• १५ चैत २०८०, बिहिबार

गठबन्धनलाई सफल बनाउन कांग्रेस प्रवक्ता डा. महतको आह्वान

blog

कांग्रेस केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा पत्रकार सम्मलेनमा आफ्नो धारणा सार्वजनिक गर्नुहुँदै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत ।

काठमाडौं, असोज ११ गते । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले आगामी निर्वाचनमा गठबन्धनलाई सफल बनाउन नेता कार्यकर्तामा आह्वान गर्नुभएको छ ।

ललितपुरस्थित कांग्रेस केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा पत्रकार सम्मेलनमार्फत प्रवक्ता महतले पार्टीमा उत्पन्न पछिल्लो समसामयिक विषयको चर्चा गर्नुहुँदै नेपाली कांग्रेसका उम्मेदवार एवम् गठबन्धनलाई सफल बनाउन एकताबद्ध भएर निर्वाचनमा होमिन आवश्यक रहेको बताउनुभयो ।

मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनपछि कांग्रेस नेतृत्वको सरकार बन्ने दाबी उहाँले गर्नुभयो । प्रवक्ता महतले लोकतन्त्रलाई संस्थागत गर्दै स्वास्थ्य, शिक्षा, रोजगार र समृद्धिका मुद्दालाई कांग्रेस नेतृत्वको सरकारले अगाडि बढाउने भनाइ राख्नुभयो ।

उहाँले भन्नुभयो, “एकताबद्ध भएर निर्वाचनमा होमिन आवश्यक छ । गठबन्धन छ, अवश्य पनि नेपाली कांग्रेस ठूलो पार्टी भएकोले युवादेखि प्रौढसम्म एक सय एक योग्य साथीहरू हुनुहुन्छ । एकाकार भएर निर्वाचनमा होमिने छौँ । नेपाली कांग्रेसका उम्मेदवार र गठबन्धनलाई सफल बनाउन लाग्नेछौँ । आउने निर्वाचनमा कांग्रेस नेतृत्वको सरकार बन्नेछ ।” लोकतन्त्रलाई संस्थागत गरे कांग्रेसको अभियानले मूर्त रूप पाउने धारणा उहाँले राख्नुभयो ।

आगामी निर्वाचन प्रक्रिया अघि बढेको भन्नुहुँदै उहाँले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा पेस गरिएको र परिमार्जन गर्नुपर्ने समयसीमाबारे उल्लेख गर्नुभयो । गठबन्धनमा सिट बाँडफाँट सम्पन्न गरिने बताउनुहुँदै उहाँले चाडपर्वसँगै प्रत्यक्षतर्फको उम्मेदवार छनोट एवम् निर्वाचन आयोगले व्यवस्था गरेको आचारसंहिताबारे ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो, “आयोगले आचारसंहिताको व्यवस्था गरेको छ । प्रधानमन्त्री, मन्त्रीहरूले पनि सुरक्षा संवेदनशीलताको कारणले त्यो किसिमको प्रावधान संसारभरि नै जहाँ पनि छ । अब यो निर्वाचन प्रक्रियामा निर्वादरुपमा सहभागी हुने र प्रभाव अभियानमा सक्रिय हुने कुरालाई कम गर्न मिल्दैन । यो निर्वाचन आयोगलाई गम्भीर ध्यानाकर्षण गराउँदै छु ।”

पार्टीमा उत्पन्न डा. शेखर कोइराला पक्षको विवाद सम्बन्धमा सञ्चारकर्मीहरूसँग प्रक्रिया दिनुहुँदै उहाँले पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी, आमन्त्रित सदस्य र सातै प्रदेशका नेतागणसँग सल्लाह गरेर निर्णय गरिएको बताउनुभयो ।

“त्यहाँका अग्रणी नेताहरू सामेल बनाएर कतिपय त्रुटिहरू छन्, त्यसलाई कमजोर गर्ने । त्यसकारण यो विषयलाई एकलौटी गरियो, छलफल भएन भन्नेमा कुनै सत्यता छैन । स्पष्टरुपमा के भन्न चाहन्छु भने दश प्रतिशत पनि छैन भन्ने जुन किसिमको अभिव्यक्ति आइराखेका छन् । तर, सम्पूर्ण निर्णय सहमतिबाट भएको छ”, उहाँले भन्नुभयो ।

दुवै सदनबाट दुई पटकसम्म पारित भई राष्ट्रपति समक्ष पेस भएको नागरिकता विधेयक प्रमाणीकरण नहुनु दुर्भाग्यपूर्ण रहेको उहाँले बताउनुभयो । राष्ट्रपतिबाट संविधानको ठाडो उल्लङ्घन भएको र यसलाई राजनीतिक रङ्ग दिने कोसिस भएको उहाँको भनाइ छ ।