• १६ चैत २०८०, शुक्रबार

गुल्मीमा भुस्याहा कुकुरको आतङ्क, सरोकारवाला निकाय मौन

blog

गुल्मीको सदरमुकाम तम्घासमा भुस्याहा कुकुर । तस्विर – तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, असोज १२ गते । गुल्मीको मुख्य बजार र जिल्ला प्रशासन कार्यालयको गेटमा भुस्याहा कुकुरको आतङ्क बढेको छ ।

बजारमा भुस्याहा कुकुरको आतङ्क हुँदा समेत यसको नियन्त्रण र व्यवस्थापनमा सरोकारवाला कसैको ध्यान जान सकेको छैन ।


बजारमा मुख्य सडकमा भुस्याहा कुकुरको आतङ्कले गर्दा सडक दुर्घटना निम्त्याउने अर्को खतरा पनि रहेको छ ।

बजारमा भुस्याहा कुकरको आतङ्कले विद्यालय हिँड्ने ससाना बालकहरुलाई झम्टने र टोक्ने समस्या पनि बढ्दै गएको यहाँका स्थानीयहरुले जनाएका छन् ।

बजारमा भुस्याहा कुकुरको बिगबिगी हुँदासमेत नगरपालिका कानमा तेल राखेर बसेको र देखेको नदेख्यै गरेको स्थानीय व्यवसायी जनक पन्तले बताउनुभयो ।


बिहानीको समयमा हिँड्दा र बाइक चलाएर बजार हिँड्न सक्ने अवस्था नरहेको उहाँको गुनासो छ । विद्यालय जाँदा पैदल यात्रा गरेर जाने ससाना बालबालिका बढी जोखिममा रहेकाले नगरपालिकाले तत्काल समस्याको समाधान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले सदरमुकाममा भुस्याहा कुकुरको समस्या अत्यधिक भएकाले नगरसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।

आफूहरुको कार्यक्षेत्रभित्र यो कार्य नपर्ने भएकाले यसलाई समाधान गर्नका लागि तत्कालै आफूले पहल गर्ने उहाँको दाबी छ ।

रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले भुस्याहा कुकुरको समस्यालाई समाधान गर्नका लागि आफूहरुले योजना बनाएको बताउनुभयो ।