• ६ चैत २०८०, मङ्गलबार

सल्यान दुर्घटनाका मृतकको सनाखत

blog

सल्यान समाचारदाता

सल्यान, असोज १२ गते । सल्यानमा भएको जीप (डबल क्याब) दुर्घटनामा परी ७ जनाको मुत्यु भएको छ । राप्ती राजमार्गको  कपुरकोट ३ मुलपानीमा रा १ ज ५६३ नम्वर जीप (डबल क्याब) विहान साढे तीन बजे  दुर्घटना भएको सल्यानका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिनुभयो ।  

जिपमा सवार ९ जना मध्ये १ जना महिला ७ जना पुरुषको घटना स्थलमै मृत्यु भएको  छ । दुर्घटनामा परी मुत्यु हुनेमा अधिकांश कपुरकोट ६ का स्थानीयहरु रहेका छन् । एकजना घाइतेको उद्धार गरी उपचारका लागि पठाइएको छ ।

सडक दुर्घटना परी मुत्यु हुनेमा कपुरकोट गा.पा.६ जलबाँङग का २१ वर्षका जित बहादुर बोहोरा, ३७ वर्षका धर्मा ओली, ४० वर्षीय टोपबहादुर ओली,  निजकै छोरा ११ वर्षका बसन्त ओली रहनुभएको छ । यस्तै ३० वर्षका सुरेश खत्री, ७० वर्षीय खुमलाल ओली, ५५ वर्षकी कुमारी ओली र ३५ को ललित ओली रहनुभएको छ ।  

बाँकेको ढकेरीबाट कपुरकोट ६ रीम फर्कदै गरेका व्यक्तिहरु दुर्घटनामा परेको हुन् । जीप राप्ती राजमार्गको मुलपानी  अनियन्त्रीत भएर सडकवाट अन्दाजी १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

अहिले घटना स्थलमा सल्यानका प्रहरी प्रमुख दामोदर केसी सहित २२ प्रहरी लगायत स्थानीय उद्धारमा खटिएका छन् । घटना स्थल सल्यान सदरमुकाम खलंगावाट अन्दाजी ४० किमी पूर्वमा पर्दछ ।

दुर्घटना परी निधन भएका ब्यक्तिहरुको सव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान ल्याउने तयारी भैरहेको सल्यानका प्रहरी प्रमुख दामोदर केसीले जानकारी दिनुभयो ।