आयल स्टोर्स नहुँदा किराना पसलमा पेट्रोल

सोलुुखुम्बु, फागुन ३० गते । सोलुखुम्बु जिल्लामा पेट्रोल पम्पको व्यवस्था नहुँदा उपभोक्ता किराना पसलबाट पेट्रोलियम पदार्थ खरिद गर्न बाध्य छन् । दैनिक काठमाडौँ र तराईबाट २०० को हाराहारीमा सवारीसाधन जिल्ला भित्रिने गरेको भए पनि सवारीसाधनमा प्रयोग हुने इन्धनका लागि पेट्रोल पम्पको व्यवस्था नहुँदा आफूहरु मर्कामा परेको सवारी धनीले गुनासो गरेका छन् ।

मोटरसाइकल चालकले सल्लेरीमा रहेका विभिन्न किराना पसलबाट पेट्रोलियम पदार्थ खरिद गर्ने गरेका छन् भने डिजेलबाट चल्ने सवारीसाधनमा पनि ड्रमबाट इन्धन भर्ने गरिएको छ ।

सोलुखुम्बुका विभिन्न किराना पसलमा मिनिरल वाटरको बोतलमा पेट्रोल भरेर रु १७० प्रतिलिटर पेट्रोल बेच्ने गरिएको छ । यसरी बेचिँदा मिसावट हुने सम्भावना रहेको उपभोक्ताको गुनासो छ ।
विकट हिमाली जिल्ला सोलुखुम्बु सडक सञ्जाल जोडिएको करिब पाँच वर्ष बितिसक्दा पनि यसतर्फ प्रशासन तथा सरोकारवालाको ध्यान गएको देखिँदैन ।

करिब डेढ वर्ष पहिले इन्धन बिक्रीका लागि नेपाल आयल निगममा दर्ता भएको दूधकोसी आयल स्टोर्स नामक संस्थाले पम्प राख्ने इजाजत पत्र पाए पनि सञ्चालनमा खासै चासो देखाएको छैन ।

यता जिल्ला प्रशासन कार्यालयले पेट्रोल पम्पको व्यवस्था नहुँदा किराना पसलबाटै पेट्रोल बिक्री गरेको टुलुटुलु हेरेर बस्नुपर्ने बाध्यता भएको जनाएको छ ।

बजार अनुगमन व्यवस्थापन समितिका संयोजकसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी विष्णुकुमारी भट्टराईले पेट्रोलका लागि कसैले इजाजतपत्रसमेत नलिएकाले उपभोक्तालाई मर्का नपर्ने गरी व्यवस्थित गर्ने बताउनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना