• ७ वैशाख २०८१, शुक्रबार

खसीबोका र राँगा व्यापारमा वृद्धि

blog

महोत्तरीको एक मात्र चौपाया बजारमा सोमबार विक्रिका लागि राखिएका राँगा भैंसी र खसीबोका । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती 

बर्दिबास, असोज १२ गते । चाडवाड नजिकिने क्रमसँगै महोत्तरीमा चौपाया व्यापारले गति लिन थालेको छ । जिल्लाको एक मात्र चौपाया (मवेशी) बजार गौशालामा खसी र राँगाको व्यापार बढेको व्यापारीले बताएका छन् ।

व्यापार बढेपछि पशु बजारका ठेकेदारले पनि खुसी छन् । पशु व्यापारीका अनुसार झण्डै वर्ष दिनले यसको कारोवार ओरालो लागेको थियो । तर असोज लागेदेखि भने लयमा फर्कन लागेको छ । 

भैंसी बजारका पुराना व्यापारी सन्तोष झाका अनुसार अहिले गौशालामा प्रति हाट ३० देखि ४० लाख मूल्य बराबरका राँगाको काराेवार हुने गरेको छ । भदौसम्म त मुस्किलले २५/३० थान राँगाको खरिद विक्री हुने गरेको झाले बताउनुभयो । 

अहिले प्रति राँगो न्यूनतम ५ हजारदेखि लाख रुपियाँसम्मको दरले किनबेच हुने गरेको व्यापारीकाे भनाइ छ । गौशालामा सोमबार र बिहीबार गरी साताको २ दिन हाट लाग्छ ।

भैंसी बजारका ठेकेदार शत्रुघन महतोका अनुसार अहिले बजारैपिछे राँगाको किनबेच बढदो क्रममा छ । दुईचार थारो भैसी पनि बिक्ने गरेका छन् । गएको बिहीबारे हाटमा १ सय ४५ थान राँगा कारोबार भएको थियो । हिजोको सोमवारे हाटमा बढेर १ सय ७१ थान खरिदविक्री भएको उहाँले बताउनुभयो । 


राँगा बजार चालु आर्थिक वर्षको लागि डाक बढाबढमा ७५ लाख ५५ हजारमा नगरपालिकाले ठेक्का लगाएको छ । खसी बजारका ठेकेदार तलेबर साहका अनुसार पनि दशै नजिकिएसँगै खसीबोकाको किनबेच बढेको छ । ठेकेदारको रेकर्डअनुसार सोमबारे हाटको दिन अपरान्हसम्म २ सय ५० थान खसीबोकाको कारोवार भएको थियो ।

बिहीवारे हाटमा १४५ जति विकेका थिए । ‘भदौसम्म ५० थान पनि किनमेल नहुँदा ठेक्कामा घाटा लाग्ने चिन्ताले सताएको थियो, अब भने त्यसको पनि ‘मेकअप’ होला जस्तो छ’, साहले भन्नुभयो । 

उहाँले पनि नगरपालिकाबाट ५१ लाखमा खसी बजार ठेक्का लिएको बताउनुभयो । व्यापारीका अनुसार अहिले चौपाया व्यापार बढ्ने कारण नजिकिँदो दशैं हो । अधिकांशले  दशैका लागि र केहीले पाल्नका लागि किन्ने गरेको २६ वर्षदेखि चौपाया व्यापार गर्दै आएका सूर्य श्रेष्ठको भनाइ छ ।


गौशालामा खरिद भएका धेरैजसो राँगा तथा खसीबोका काठमाडौं र त्यस आसपासका क्षेत्रमा खपत हुने गरेका छन् । सोमवारे हाटमा राँगा बोकेर काठमाडौंसम्म जाने पीकअपको ताँती लागेको देखिन्थे । उनीहरुलाई व्यापारीले खरिद गरेका रागा लोड गर्न भ्याइ नभ्याइ थियो । 

तर राँगा ढुवानीमा संलग्न पिकअप चालक सुदर्शन गौतमका अनुसार केहीअगि सिन्धुली प्रहरीले बीपी राजमार्गको बाटोबाट चौपाया बोकेका पिकअप गुड्न रोक लगाएपछि त्यसको असर गौशालाको पशुहाटमा परेको उहाँको बुझाइ छ । 

सिन्धुलीको बाटो छोटो पर्ने हुँदा व्यापारलाई गौशालादेखि काठमाडाैंकाे ढुवानी भाडा १४/१५ हजार भए पुग्छ । तर मुगलिनको बाटो जानुप¥यो भने दोब्बर बढी लाग्छ । त्यसैले घाटा लाग्ने भएपछि ब्यापारी नआउँदा गौशालाकाे पशु व्यापार ओरालो लागेको थियो । 

‘तर भदौ अन्तिमतिर प्ररीले बीपीको बाटो खुला गरेपछि पशुहाट लयमा फर्केदै गएको हो’ उहाँले भन्नुभयो । व्यापारीका अनुसार गौशालामा स्थानीय उत्पादनका साथै छिमेकी जिल्ला सर्लाही, धनुषा तथा भारत विहारको कोइली र भिष्वा बजारबाट चौपाया आपुर्ति हुने गरेका छन् । त्यस्तै खरिदकर्ता भने भारतीयबाहेक काठमाण्डौ, सिन्धुली र पोखरादेखि उदयपुरसम्मबाट आउने गरेका छन् । 

गौशालाको पशुहाटले प्रत्यक्षरुपमा १ सयजनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिनुका साथै, मासुको सहज आपूर्ति, किनबेचमा सुविधा र नगरपालिकालाई राजस्व वृद्धिमा उल्लेख्य योगदान पु¥याएको व्यापारीको भनाइ छ ।