• १६ चैत २०८०, शुक्रबार

विश्व पर्यटन दिवसको अवसरमा कन्याममा फोटो प्रतियोगिता

blog

प्रेम अधिकारी 

इलाम, असोज ११ गते । विश्व पर्यटन दिवसको अवसरमा इलामको सूर्योदय नगरपालिकाको कन्याममा फोटो प्रतियोगिता सम्पन्न भएको छ । सूर्योदय नगरपालिकाको आयोजनामा एक्सप्लोर दि अनएक्सप्लोर नारा राखेर फोटो प्रतियोगिता सम्पन्न भएको हो ।

पर्यटकीय क्षेत्रमा प्रदेश १ को अब्बल मानिएको सूर्योदय नगरपालिकाले नगर क्षेत्रमा प्रचार नगरिएका धेरै गन्तव्यको पहिचानको उद्देश्य राखेर प्रतियोगिता गरेको थियो । २८ जना फोटोग्राफरले भाग लिएको उक्त प्रतियोगितामा पहिलो , दोस्रो र तेस्रो हुनेलाई क्रमशः १५ हजार, १० हजार र पाँच हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ । 


प्रतियोगितामा सूर्योदय १० का निशान्त रानाले कन्यामको रात्रिकालीन फोटो खिचेर प्रथम हुनु भएको छ । त्यस्तै सूर्योदयकै सुन्दर मैनालीले खिच्नु भएको कन्याबाट देखिने हिमालको दृश्य सहितको फोटोले दोस्रो स्थान पाएको छ ।

त्यस्तै झापा मेचीनगरका चराखोजकर्ता देवेन खरेले सूर्योदय १ को सिमधापमा खिच्नु भएको विश्वमै दुर्लभ हग्रायोको फोटोले तेस्रो स्थान पाएको छ । सहभागीले फोटोसँगै कम्तीमा ५० शब्दको विवरण समेत लेख्नु पर्ने नगरपालिकाले जनाएको छ । 


विज्ञ सहितको टोलीले पहिलो, दोस्रो र तेस्रोको नतिजा सार्वजनिक गरेका थिए ।  नगरका इन्जिनियर सिर्जन गदालले नयाँ पर्यटकीय गन्तव्यलाई उजागर गर्न प्रतियोगिता आयोजना गरिएको जानकारी दिनु भयो । 

नगर प्रमुख रणबहादुर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधान सभा सदस्य सूर्यवाला राईले स्थानीय पालिकाहरूले पर्यटनमैत्री नीति बनाएर पालिका पालिका बिचमा सहकार्य गर्नु पर्ने बताउनुभयो । उहाँले कन्याम सहितका पर्यटकीय चिया बगान भारतीय कम्पनीलाई लिजमा दिनु दुःखद भएको बताउँदै सरकारले आफ्नो स्वामित्वमा लिनुपर्ने बताउनुभयो । 

नगर प्रमुख राईले प्रदेश १ सरकारले सूर्योदयलाई पर्यटकीय नगरी घोषणा गरेपनि पर्यटकीय नगरीको नीति निर्माण गर्न बाँकी रहेको बताउनुभयो । उहाँले पर्यटन प्रवर्धन गर्न विकास निर्माण गरेर मात्र नहुने भएकाले स्थानीय रीतिरिवाज र रहनसहन बचाउन सक्नु पर्ने बताउनुभयो । 


उहाँले भन्नुभयो- ‘अब संरचना निर्माण गरेर मात्र हुँदैन, संरचना निर्माण पछि ती ठाउँको आर्थिक सामाजिक रुपातरण हुनु पर्छ ।’ नगरका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले सूर्योदयले पूर्वी पहाडकै पर्यटनको नेतृत्व गर्नु पर्ने बताउनुभयो । उहाँले भन्नु भयो-‘पर्यटन व्यवसायलाई पुर्न: विचार गरी दिगो व्यवसाय बनाउनु पर्छ ।’

कार्यक्रममा पत्रकार केदार शर्माले पर्यटकीय गन्तव्य धेरै भए पनि इलामले अतिथि सत्कारमा ध्यान दिन नसकेको बताउनुभयो । पत्रकार शर्माले भन्नुभयो ‘इलाम आएका पर्यटकलाई न्यानो आतिथ्यतामा जोड्न सक्नु पर्छ ।’

विश्व पर्यटन दिवसको अवसरमा नगरले कन्याम, अन्तु, फिक्का, लगायतका स्थानमा सरसफाइ कार्यक्रम आयोजना गरेको थियो । नगरमा कन्याम, अन्तु, बुद्धपार्क, स्वामीपार्की, चित्रे गुम्बा, गुफापाताल लगायतका दर्जनौँ पर्यटकीय स्थल रहेका छन् । 

यसअघि नै प्रदेश १ सरकारले सूर्योदयलाई पर्यटकीय नगरी घोषणा गरिसकेको छ । कन्याम अन्तुमा बाह्रै महिना पर्यटकको घुइँचो लाग्ने गरेको छ । स्वदेशी पर्यटकको रोजाइमा परेका कन्याम, अन्तुमा पर्यटन व्यवसाय समेत फस्टाउँदै गएको छ ।