• ६ चैत २०८०, मङ्गलबार

गुल्मी प्रशासनद्वारा बजार अनुगमनलाई तिब्रता

blog

प्रशासकीय अधिकृत नरेश गिरीको नेतृत्वमा बजार अनुगमन गरिदैं । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा 

गुल्मी, असोज १२ गते । दशैं तिहार नजिकिएसँगै जिल्ला प्रशासन कार्यालय गुल्मीले बजार अनुगमनलाई तिब्रता दिएको छ ।

विशेषगरी जिल्लाको सदरमुकाम तम्घासमा रहेको बजार क्षेत्रमा अनुगमनलाई तिब्रता दिएको हो । विभिन्न चरणमा तम्घासका खाद्य एवम् पेय पदार्थ भएका पसलहरुको जिल्ला प्रशासन कार्यालयले आफ्नै ढङ्गबाट अनुगमन गरेको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार खाद्यान्न तथा किराना पसलहरु र पेय पदार्थ भएका पसलहरुको अनुगमन गरिएको छ । अनुगमनका क्रममा ब्यापारीहरुले बिक्रिका लागि राखिएका म्याद गुज्रिएका अखाद्य बस्तु भेटिएको अनुगमन टोलीले जनाएको छ ।

म्याद गुज्रिएका अखाद्य बस्तु प्रक्रिया पु¥याएर नष्ट गरिने सहायक प्रजिअ गैरे बताउनुभयो । अधिकांश पसलहरु मुल्यसुची नराखेको फेला परेका छन् । तत्काल मुल्यसुची राख्न र म्याद सकिएका खाद्य एवम् पेय पदार्थलाई छुट्टै राख्न निर्देशन दिएको उहाँले बताउनुभयो । 

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नरेश गिरीको नेतृत्वमा तम्घास बजारमा रहेका विभिन्न खाद्य तथा पेय पदार्थ विक्री वितरण गर्ने पसलहरुको अनुगमन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयको अगुवाईमा, जिल्ला प्रहरी कार्यालय, रेसुङ्गा नगरपालिका, घरेलु तथा साना उद्योग विकास जिल्ला कार्यालय, गुल्मी उद्योग वाणिज्य संघ, पत्रकार महासंघ लगायतको सहभागितामा पसलहरुको अनुगमन गरिएको हो ।

अनुगमनमा म्याद सकिएका विभिन्न खाद्य पदार्थहरु भेटिएका छन् । त्यस्तै, खरिद तथा विक्री बिल नराखिएको हुँदा व्यापारीहरुलाई सचेत बनाइएको उहाँले बताउनुभयो । 

चाडपर्वको समयमा हुन सक्ने कालोबजारीलाई नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय चनाखो रहेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभयो । आगामी दिनमा पनि अनुगमलाई थप कडाईका साथ अगाडी बढाइने भएको छ ।

चाडपर्वलाई भड्किलो र खर्चिलो नभई साधारण रुपमा मनाउन पनि जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । चाडपर्वमा शान्ती सुरक्षा र अमनचयनका लागि प्रशासन कार्यालय प्रतिबद्ध समेत प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । 

यता, जिल्लाका स्थानीय तहहरुले पनि बजार अनुगमनलाई तिब्रता दिएका छन् । स्थानीय तहहरुले आफ्नै तरिकाबाट आफ्नो बजार क्षेत्रमा खाद्यन्न पसलहरुको अनुगमन तथा निगरानी गरेको जिल्लाका स्थानीय तहहरुले जनाएका छन् ।