरी पोष्ट चन्द्रौटा र पीपराबाट टाइम कार्ड प्रदान गरिने बताइएको छ । जिल्ला कार्यालय गोरुसिङ्गेमा रहेको चेकपोष्टले छड्के चेक गर्नेगरी कार्ड लागु गरिएको छ । पीपरादेखी चन्द्रौटासम्म रहेको ३८ किलोमिटरको दुरी पार गर्न ट्रक र टिप्परलाई १ घण्टा र बस कार जिपलाई ५४ मिनेटको समय अवधि तोकिएको छ । निर्धारित समयभन्दा चाँडै आउने सवारी साधनलाई जरिमाना गरिने बताइएको   छ ।